८ वैशाख २०८१ शनिबार
अर्थ

आन्तरिक पाहुनालाई पोखरेली व्यवसायीको निम्तो

पोखरा घुमघाममा आन्तरिक पाहुना । फाइल तस्बिर: उमेश पुन/नागरिक

द्वन्द्वका कारण पर्यटन व्यवसाय थिलोथिलो भएपछि सन् २००१ मा सुरु भएको थियो, ‘जाँउ है पोखरा’ अभियान । द्वन्द्वले गर्दा पर्याप्त विदेशी पाहुना पोखरा नआएपछि आन्तरिक पाहुना तान्न पोखरेली व्यवसायीले त्यो बेला यो अभियान थालेका थिए । त्यही अभियानले निरन्तरता पाउँदै जाँदा पोखरामा आन्तरिक पाहुनाको आगमन बढ्न थालेको थियो ।  

व्यवसायीका अनुसार सन् २००१ अघि पोखरेली व्यवसायीले आन्तरिक पाहुनालाई उतिसारो ‘भ्यालू’ दिँदैनथे । व्यवसायीले चाँसो नदिँदा कामकाजले वा घुमघामकै लागि आएका पाहुना पनि लेकसाइड बाहिरकै होटलमा बस्थे । सकेसम्म आन्तरिक पाहुनालाई कोठामा राख्नै नपरे हुन्थ्यो भन्ने सोचाई त्यो बेला व्यवसायीमा थियो । लेकसाइडले आन्तरिक पाहुनालाई कोठा दिँदैनन, दिइहाले पनि महंगो रकम असुल्छन भन्ने त्यतिखेरका पाहुना सोच्थे ।

तर, द्वन्द्वका कारण विदेशी पाहुना आउने अवस्था नदेखेपछि व्यवसायीको नजर बल्ल आन्तरिक पाहुनातर्फ मोडिएको थियो । व्यवसायीले आन्तरिक पाहुनाप्रति नजर मात्र लगाएनन् कि उच्च प्राथमिकतामा पार्दै पोखरा घुमघाममा पनि बोलाउन थाले । विदेशी पाहुनाको मात्र भर पर्दा व्यवसाय थेग्न सक्ने अवस्था नदेखेपछि बल्ल आन्तरिक पाहुनालाई आतिथ्यता दिलाउन व्यवसायी तयार भएका थिए । त्यही आतिथ्यता बढ्दै जाँदा पोखराले आन्तरिक पाहुना भिœयाउन सकेको थियो ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘सन् २००१ मा द्वन्द्वकालले चरम रूप लिदा विदेशी पाहुना आउने अवस्था भएन । तर, व्यवसाय धान्न हामी बाध्य थियौं । त्यही भएर त्यो बेला आन्तरिक पाहुनाको खोजी सुरु भएको हो । अहिले त्यही आन्तरिक पाहुनाकै भरमा हामी चलायमान हुन सकेका छांै ।’ उनका अनुसार विदेशी पाहुनाको विकल्पमा व्यवसाय धान्ने माध्यमको रूपमा यो अभियानमार्फत त्यो बेला आन्तरिक पाहुनाको खोजी गर्न थालिएको थियो ।  

‘विदेशीको आगमन न्यून हुँदा बल्ल आन्तरिक पाहुनाको महत्व बुझियो, अनि बल्ल खोज्न थालिएको हो । साच्चै भन्ने हो भने त्यो बेला व्यवसायीको प्राथमिकतामा आन्तरिक पाहुना थिएनन्,’ पराजुलीले भने, ‘जसोतसो पोखरा आएका पाहुना पनि लेकसाइडमा बस्न खोज्दैनथे । हामीलाई कोठा दिँदैनन् भन्ने सोच ती पाहुनामा हुन्थ्यो ।’ तर, अहिले व्यवसायी पनि फेरिए, व्यवसायीको नजर पनि फेरियो, आन्तरिक पाहुना पाउने अवस्थामा व्यवसायी ढुक्क हुने गरेको उनले बताए ।  

‘यो अभियान सुरु गर्दा पोखरामा आन्तरिक पाहुनाको अकुपेन्सी मुस्किलले ५ प्रतिशत थियो । ‘अहिले आन्तरिक पाहुनासँगै हामी ढुक्क छौं । पाएसम्म आन्तरिक पाहुना राख्छौं,’ पराजुली भन्छन्, ‘कोरोना भाइरस संक्रमण फैलिनुअघि पोखरामा आन्तरिक पाहुनाको वर्षभरीको औसत अकुपेन्सी ४० प्रतिशत पुगिसकेको थियो । आन्तरिक पाहुनाको त्यो अकुपेन्सीले व्यवसायीलाई निकै राहत दिएको थियो ।’

पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाको भरमा मात्र व्यवसाय कसरी चलायमान बनाउन सकिन्छ भन्ने अनुभव पटकपटक बटुलेका छन् । पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्षसमेत रहेका पराजुली भन्छन्, ‘द्वन्द्वकालको चरम संकटबाट पनि आन्तरिक पाहुनाले नै हामीलाई पार लगाएका हुन् । भूकम्प र नाकाबन्दीको चरम संकटमा पनि हामीलाई आन्तरिक पाहुनाले नै पार लगाएका हुन् । कोरोना महामारीले निम्त्याएको संकटमा पनि त्यस्तै अवस्था आएको छ ।’  

‘द्वन्द्व, भूकम्प, नाकाबन्दीबाट पार लगाउने पाहुना आन्तरिक थिए । कोरोनाको यो शून्यताबाट पार लगाउने आधार पनि आन्तरिक पाहुनामै देखेका छौं,’ उनले भने, ‘पछिल्लो केही दिन पोखरामा आन्तरिक पाहुनाको चहलपहल बढ्दा पनि पार पाउने संकेत देखिएको छ ।’ अप्ठेरो अवस्थामा जहिले पनि आन्तरिक पाहुनाले साथ दिएका छन् । वास्तवमा भन्ने हो भने नेपाली पर्यटन बजार आन्तरिक पाहुनाबाटै जोगिएको हो,’ उनले भने । उनका अनुुसार कोरोनाको यो अप्ठेरोमा पनि आन्तरिक पाहुनाको मुभमेन्ट हुँदा व्यवसायीले सास फेर्न सकेका छन् ।  

आन्तरिक पाहुनाको त्यही साथ खोज्दै अहिलेको अप्ठेरोमा व्यवसायीले यो अभियान पुन चलाएका छन् । अभियान प्रचार गर्दै पूर्वी सहर वीरगञ्ज, जनकपुर र बिराटनगर पुगेर आन्तरिक पाहुनालाई ‘सतर्कता अपनाउँदै पोखरा घुम्न आउन’ पोखरेली व्यवसायीले निम्ता पनि दिएका छन् । ‘सतर्कता अपनाउँदै घुमघाम गर्न सकिन्छ भन्ने सन्देश हामीले दिन पूर्वी सहरमा प्रवद्र्धन कार्यक्रम चलाएका थियाैं,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने ।

प्रकाशित: २९ मंसिर २०७७ ०३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App