६ वैशाख २०८१ बिहीबार
अर्थ

किसानलाई फेरि धोका

सोचेजस्तो भएन बहुगुणी–२

गौरीगंगा–८ लिक्माका किसान चेतराज जोशीको खेतमा लगाइएको बहुगुणी–२ धान। तस्बिरः पुष्पराज जोशी/नागरिक

गत वर्ष गरिमा जातकोधानले ठगिएका किसानलाई यसपालि पनि  धान खेतीमै धोका भएको छ। फसल दिनमा उष्कृष्ट मानिने बहुगुणी–२ धानको बीउ लगाएका किसानले सोचेजस्तो फसल भित्र्याउन पाएका छैनन्।

अरु धानभन्दा ढिला पाक्ने भनिएको बहुगुणी–२ अहिलेसम्म फसल नलागेको भन्दै किसान चिन्तित बनेका छन्। ‘यसपालि बहुगुणी–२ जातको धान खेतमा रोपेको थिएँ,’ गौरीगंगा नगरपालिका–८, लिक्माका चेतराज जोशीले भने,‘अहिलेसम्म बाला लागेन, कहीँकहीँ लागेको बालामा पनि चामलको दाना छैन।’ नगरपालिकाको कृषि शाखा र वडा कार्यालयले अनुदानमा दिएको बहुगुणी–२ धानको बीउले यसपटक धोका पाएको उनले गुनासो पोखे। ‘यसपालि धानबाट धोका पाइयो,’ उनले भने,‘राम्रै फल्छ भनेर वडा कार्यालयले अनुदानमा बीऊ दियो, समयमै व्याड पनि राखेँ र समयमै रोपेँ पनि, तर फल्दै फलेन।’  

उनीजस्तै गौरीगंगा–९, शंकरपुरकी निर्मला पाध्यायले बहुगुणी–२ बाट धोका पाएको बताइन्। ‘साढे १२ कट्ठा जमिनमा बहुगुणी रोपेकी थिएँ,’ उनले भनिन्,‘धान त फल्यो, तर गेडा नै लागेन।’ यसपालि उत्पादनमा ३५ प्रतिशतले ह्रास आएको उनले बताइन्। ‘गाउँमा अधिकांशको बहुगुणी–२ ले फसल कम दिएको बताउँदै उनले थपिन्,‘राम्रै फल्छ भनेर बहुगुणी लगाए पनि यसपालि पनि धोका पाइयो।’ शंकरपुरकै भानबहादुर ठगुन्नाको दुई बिघा जमिनमा लगाएको बहुगुणी–२ ले अहिलेसम्म फसल दिएको छैन। ‘दुई बिघा जमिनमा बहुगुणी–२ रोपेको थिएँ, त्यसमध्ये पाँच कट्ठामा भने केही फल्यो, बाँकी गेडा नलागेरै धान सुकिसक्यो।’  

कृषि ज्ञान केन्द्र धनगढीका प्रमुख खगेन्द्र शर्माका अनुसार बहुगुणी–२ ढिला पाक्ने धान भए पनि अहिलेसम्म पाकिसक्नुपर्ने हो। एक सय ४० देखि एक सय ५० दिनमा पाक्ने बहुगुणी–२ भएको बताउँदै उनले भने,‘प्रायः लगाएको किसानको खेतमा धान पाकेको छ, तर कहीँ कतै माटो तथा मलले उत्पादनमा समस्या भएको हुनसक्छ।’  

तर किसानले वैशाख अन्तिम सातामा धानको ब्याड राखेर जेठ अन्तिम सातामै रोपाइँ गरेका थिए। जेठ अन्तिम सातामा रोपाइँ गरेका किसानको बाली असोज अन्तिम आइपुग्दासम्म पाक्नुपर्ने तथा फसल लाग्नुपर्ने भए पनि त्यो नभएको भन्दै किसान दुःखीत छन्। ‘हामीले वैशाख अन्तिम साता धानको ब्याड राखेदेखि असोज अन्तिमसम्म त एक सय ५० दिन भइसक्छ, तर अहिलेसम्म धानले बाला नै दिएको छैन,’ किसान जोशीले भने, ‘यसमा हामी ठगियौं।’  

पटक–पटक ठगिँदै किसान  

सरकारले उन्नत जातको बीउ सिफारिस गर्ने र नक्कली बीउ किसानको हातमा पर्दा फसलमा धोका पाएको यो पहिलोपटक भने होइन। यसअघि पनि सुदूरपश्चिममा किसानले धान खेतीमा पटक–पटक धोका खाँदै आएका छन्।

गरिमा धानको बीउ रोपेको ९० देखि ९५ दिनमा फूल फुल्ने, एक सय २० देखि एक सय २५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रतिहेक्टरमा ५८ देखि ६३ क्विन्टसम्म फसल दिने बताइए पनि गत वर्ष कैलाली, कञ्चनपुरका किसानले गरिमा धानबाट धोका खाएका थिए। गत वर्ष कैलाली र कञ्चनपुरको ६ सय ५३ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएका किसान नक्कली धानको बीउका कारण धोकामा परेका थिए। गत वर्ष सरकारलाई परीक्षणका लागि गरिमाको सक्कली बीउ दिएको भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएको निष्कर्ष कृषि मन्त्रालयले निकालेको थियो।  

यस्तै, २०६८ सालमा डोटीमा १२ सय ७२ रोपनी जमिनमा लगाएको राधा–४ र सावित्री धान बालीले फसल दिएको थिएन। सरकारले कृषिलाई प्राथमिकता भन्दै आएपनि उन्नत बीउ, पर्याप्त सिँचाइ, मलखाद र प्रविधिको अभावमा राम्रो उत्पादन गर्न नसकेका किसानमा सरकारले नै सिफारिस गरेको धानको बीउले फसल नदिँदा निराशा बढेको छ। ‘उन्नत बीउ, मलखाद तथा कृषि प्रविधि नहुँदा हामीले सोचेजस्तो उत्पादन गर्न सकिरहेका छैनौं,’ राजकुमार चौधरीले भने,‘अहिले आएर सरकारले सिफारिस गरेकै बहुगुणी–२ धानबाट धोका खाँदा झनै निराशा थपिएको छ।’ 

प्रकाशित: २ कार्तिक २०७७ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App