३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

४३ निकायलाई एकद्वार प्रणालीमा जोडिने

विदेशी मुलुकसँगको व्यापारलाई सहज र व्यवस्थित बनाउन भन्सार विभागले राष्ट्रिय एकद्वार प्रणाली लागू गर्ने भएको छ। आयात–निर्यातसँग सम्बन्धित ४३ निकायले दिँदै आएका सेवा एकद्वार प्रणालीबाट कार्यसम्पादन गर्न एउटै प्लेटफर्ममार्फत दिने भन्सार विभागले तयारी  गरेको हो ।

विभागका अनुसार एकद्वार प्रणालीमा आयात, निर्यातसँग सम्बन्धित कम्पनी दर्तादेखि, भन्सार क्लियरिङसम्मका सबै काम एउटै प्रणालीबाट हुनेछ। आयात, निर्यातमा ४३ वटा एजेन्सीको सेवालाई एकीकृत गर्न लागिएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले बताए। ‘सेवा लिनका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता अन्य गर्न राष्ट्रिय एकीकृत प्रणालीको विकास गर्दैछौं,’ घिमिरले भने, ‘व्यवसायीले घरमा नै बसेर एउटै प्लेटफर्ममार्फत सेवा लिन सक्नेछन् ।’

इन्टरनेटमा आधारित यो प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय व्यापार र पारवहनसम्बन्धी सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्नेछन्। आयात–निर्यात र पारवहनसँग सम्बन्धित काम गर्ने सेवाग्राही फाइल बोकेर विभिन्न सरकारी कार्यालयमा पुग्ने गरेका छन् ।व्यापार गर्न सुरुमा कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्ताले सामान आयातको भन्सार क्लियरिङसम्मका सबै सेवा एउटै प्रणालीमा जोडेर दिन लागिएको हो। यसले भन्सार प्रक्रियालाई पनि छिटोछरितो बनाउन सघाउने छ ।

एकद्वार प्रणालीमा भन्सार विभाग, वाणिज्य विभाग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, यातायात व्यवस्था, कन्सुलर सेवा, वन तथा भू–संरक्षण, व्यापार तथा निकासी प्रवर्धन केन्द्र लगायत दर्जनौं कार्यालयले दिने सेवा एउटै सिस्टममा जोड्ने योजना छ। सामान आयात गर्न एलसी खोल्ने, जाँचपास गर्ने, क्वारेन्टाइन अनुमति, परीक्षण लागयतका काम एकै ठाउँबाट हुन्छ ।

सरकारीले निकायले व्यापारसँग सम्बन्धित सबै सेवा अनलाइनबाट दिनुपर्नेछ। ‘व्यवसायीले घरकै कम्प्युटरबाट सेवा लिनका लागि अनलाइन आवेदन दिन सक्छन्,’ सूचना अधिकारी घिमिरेले भने, ‘सबै सरकारी निकायले आफ्नो जिम्मेवारी अनुसारको सेवा अनलाइनबाट नै प्रदान गर्नेछन् ।’  

त्यसका लागि विभागले आवश्यक सफ्टवेयर तयार गरिरहेको छ। त्यसका लागि विभागले आवश्यक पूर्वाधार तयार गरेको छ। यसले अन्तर्राष्ट्रिय व्यापारलाई थप व्यवस्थित बनाउने छ। ‘व्यवसायीलाई विभिन्न कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ,’ उनले भने, ‘एकद्वार प्रणालीमा आएपछि अन्तर्राष्ट्रिय व्यापार व्यवस्थित हुनेछ ।’ व्यापारीलाई सहज हुनुका साथै राजस्व चुहावट, व्यवसायीले झेल्नुपर्ने अनावश्यक झन्झटको पनि अन्त्य हुनेछ ।

सरकारी ४३ वटा निकायलाई एउटै प्रणालीमा जोडिने भएकाले ती निकायले आ–आफ्नो जिम्मेवारी अनुसार अनलाइन प्रणालीबाट नै काम गर्नुपर्नेछ। ‘पहिलो चरणमा २२/२३ वटा निकायलाई जोड्छौं,’ घिमिरेले भने, ‘दोस्रो चरणमा सबै निकायलाई एउटै पोर्टलमा जोडेर सेवा दिने योजना छ ।’यसले विदेशी मुलुकसँगको व्यापार व्यवस्थित हुने अपेक्षा गरिएको छ। विभागले जनवरीदेखि ‘राष्ट्रिय एकद्वार प्रणाली’ लागू गर्ने तयारी गरे पनि कोभिडको कारण पछि सरेको छ। ‘सबै एजेन्सीलाई भौतिक सामग्री हस्तान्तरण गर्ने सुरुआत भएको छ,’ उनले भने, ‘सकेसम्म छिटो प्रयोगमा ल्याउने तयारी गरिरहेका छौं ।’

यो प्रणाली लागू भएपछि सेवाग्राही सबै सरकारी कार्यालयमा पुग्नु पर्दैन। अन्तर्राष्ट्रिय व्यापार छिटो छरितो हुने भएकाले डुइङ बिजनेस इन्डिकेटरमा पनि राम्रो हुने घिमिरेले बताए। ‘भन्सारमा हुने चुहावट पनि रोकिन्छ,’ उनले भने, ‘लागत घट्ने भएकाले व्यवसायीलाई धेरै फाइदा पुग्छ ।’  भन्सार कार्यालयलाई व्यवस्थित गर्नका लागि विभागले यसअघिदेखि स्वचालित तथ्यांक प्रणाली (आसिकुडा) प्रयोगमा ल्याएको छ। आसिकुडा प्रयोगमा ल्याएका २४ वटा भन्सार कार्यालयमा यो प्रणाली लागू गर्न लागिएको हो।  

आसिकुडा वल्र्ड सिस्टम अत्याधुनिक प्रणाली हो। यसमा सबै भन्सार कार्यालयमा हुने कारोबार विभागबाट नै निगरानी गर्न सकिन्छ। सामान आयात, निर्यातको क्रममा जाँचपास गर्दा कुनै शंकास्पद गतिविधि देखिएमा विभागका अधिकारीले तत्काल कागजात चेकजाँच गर्न सक्छन् ।

प्रज्ञापनपत्रका आधारमा कुन व्यवसायीले, कुन वस्तु, कति मूल्यमा, कति खेर जाँचपास गर्‍यो भन्ने सबै विभागबाटै अनुगमन गर्दै आएको छ। आसिकुडा सहित विभागले सबै भन्सार कार्यालयमा आइपी क्यामरा जडान गरेर निगरानी गर्ने गरेको छ। भन्सारमा हुने अवाञ्छित गतिविधि रोक्नका लागि विभागले क्लियरिङ सिस्टम वेब बेसमा सञ्चालन गरेको छ। ‘भन्सारका गतिविधि आइपी क्यामरामार्फत ठूलो टिभी स्क्रिनमा लाइभ भिडियो हेर्छौं,’ घिमिरले भने, ‘कुनैमा शंका लाग्यो भने तुरुन्त जुम गरेर हेर्न सकिन्छ ।’

प्रकाशित: १६ पुस २०७७ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App