१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सवा करोडमा कृषि अनुसन्धान केन्द्र

गोरखा नगरपालिका–११ तेह्रकिलोमा कृषि अनुसन्धान केन्द्र निर्माण भएको छ । गैरसरकारी संघसंस्थामा आवद्ध व्यक्तिलगायत व्यापारी व्यवसायीसहित २३ जनाको टोलीले एक करोड २५ लाख लागतमा एकीकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र सुरु गरेको हो ।

सात रोपनी आफ्नै र ८० रोपनी जग्गा भाडामा लिएर केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष हरि देवकोटाले बताए । अध्यक्ष देवकोटाले भने, ‘यहाँबाट अन्यत्र साना फार्मलाई बिक्री गर्ने, नयाँ फार्म सञ्चालन गर्न प्रोत्साहन गर्ने, अध्ययन र अनुसन्धान गर्ने ठाउँको विकास गर्ने योजना हो ।’ अहिले एक सय बाख्रा रहेकामा तीन सय पुर्‍याउने लक्ष्य फार्म सञ्चालकको छ ।

ऋहिले फार्ममा बंगुरपालन, तरकारी खेती, माछापालनका साथै ४० घार मौरीपालन गरिएको छ । ‘गोरखा घुम्न आउने विद्यार्थी वा कृषकलाई यहाँ एक पटक आउने, घुम्ने, अनुसन्धान गर्ने ठाउँको रुपमा फार्मलाई विकास गर्छौं,’ प्रबन्ध निर्देशक प्रदिप खनालले भने । उक्त फार्म २०७६ फागुन ३० देखि सुरु भएको थियो । कृषि उत्पादन आयात गर्नुपर्ने भएकाले स्थानीय स्तरमै उत्पादान बढाउन फार्मले सहयोग पुर्‍याउने उनले बताए ।

उक्त केन्द्रको शनिबार गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन  

गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै उनले कृषिमा व्यवसायीकरण बढाउन अनुसन्धान केन्द्र, ठूला कृषि फार्म सञ्चालन हुनुपर्नेमा जोड दिए ।  

बाँझो जग्गालाई उपयोग गर्दै कृषिमा युवा आकर्षण बढाउन ब्याजमा अनुदान दिने योजना मन्त्रालयको रहेको मन्त्री थापाले बताए । ‘कृषिमा अधिकतम ११ प्रतिशतसम्म ब्याज लिन पाउने र पाँच प्रतिशत सरकारले तिरिदिने व्यवस्था गरेका छौं,’ उनले भने, ‘यसरी किसानलाई बैंक, सहकारीबाट ऋण लिँदा अधिकतम ६ प्रतिशत मात्रै ब्याज पर्छ ।’

गण्डकी प्रदेश सरकारले दैनिक दुई सय लिटर दूध उत्पादन गर्ने सहकारी वा व्यक्तिलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसा अनुदान दिने, निःशुल्क पशुबस्तुको बिमा गरिदिने, घाँसमा अनुदान, नश्ल सुधारमा अनुदान दिने कार्यक्रम पनि सञ्चालन गरिएको उनले बताए । घाँस स्रोत केन्द्र, दाना उद्योग, खेतीको ब्लक निर्माण जस्ता काममा प्रदेश सरकारले लगानी गर्ने मन्त्री थापाले बताए ।

प्रकाशित: १५ पुस २०७७ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App