ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सार्वजनिक भएपछि उनको सचिवालयले प्रष्टीकरण दिएको छ।
खिजिदेम्बा गाउँपालिकाको रगनीस्थित एक विद्यालयमा भएको उक्त घटनाको 'भिडियो क्लिप' मात्र बाहिर आउँदा भ्रम सिर्जना भएको सचिवालयको दाबी छ। पूर्वएआईजी समेत रहेका सांसद पोखरेलले विद्यालयको अवस्था बुझ्न जाँदा प्रधानाध्यापकले अपमानजनक व्यवहार गरेको सचिवालयले उल्लेख गरेको छ। प्रष्टीकरणका अनुसार सांसद पुग्दा प्रधानाध्यापक कार्यालयभित्रै भए पनि कार्यालय सहयोगीमार्फत बाहिर कुर्न लगाएका थिए।
सचिवालयले भनेको छ, ‘माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो। तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो। त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो। पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो। त्यसपछि सबैजना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो।’
घटनाको सानो अंश मात्र प्रसारण हुँदा अनावश्यक भ्रम फैलिएको बताउँदै सचिवालयले राजनीतिक शुद्धीकरण सबै क्षेत्रमा आवश्यक रहेको उल्लेख गरेको छ। सचिवालयको विज्ञप्तिमा भनिएको छ, ‘आज हाम्रो समाजका धेरै क्षेत्र राजनीतिको दुश्चक्रमा अल्झिएका छन्। दुर्भाग्यवश, विद्यालयजस्तो पवित्र संस्था पनि यसको प्रभावबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन। शिक्षालयहरूमा दलगत स्वार्थ र प्रभावले जरा गाड्दै जानु अत्यन्त चिन्ताजनक अवस्था हो।’
विचार वा राजनीतिक धारणा फरक भएकै कारण जनप्रतिनिधिको अपमान गर्नु लोकतन्त्रको मर्म विपरीत हुने सचिवालयको ठहर छ। कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको सम्पूर्ण जिल्लाबासीको सम्मानमाथि आघात पुर्याउनु रहेको भन्दै सचिवालयले दलगत सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा जोगाउन सबैमा आग्रह गरेको छ।
हेर्नुस् सचिवालयको प्रष्टीकरण
माननीय विश्वराज पोखरेलज्यू खिजिदेम्बा गाउँपालिका, रगनीस्थित एक विद्यालयमा पुगेर गर्नुभएको संवादको एक ‘क्लिप’ मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसप्रति ध्यानाकर्षण भएको छ। उक्त क्लिपका कारण घटनाको वास्तविकता पूर्ण रूपमा प्रस्ट नभई भ्रम सिर्जना भएको देखिन्छ।
वास्तविक घटनाक्रम भने यस्तो थियो-
माननीयज्यू जिल्लाको जनप्रतिनिधिको हैसियतले स्थानीय स्तरका कार्यालय तथा संस्थाहरूको वास्तविक अवस्था, त्यहाँ रहेका चुनौती, कठिनाइ र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले सो विद्यालयमा पुग्नुभएको थियो। त्यसबेला विद्यालयका प्रधानाध्यापक कार्यालयभित्रै हुनुहुन्थ्यो। कार्यालय सहयोगीमार्फत माननीयज्यूलाई कुर्सी दिएर केही समय बाहिर कुर्न अनुरोध गरिएको थियो।
माननीयज्यूले धैर्यतापूर्वक केही समय प्रतीक्षा गर्नुभयो। तर लामो समयसम्म पनि प्रधानाध्यापक उपस्थित नभएपछि पुनः बोलाउन पठाइएको थियो। त्यसपछि पनि निक्कैबेर नआएपछि माननीयज्यू विद्यालय परिसरबाट बाहिर निस्कनु भएको थियो।
पछि प्रधानाध्यापकज्यू हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माननीयज्यूसँग माफी माग्नुभयो। त्यसपछि सबै जना पुनः भित्र गई आपसी सम्मान र सौहार्दपूर्ण वातावरणमा आवश्यक छलफल तथा संवाद सम्पन्न भएको थियो।
यस घटनाको सम्पूर्ण सन्दर्भ सार्वजनिक नभई एउटा सानो अंश मात्र प्रसारण हुँदा आम जनमानसमा अनावश्यक भ्रम उत्पन्न हुन गएको हो। यदि घटनाको पूर्ण भिडियो सार्वजनिक भएको भए वास्तविकता स्वतः स्पष्ट हुने थियो।
राजनीतिक शुद्धीकरण केवल माथिल्लो तहमा सीमित राखेर सम्भव हुँदैन। आज हाम्रो समाजका धेरै क्षेत्र राजनीतिको दुष्चक्रमा अल्झिएका छन्। दुर्भाग्यवश, विद्यालयजस्तो पवित्र संस्था पनि यसको प्रभावबाट पूर्ण रूपमा मुक्त रहन सकेको छैन। शिक्षालयहरूमा दलगत स्वार्थ र प्रभावले जरा गाड्दै जानु अत्यन्त चिन्ताजनक अवस्था हो।
आफ्नो विचार वा राजनीतिक धारणा फरक भएको कारण कसैलाई अपमान गर्ने वा अनादर गर्ने प्रवृत्ति लोकतन्त्रको मर्म र संस्कृति विपरीत हो। कुनै जनप्रतिनिधिको अपमान गर्नु भनेको केवल एक व्यक्तिमाथि मात्र होइन, सम्पूर्ण जिल्लावासीको सम्मानमाथि आघात पुर्याउनु हो।
त्यसैले अब हामी सबैले दलगत संकुचित सोचभन्दा माथि उठेर संस्थाहरूको गरिमा, निष्पक्षता र मूल्यलाई जोगाउने साझा जिम्मेवारी बहन गर्नुपर्छ। सम्मान, सहकार्य र जिम्मेवार संवादकै माध्यमबाट मात्र स्वस्थ लोकतान्त्रिक संस्कार स्थापित गर्न सकिन्छ।
प्रकाशित: १२ वैशाख २०८३ १२:०८ शनिबार





