coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘एकसाता होटल क्वारेन्टिन’ प्रावधानले विदेशी तर्सिए

पदयात्रामा आउन खोजेका पर्यटक पनि रोकिएः व्यवसायी

अन्नपूर्ण आधारशिविरको पदयात्रामा रहेका विदेशी । फाइल तस्बिरः नागरिक

अर्थ नेपाल ट्राभल एण्ड ट्रेक्समार्फत गत अक्टोबरमै नेपाल आउन चाहेका एकजना अमेरिकी पाहुनाले एकाएक यात्रा रोके । पोखरा क्षेत्रमा दुईसाता रहनेगरि आउन चाहेका ती विदेशीको अबको नेपाल यात्राको टुंगो छैन । यसअघि २० पटक नेपाल आइसकेका उनी योपटक पनि आउने तयारीमा थिए ।  

तर, कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गर्न सक्ने अवस्था नभएपछि उनले यात्रा नै सुरु गरेनन् । अर्थ नेपालका संचालक धर्मराज पन्थीका अनुसार ती विदेशी दुईसाताका लागि नेपाल आउन चाहेपनि नेपालमा एकसातासम्म होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी नियमले उनले यात्रा नै थालेनन् ।

‘नेपालसम्म आउजाउ गर्दा नै एकसाता बित्ने र थप एकसाता होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी प्रावधानका कारण ती विदेशी आउनै चाहेनन्,’ पन्थीले भने, ‘उनलाई घुमघामको समय नै अपुग भयो । आउजाउ र होटल क्वारेन्टिनको समयले उनको घुमघाम नै छोटिने भएपछि यात्रा नै थालेनन् । अहिलेका लागि ती अमेरिकनले नेपालको यात्रा झन्झटिलो माने ।’ उनी अब कहिले नेपाल आउने भन्ने निश्चित नभएको पन्थीले बताए ।  

वेलकम ट्रेक्समार्फत जर्मनका तीनजना पर्यटक पनि नेपाल आउने योजनामा थिए । फेब्रुअरीको दोश्रो साता नेपाल आउने तयारीमा रहेका ती जर्मन नागरिकले पनि एकाएक यात्रा रोक्ने जनाउ दिइसकेका छन् । वेलकम ट्रेक्सका संचालक सुशीलराज पौडेलका अनुसार नेपालको झन्झटिलो भिसा प्रक्रिया र एकसाता क्वारेन्टिन अनिवार्य बस्नुपर्ने भएपछि ती विदेशीले पनि नेपाल यात्रा रोकेको जानकारी दिइसकेका छन् ।

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष समेत रहेको पौडेलका अनुसार जर्मनका ती पर्यटक अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजनमा थिए । उनीहरुको पदयात्रा अवधि नै १० दिनको थियो । ‘१० दिनको पदयात्रा र पोखरा–काठमाडौं गर्दा थप पाँचदिन गरेर नेपालमा १५ दिन बिताउने उनीहरुको योजना हो,’ पौडेलले भने, ‘तर, उनीहरुले यात्रा नै रोके । यात्रा रोक्नुका कारण नेपालको झन्झटिलो क्वारेन्टिन बसाई मुख्य कारक थियो ।’  

‘कम्तिमा एकसाता होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता भएपछि ती विदेशीले होटलमा थुनिएर बस्न चाहेनन,’ उनले भने, ‘दुईसाताको फुर्सदमा आउनेलाई एकसाता क्वारेन्टिन बस्नुपर्ने र अरु एकसाताले समय अपुग हुने भनेर ती विदेशी आउनै चाहेनन् ।’ पौडेलका अनुसार कोरोना कहरकाबीच पनि पदयात्राका विदेशीलाई नेपाल आउन अनुमति भएपछि केही विदेशी आउने चाहना राख्दाराख्दै पनि आउन सकेका छैनन । ‘कम्तिमा एकसाता होटलमा क्वारेन्टिन बस्नुपर्ने बाध्यकारी प्रावधानले विदेशी तर्सिएका छन्,’ उनले भने, ‘अरु सबै प्रक्रियालाई विदेशीले सहज ठान्छन् । तर एकसाता क्वारेन्टिन नै उनीहरुका लागि बाधक बनेको छ ।’

नेपाल घुम्न आउन चाहने विदेशीले भिसा पाउनकै लागि होटल बुकिङको प्रमाण अनिवार्य पेस गर्नुपर्ने  भएपछि उनीहरु तर्सिने गरेको पौडेलले बताए । ‘सबैलाई ट्रेकिङ कम्पनि मार्फत अनअराइभल भिसाको सिफारिस दिने हो । तर, घुम्न आउने विदेशीले नेपाल आउने र फर्कने जहाजको टिकट बुकिङ, पदयात्रा क्षेत्रको आइटीनरी, ५ हजार अमेरिकी डलरको कोरोना बिमा, क्वारेन्टिनका लागि होटल बुकिङ अनिवार्य भएपछि पर्यटक आउनै चाहेनन्,’ पौडेलले भने, ‘सबैभन्दा झन्झटिलो क्वारेन्टिन बसाईलाई ठानेका छन् ।’ क्वारेन्टिनको अवधि बस्दा पर्यटकले घुम्नै पाउने अवस्था नरहने उनले बताए ।  

इथिकल ट्रेकिङ नेपाल कम्पनिका संचालक कृष्ण आचार्य पनि कोरोना कहरबीच पनि कतिपय विदेशी नेपालको पदयात्रामा आउन चाहेकोमा होटल क्वारेन्टिनको झन्झटले रोकिएको बताउँछन् । ‘पदयात्रामा जान केही विदेशी आउन चाहेका छन् । तर, उनीहरु एकसाता क्वारेन्टिन बस्नुपर्ने भएपछि तर्सेका छन,’ उनले भने, ‘बढीमा दुईसाताको समय पाउने विदेशीले एकसाता होटलमा बस्ने र एकसाता हिडडुलमा बिताउँदा घुमफिरमा जानै पाउँदैनन् ।’  

आचार्यको कम्पनिबाट आउन खोजेका फ्रान्सका ३ जना पर्यटक पनि होटलको झन्झटिलो क्वारेन्टिन बसाई असहज ठान्दै आउन नमानेको उनले बताए । ‘मार्चमा आउन चाहेका हुन् । तर दोधारमा छन, अहिलेसम्म यात्रालाई ‘होल्ड’मा राखेका छन्,’ आचार्यले भने, ‘पोहोर मार्चमा नेपाल आउन चाहेका थिए । तर आउन पाएनन् । यो पटक पनि झन्झटिलो होटल क्वारेन्टिन बस्न चाहेका छैनन ।’ सरकारले तत्कालै होटल क्वारेन्टिनको अवधि हटाउने हो भने ती विदेशी आउन सक्ने उनले बताए । ती फ्रेन्च नागरिक मर्दी हिमाल र अन्नपूर्ण आधारशिविर गरि १३ दिनको पदयात्रामा जान चाहेका थिए । ‘क्वारेन्टिन बस्दा समय नपुग्ने भयो भनेर यात्रा गर्न रुचाएका छैनन्,’ आचार्यले भने, ‘विदेशीहरु आजको भोलि घुम्न निस्कदैनन । कम्तिमा ३ महिनाको समय राखेर योजना बनाउँछन् । त्यसैले तत्काल क्वारेन्टिन अवधिलाई संशोधन गर्ने हो भने आगामि सिजनमा केही विदेशी आउन सक्छन् ।’  

एलएन ट्रेक्सका संचालक दीपकराज अधिकारीका पाहुना पनि फेब्रुअरीमा नेपाल आउन चाहेको भएपनि ती विदेशीले यात्रा रद्द गरिसकेका छन् । ‘मर्दी हिमाल जान चाहेका डेनमार्कका ४ जना पर्यटकले यात्रा रोकिसके । नर्वे र जर्मनीका पाहुनाले पनि यात्रा रोके,’ अधिकारीले भने, ‘अरु सबै प्रावधान मान्न पर्यटक तयार थिए, तर, एकसाता क्वारेन्टिन बस्न उनीहरु चाहेनन् ।’ क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नेपालको प्रोटोकलका कारण विदेशी आउन डराएको उनले बताए ।

नेपालमा कोरोना संक्रमणको अवस्था के छ भन्ने पनि यकिन नहुँदा पनि पर्यटक तर्सिएको उनले बताए । ‘अब त कतिपय मुलुकले नागरिकलाई कोरोना विरुद्धको खोप पनि लगाइसकेका छन् । खोप लगाएकालाई निर्धक्क आउन दिनुपर्छ,’ अधिकारीले भने, ‘खोप नलगाएको भए पिसिआर परीक्षण गराएर छिटो रिपोर्ट दिएर पाहुनालाई घुम्ने माहोल बनाइदिनुपर्छ ।’ एकसातासम्म होटलमा थुनिन कोही पनि पर्यटक नआउने अधिकारीले बताए ।  

पर्यटन बोर्ड र व्यवसायीले ‘भिजिटर प्रोटोकल’ पुनरावलोकन गर्न भनिसकेका छन् । २४ घण्टाभित्र पिसिआरको रिपोर्ट दिनेगरि व्यवस्था गर्न सरकारलाई अनुरोध गरिसकेका छन् । पर्यटन बोर्ड प्रवक्ता मणि लामिछाने भन्छन, ‘एकसाता क्वारेन्टिन अनिवार्य छ । तर, यो व्यवस्था हटाउन सरकारलाई सुझाइएको छ । क्वारेन्टिनको अप्टेरोले समस्या भएको भन्ने गुनासो छ ।’

लामिछानेले पनि सातदिनसम्म होटलभित्र थुनिएर बस्दा पर्यटकले घुम्नै नपाउने बताए । ‘कतिपय मुलुकले सहज बनाएका छन् । बिस्तारै पर्यटकीय गन्तव्य खुलिरहेका छन् । दुवई, श्रीलंका, मालदिभ्सले सुरक्षा मापदण्ड अपनाएर केही सहज बनाएकोले त्यस्तै बाटोमा लाग्न ढिलाई भएको छ,’ लामिछानेले भने, ‘अहिले पिसिआरको ७२ घण्टा अघिको रिपोर्टको मान्य छ, अब ९६ घण्टा अघिको रिपोर्टलाई पनि मान्यता दिनुपर्छ ।’  

नेपाल भित्रिए लगत्तै विदेशीको कोरोना परीक्षण गराइदिने र छोटो अवधिमा रिपोर्ट दिने हो भने पर्यटनमा सहज हुने उनले बताए । ‘पाहुनासँग बढीमा दुई साता बिदा हुने हो । अहिलेको प्रोटोकलले एकसातासम्म होटलमै थुनिएर बस्नुपर्छ,’ लामिछानेले भने, ‘लामो बिदा हुँदैन । त्यसले मार पारेको छ । अब यो बारेमा सोच्न ढिलाई गर्नु हुँदैन ।’

प्रकाशित: १० माघ २०७७ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App