२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महिला उद्यमीले २२ अर्ब सहुलियत कर्जा लिए

उद्यमशीलताको विकासका लागि सहुलियतपूर्ण कर्जा दिन थालिएयता यस्तो सुविधा लिने महिलाको संख्या निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघसम्म सहुलियतपूर्ण कर्जा लिने महिलाको संख्या २५ हजार दुई सय ९८ पुगेको छ। गत असारको तुलनामा यो करिब चार गुणा बढी हो।

सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान दिने कर्जामध्ये कृषिबाहेकमा सबैभन्दा धेरै ऋण लिने महिला उद्यमी छन्। सरकारले तीन वर्षदेखि १० प्रकारका शीर्षकमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। राष्ट्र बैंकका अनुसार महिलाका लागि हालसम्म बैंक तथा वित्तीय संस्थाले २१ अर्ब ७८ करोड रूपैयाँ सहुलियत कर्जा प्रवाह गरेका छन्। गत असारसम्म बैंकहरूले उद्यमी महिलालाई चार अर्ब ३५ करोड रूपैयाँ प्रवाह गरेका थिए।  

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट ६० हजार आठ सय ७९ ले विभिन्न शीर्षकमा सहुलितपूर्ण कर्जा लिएका छन्। उद्यमशीलताको विकास गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियत कर्जा वितरण गर्ने नीति ल्याइएको हो। राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब ३७ करोड रूपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गरेका छन्। सरकारले कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास लगायतमा सहुलियत कर्जा दिँदै आएको छ।  

महिला उद्यमशील क्षमताको विकास गर्ने उद्देश्यले उद्यमी महिलालाई परियोजना मूल्यांकनको आधारमा १५ लाख रूपैयाँसम्म बिनाधितो कर्जा दिने व्यवस्था छ। १८ वर्ष पूरा गरेका महिलाले सहुलियतपूर्ण कर्जाका मापदण्ड पूरा गरी व्यावसायिक योजना बैंकमा पेस गरेपछि कर्जा पाउँछन्। राष्ट्र बैंकका अनुसार अधिकांश वाणिज्य र विकास बैंकहरूले सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन्। 

प्रकाशित: १८ फाल्गुन २०७७ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App