धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुईवटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्षअघि च्याउखेती गर्ने तरिकाबारे तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रूपमा खेती सुरु गरेको राईले बताए।
सुरुमा आफ्नो लागि मात्र लगाएको थिए, अहिले यहि च्याउ बेचेर घरपरिवार टार्ने गरेको छु,’ राईले भने, ‘विदेशमा लगानी गर्ने श्रमले स्वदेशमै दोब्बर आम्दानी गर्न सकिने रहेछ।’ च्याउ फर्म नै दर्ता गरेर अन्य ठाउँमा पनि च्याउखेती गर्ने योजना उनले बनाएका छन्।
साढे दुई वर्षअघिदेखि च्याउखेती सुरु गरेका उनले उत्पादन भएको च्याउ धादिङका विभिन्न ठाउँमा निर्यात हुने गर्छ। च्याउ प्रतिकिलो दुई सय रूपैयाँ किलोमा बिक्री हुने गरेको उनको भनाइ छ। घरबाटै पनि बिक्री हुने गरेको र माग अनुसारको उत्पादन गर्न नसकेको उनले बताए। ‘अहिले मासुभन्दा च्याउ बढी बिक्री हुन्छ, अब बिस्तारै उत्पादन बढाउने योजनामा छु,’ उनले भने।
वर्षमा एक सिजनमा मात्रै च्याउखेती गरेर एकदेखि डेढ लाखसम्म आम्दानी लिने गरेको उनले बताए। उनले दुईवटा टनेलमा दुई सय ३० वटा बल राखेका छन्। च्याउखेती गर्न उनका श्रीमती र छोराछोरीले पनि सघाएका छन्। च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको उनले बताए।
च्याउ एक बहुउपयोगी खाद्य पदार्थ हो। च्याउमा तरकारी तथा मासुमा पाइने सबै प्रकारका प्रोटिन तत्व पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाका लागि अति उपयोगी हुन्छ। यसमा सबै प्रकारका एमिनो एसिडलगायत विभिन्न किसिमका प्रोटिनका अतिरिक्त खनिज, चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ। च्याउ खाने मानिस बढेसँगै यसको व्यवसाय पनि बढिरहेको किसानको भनाइ छ। च्याउखेती गर्न धेरै ठूलो ठाउँ र समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो।
च्याउमा पानीको मात्रा ९० प्रतिशत पाइने हुनाले यो एकदम महत्वपूर्ण मानिन्छ। च्याउले क्यान्सर, मुटुरोगजस्ता रोग लाग्नबाट बचाउँछ। गजुरी गाउँपालिका वडा नं ८ का रामशरण बस्नेतले पनि च्याउ खेती सुरु गरेका छन्। ‘पहिलो पटक च्याउखेती गरेको छु, यसबाट आम्दानी लिन सके अर्को वर्ष पनि खेती गर्नेछु,’ उनले भने, ‘एउटा टनेलमा ७५ पोकामा च्याउखेती गरेको छु।’ आम्दानीको अन्य स्रोत नभएको र कृषिमै भर पर्नुपर्ने भएकाले छोराछोरीको पढाइलाई समेत राम्रोसँग अगाडि बढाउन यसले मद्दत गर्ने उनले बताए।
उता खनियाबास गाउँपालिका वडा नं ३ वृचेतका सानुमाया तामाङले पनि च्याउ बेचेर आएको आम्दानीले घरखर्च राम्ररी टरेको बताइन्। ‘खेती गर्न सके गाउँमै राम्रो आम्दानी लिन सकिने रहेछ, आम्दानी राम्रै भएपछि व्यवसाय गर्न ढिलो गरेकामा पछुतो लागेको छ,’ उनले भनिन्, ‘समय समयमा तालिम र प्रोत्साहनका अन्य कार्यक्रम भइदिए अझै व्यावसायिक भएर उत्पादन गर्न सक्ने थियौं।’
च्याउखेती गर्न पूर्णिमा बिहानी परियोजनाले किसानलाई सहयोग गरेको छ। खेती गर्न आवश्यक टनेल, बीउ, प्लास्टिक, अन्य औजारदेखि तालिम, परामर्श दिएको परियोजनाका कार्यक्रम संयोजक उमेश अधिकारीले बताए। जिल्लाभर गजुरी गाउँपालिकाका दुई, गंगाजमुना गाउँपालिकाका पाँच र खनियाबास गाउँपालिकाका १६ गरी २३ किसानलाई सहयोग गरेको उनले बताए।
प्रकाशित: १९ पुस २०७७ ०२:५३ आइतबार