१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फास्ट ट्रयाकको भौतिक प्रगति १६ प्रतिशत

फाइल तस्बिर।

बहुचर्चित र विकासको लागि अत्यावश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको तीन वर्षमा समग्रमा १६ प्रतिशत मात्रै काम सकिएको छ । पहिलो चरणको कार्यतालिका अनुसार यो आयोजना २०७८ भदौभित्र निर्माण सम्पन्न हुनुपर्छ । तर माटो कटिङ र फिलिङ बाहेकका महŒवपूर्ण मानिएको सुरुङ, पुल लगायतको काम अहिलेसम्म सुरु हुन सकेको छैन ।  

पूर्वनिर्धारित तालिका अनुसार फास्ट ट्र्याक निर्माण कार्य दुई तिहाइभन्दा धेरै हुनुपथ्र्याे । अहिलेसम्म आयोजनाको समष्टिगत प्रगति १६.२१ प्रतिशतमा मात्रै छ । आयोजनाको समष्टिगत वित्तीय प्रगति ९.२५ प्रतिशत मात्रै खर्च भएको छ । आयोजनाको लागि हालसम्म १६ अर्ब ६६ करोड रूपैयाँ खर्च भएको नेपाली सेनाले जनायो । नेपाली सेनाले पूर्वतालिका अनुसार काम नभएपछि अहिले कार्यतालिका समेत फेरबदल गरेको छ । आयोजनाले फास्ट ट्र्याक आगामी २०८०–८१ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

आयोजनाको निर्माण कार्यलाई ११ वटा विभिन्न क्लस्टरमा विभाजन गरेर काम भइरहेको छ । यो आयोजना इपिसी, डिजाइन एन्ड बिल्ड र युनिट रेट कन्ट्र्याक्टमा आधारित भएर निर्माण गर्न लागिएको हो । आयोजनाको सुरुङमार्ग, पुल तथा एक्प्रेस वे निर्माण सँगसँगै गर्ने योजना छ ।

सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई सुम्पिएको छ । अहिलेसम्म सेनाले कुनै पनि काम सम्पन्न गरेको छैन । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको लम्बाइ ७२.५ किलोमिटर छ । सोमध्ये ५५.५ किलोमिटर सडक, १०.५९ किलोमिटर पुल र ६.४१ प्रतिशत पुल निर्माण गर्नुपर्ने हुन्छ ।  

यस्तो छ सुरुङको प्रगति
आयोजनाको सुरुङमार्ग निर्माणका लागि परामर्शदाता छनोट भएर जिओफिजिकल रिपोर्ट तयार पार्ने काम भइसकेको छ । अहिले रिपोर्टको मूल्यांकन भइरहेको छ । जिओटेक्निकल इन्भेस्टिगेसन अन्तर्गत महादेवटार, धेद्रे, लेनडाँडा लगायत स्थानमा १८ वटा बोरहोल्स ड्रिलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । ड्रिलिङ सम्पन्न भएकामा स्याम्पल टेस्ट गर्ने काम भइरहेको छ । आयोजनाले सुरुङ निर्माण गर्ने अन्तर्राष्ट्रिय ठेकेदार कम्पनीको प्रिक्वालिफिकेसन निर्धारणको काम गरिरहेको छ । गत असोज १४ गते बिड पेस गर्ने काम सकेर मूल्यांकनको चरणमा छ । आयोजनाले मूल्यांकनको काम मंसिर मसान्तभित्र सक्ने जनायो ।  

आगामी चैतभित्र सुरुङ निर्माणको ठेकेदार कम्पनीसँग सम्झौता गर्ने लक्ष्य छ । आयोजना अन्तर्गत ६ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । जसको लागि एनसिबी प्याकेज अन्तर्गत जिओटेक्निकल इन्भिेस्टिगेसनको लागि राष्ट्रिय परामर्शदाता छनोट गर्न इओई मूल्यांकन सकेर सूचीकृत भएका परामर्शदाता कम्पनीको मूल्यांकन भइरहेको छ । काठमाडौं–तराई÷मधेश द्रुतमार्गको डिजाइन तथा कन्सट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता एमएस योसिन इन्जिनियरिङ कर्पाेरेसन कोरिया जेभीसँग गत जेठ २ गते परामर्श सेवा ठेक्काको सम्झौता भएअनुरूप उक्त जेभीका टिम लिडर नेपाल आएर काम गरिरहेका छन् । आयोजना अन्तर्गतका ८४ प्रतिशत जग्गाको मुआब्जा वितरण भइसकेको छ ।

मकवानपुर जिल्लाअन्तर्गत ९९ रोपानी जग्गाको पुर्जा तयार भएर सम्बन्धित जग्गाधनीलाई मुआब्जा वितरण गर्ने काम सम्पन्न भएको छ । तर खोकना इलाकाको द्रुतमार्ग रेखांकनमा परेको स्थानको समस्या समाधान गर्न बाँकी छ । फास्ट ट्र्याक खण्डमा पर्ने पुल निर्माणको लागि राष्ट्रिय परामर्शदाता छनोट गर्न इओई मूल्यांकन सम्पन्न गरी सूचीकृत भएका परामर्शदाता छनोट भइरहेको आयोजनाले जनायो ।

प्रकाशित: २३ मंसिर २०७७ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App