२० आश्विन २०७९ बिहीबार
अर्थ

बासमती धानको उद्गमस्थल नेपाल भएको प्रमाण इयूमा पेस

भारतले बासमती धान र चामलको भौगोलिक ट्रेडमार्कमा आफ्नो एकाधिकार रहेको दाबी गर्दै युरोपियन युनियन (इयू) मा दाबी पेस गरेपछि त्यसको खण्डन गर्दै नेपालले १३ बुँदे दाबी सहित प्रमाण पेस गरेको छ। नेपालमा साढे दुई हजार वर्षदेखि बासमती धान उत्पादन र प्रयोग गर्दै आएको ‘भौगोलिक ट्रेडमार्क’ सहितको दाबी इयूमा पठाइएको हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विज्ञ टोलीद्वारा गहन अध्ययन, अनुसन्धान गरेर करिब ६ दर्जन प्रमाण इयूमा यसै साता पेस गरेको हो। नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीका अनुसार नेपालमा परापूर्व कालदेखि बासमती धान लगाउँदै आएकाले यसको प्याटेन्ट राइट नेपालको भएको प्रमाण इयूमा पेस गरिएको हो।

 ‘भारतले एकाधिकार जमाउन खोजेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो दाबी पेस गरेको छ,’ भण्डारीले भने, ‘त्यसका लागि यथेष्ठ प्रमाण जुटाएका छौं।’भारतले बासमती धान र चामलको भौगोलिक ट्रेडमार्कमा आफ्नो एकाधिकार रहेको भन्दै इयूमा आवेदन दिएको थियो। बास्ना आउने धानमा भारतले एकाधिकार गर्न खोजेकाले दाबी प्रस्तुत गर्नुपरेको नार्कले जनाएको छ।  

अन्तर्राष्ट्रिय ‘जिन बैंक’मा नेपाली बासमती धानका विभिन्न जात रहेको नार्कको दाबी छ। जिन बैंकमा रहेका बासमती धानका विभिन्न प्रकार पनि प्रमाणको रूपमा राखिएको छ। बासमती धानका जात झिनुवा, हंशराज, कालो/काला नियामक, जेठोबुढो, कालो नुनिया, कनक जिरा, साली धान, करिया कामोद, कृष्णभोग, श्याम जिरा लगायत दुई दर्जनभन्दा बढी जात छन्।  

मुलुकका ४० भन्दा बढी जिल्लामा ३० हजार हेक्टर जमिनमा बासमती धान खेती हुँदै आएको छ। नार्कले २५ सय वर्षअघि गौतम बुद्ध भिक्षा माग्न जाँदा नै बासमती धानको भिक्षा दिने गरेको ऐतिहासिक तर्क पनि प्रस्तुत गरेको छ। वैज्ञानिकको टोलीले ऐतिहासिक प्रमाण जुटाएको हो। बासमती धान समुद्री सतहदेखि दुई हजार मिटरसम्मको नेपालको विभिन्न भौगोलिक क्षेत्रमा लगाउने गरिएको छ। विभिन्न पुस्तक, अन्तर्राष्ट्रिय संघ–संस्था तथा जर्नलमा प्रकाशित लेख पनि प्रमाणका रूपमा राखिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमतिमा नार्कले दाबीसहित विरोध पत्र यसअघि नै पठाएको हो। भारतले बासमती धानको प्याटेन्ट राइट पाए नेपालमा प्रयोग गर्न अनुमति आवश्यक पर्ने भण्डारीले बताए। ‘भारतले मात्र प्याटेन्ट राइट पायो भने नेपालमा उत्पादन भए पनि प्रयोग गर्न अनुमति लिनुपर्छ,’ भण्डारीले भने।  

अहिले भारतले युरोपेली मुलुकमा बासमती चामल निर्यात गर्दै आएको छ। युरोपेली मुलुकमा भारत सहित पाकिस्तान, भियतनाम लगायत देशले चामल निर्यात गर्छन्। अन्य देशले दाबी नगरे बासमतीको उत्पादन, बिक्री र भौगोलिक ट्रेडमार्क अधिकार भारतको मात्र हुने भएपछि नेपालले दाबी गरेको हो।

धान वैज्ञानिक भोलामानसिंह बस्नेत बासमती धान नेपालमा परापूर्व कालदेखि लगाउँदै आएको बताउँछन्। ‘बासमती भारत मात्र नभएर पाकिस्तान, नेपाल लगायत मुलुकमा लगाइन्छ,’ बस्नेतले भने, ‘भारतले हाम्रो भौगोलिक सूचकभित्रको मात्र धान हो भनेर दाबी गर्न मिल्दैन।’

कृषि अनुसन्धान परिषद् (नार्क) का प्रवक्ता मनोज ठाकुरका अनुसार लल्का बासमती धान नार्कले रिलिज गरेको हो। ‘जेनेटिक क्यारेक्टराइजेसन गर्नुपर्ने छ,’ ठाकुरले भने, ‘नेपालको पनि यसमा प्याटेन्ट राइट छ।’ पुरानो बासमती धानलाई परिमार्जन गरेर लल्का बासमती धान बनाएको उनले बताए। यो धान तराई र भित्री मधेसमा लगाइन्छ। बाममती धान मिठो, मसिनो छ। ‘भारतले मात्र अधिकार लिन मिल्दैन,’ उनले भने, ‘त्यही भएर इयूमा हामीले पनि दाबी गरेका हौं।’

अहिले नेपालमा विदेशबाट चामल आयात हुँदै आएको छ। भारतको दाबी प्रमाणित भए नेपालले चामल निर्यात गर्ने अवस्था आएमा यो चामल निर्यात गर्न मिल्दैन।नेपालले २५ वटा बास्ना आउने धानका जात नेपालकै जिन बैंक र ४५ वटा धानको जात अन्तर्राष्ट्रिय जिनमा बैंकमा राखेको नार्कले जनाएको छ।

नार्कका अनुसार मुुलुकमा झण्डै २३ सय प्रकारका धानका स्थानीय जात छन्। नार्क अन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले स्थानीय जातका धानका बीउ संकलन गरेको थियो। उन्नत, हाइब्रिडदेखि स्थानीय रैथाने धानका जातहरू छन्। जैविक विविधताको संरक्षणका लागि केन्द्रले बीउ संकलन र संरक्षण गर्दै आएको छ। रैथाने जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्न सकिन्छ। नेपालमा करिब ३० किसिमका धानका उन्नत बीउ विकास गरिएको छ। कतिपय जातका बीउ भने किसानले रोप्न छाडेपछि लोप पनि भएका छन्।  

नेपालमा बासमती सहित राधा–१४, राधा–१३, हर्दिनाथ, मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छलगायत धानका जात धेरै प्रयोगमा छन्। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहाँ तयार गरिन्छ। ४७ वर्ष पुराना धान पनि यहाँ रोप्दै आएका छन्। तराईमा लगाउने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान नार्कले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो।

प्रकाशित: २७ माघ २०७७ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App