झुरुप्प परेको बस्ती, पाङलिङले छाएका छाना, पारी लाङटाङ हिमाल अनि केही माथि पार्वतीकुण्ड, यो गत्लाङ गाउँलाई चिनाउने आधार हो । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको गत्लाङलाई ‘कालोगाउँ’ को रूपमा चिनिन्छ ।
यहाँका घरमा छाना छाउन पाङलिङको प्रयोग हुने र छाना कालो देखिने भएकाले यस गाउँलाई कालोगाउँको रूपमा चिनिएको हो । यहाँका घरहरूमा अहिले पनि छाना छाउन पाङलिङको नै प्रयोग हुँदै आएको छ । भूकम्पपछि सजिलोका लागि जस्तापाताको प्रयोग पनि भएको छ । संस्कृति जोगाउनका लागि धेरैले पाङलिङको प्रयोग गरेका छन् ।
यस क्षेत्रमा बढी चिसो हुने र हिउँ पर्ने समयमा गाउँमा हिउँले ढाक्ने भएकाले बस्तीमा काठबाट बनेका घरको संख्या धेरै छ । बाहिर ढुंगाको गारो लगाउने भएपनि भित्र काठको प्रयोग गरिएको हुन्छ । भूकम्प जानुभन्दा पहिले यहाँका बासिन्दाले ढुङ्गाको गारो लगाएर पाङलिङले घर छाउने गर्थे । पछिल्लो केहीले जस्तापाताको प्रयोग गरेका छन् । एक पटक प्रयोग गरिएको पाङलिङ करिब २६ वर्षसम्म रहने यहाँका स्थानीय बताउँछन् ।
कालोगाउँको रूपमा चिनिएको ‘गत्लाङ’ तामाङ सम्पदा मार्गको प्रस्थान विन्दु हो । गत्लाङबाट लाङटाङ हिमाल देख्न सकिन्छ । गाउँ भन्दा केहीमाथि पार्वतीकुण्ड पनि रहेको छ । यहाँ आएका स्वदेशी तथा विदेशी पर्यटक कालोगाउँको अवलोकन गर्ने, पार्वतीकुण्ड जाने र तामाङ सम्पदा मार्ग जाने गर्दछन् । प्रचारप्रसारको अभावले पर्यटक भित्रने क्रम अझै बढ्न नसकेको होटल व्यवसायी सार्की तामाङले बताइन् ।
राजधानी काठमाडौंबाट करिब १६० किलोमिटर यात्रा गरेपछि गत्लाङमाँ आइपुगिन्छ । केही वर्ष पहिलेसम्म पर्यटकीय हबको रूपमा रहेको स्याफ्रुबेसीबाट पैदलयात्रा गरेर यहाँ आइपुगिन्थ्यो । अहिले गत्लाङ जोड्ने दुईवटा सडक निर्माण भएर सञ्चालनमा आएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) पछि यहाँ पर्यटकको आगमन भएको छैन ।
तामाङ सम्पदा मार्ग बन्द भएको गलत सन्देश गएपछि पर्यटक नआएका रसुवा होटल तथा पर्यटन संघका महासचिव तथा यहाँका होटल व्यवसायी फुपर््ुसिङ्गी तामाङले बताए । यस गाउँमा एक सिजनमा करिब २ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ‘लकडाउन भएयता यहाँ पर्यटक आएका छैनन्’, उनले भने, ‘तामाङ सम्पदा मार्ग बन्द भएको गलत सन्देश प्रवाह हुँदा यसले नकरात्मक असर परेको हो ।यस क्षेत्रमा आउने पर्यटकलाई स्थानीय कलासंस्कृति देखाउने, स्थानीय परिकार खुवाउने स्वागत सत्कार गर्ने चलन छ ।
प्रकाशित: १४ पुस २०७७ ११:४८ मंगलबार





