विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरूलाई लक्षित गरी सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल 'पहिलो पाइला' एप सञ्चालनमा आएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा पहिलो पाइलाकी ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त एप लञ्च गरे।
नेपाली भाषालाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यका लागि पहिलो पाइला एप 'डिजिटल स्कुल' को निर्माण गरिएको आयोजक संस्था पहिलो पाइला एजुकेसनले बताएको छ। पहिलो पाइला सञ्चालक मधु न्यौपानेले डिजिटल स्कुलमार्फत बालबालिकाहरुले रोजेको पाठ्यक्रम अनुसार आफ्नो भाषा र संस्कृती सिक्न सक्ने विश्वास व्यक्त गरे।
खेल्दाखेल्दै संस्कार, संस्कृतिसँगै विज्ञान, गणित र सामाजिक विषयलाई नेपाली भाषामा आधुनिक सिकाइ पद्धतिअनुसार सिकाउनका लागि (डिजिटल) एप सार्वजनिक गरिएको हो। यसरी परिकल्पना गरिएको डिजिटल स्कुललाई विश्वभर पुर्याउनका लागि डिजिटल माध्यबाट मात्रै सम्भव हुने भएकाले ‘एप’को विकास गरिएको संस्थापक न्यौपानेले बताए। 'डिजिटल स्कुलले बालबालिकाहरूमा पठन संस्कृतिको विकास गर्ने र सिर्जनात्मक चिन्तनलाई तीक्ष्ण बनाउँदै सिकाइको विश्वस्तरीय आधुनिक पद्धतिअनुसार नेपाली भाषा,संस्कृति र कला सिक्न साक्ने छन्,' न्यौपानेले भने।
प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् माथेमाले भाषा हराए संस्कृति हराउने र संस्कृति हराए अस्तित्व हराउने भन्दै भेषभुषा, संस्कृति, कला र परम्परा केवल बोल्ने, पहिरने र मनाउने विषयवस्तु मात्र नभएर कुनै पनि राष्ट्र वा समुदायको पहिचान र अस्तित्वको मुख्य आधार रहेको बताए। वरिष्ठ गायिका लोचन भट्टराईले नेपाली भाषा र संस्कृतिमाथिको बढ्दो अतिक्रमण रोक्न बालबालिकाबाटै यसको सिकाइ सुरु गराउन पहिलो पाइला कोशेढुङ्गा साबित हुने बताइन्।
विदेशी भुमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको छ। कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले पहिलो पाइला एपको सुभारम्भलाई युग परिवर्तनको क्षण भन्दै नेपाली भाषालाई सम्वर्द्धन र प्रवर्द्धन गर्न यो एपले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
विदेशी भूमिमा रहने धेरै नेपाली र उनीहरूको बालबालिकामा नेपाली मौलिक संस्कृति टाढिँदै गएको अवस्थामा यो अभियानले नेपाली कला, संस्कृति र मौलिक पहिचानसँग जोड्नको लागि सहजिकरण गर्ने विश्वास अधिकारीको छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १०:२५ सोमबार





