६ वैशाख २०८१ बिहीबार
अर्थ

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षण गर्‍यो

कोरोना भाइरसले प्रभाव पारेको समयमा पनि नेपालगन्जमा उत्साहजनक रुपमा उद्योग दर्ता भएका छन्। लकडाउनले अर्थतन्त्रमा असर गरिरहेका बेला स्थापना भएका उद्योगले बाँकेमा नयाँ उत्साह थपेको छ। 

लकडाउनले देशलाई आर्थिक भार पर्ने आर्थिक विज्ञहरुले अनुमान गरिरहेका बाँकेमा कृषि र पशुपालन पेसाका लागि धेरै फर्म दर्ता भएका छन्। पछिल्लो समय कृषि र पशुपालनका क्षेत्रमा काम गर्ने युवाको संख्या बढ्दो क्रममा छ। जसले अप्ठ्यारो समयमा व्यवसायका क्षेत्रमा नयाँ आसाका किरण छर्ने काम गरेको छ।  

लकडाउनको समयमा पनि थुप्रै युवामा आसा पलाएको संकेत गरिरहेको छ घरेलुमा दर्ताको भएका उद्योगको संख्याले ।  

घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा २०७६ चैतदेखि भदौसम्म दुई सय ७७ नयाँ उद्योग तथा व्यवसाय दर्ता भएको छन्। जसमा २०७७ साउन र भदौमा मात्रै एक सय ७६ नयाँ फर्म दर्ता भएका छन् भने गत चैतदेखि असारसम्म एक सय एक नयाँ फर्म दर्ता भएका छन्।  

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकृत काशीलाल अधिकारीका अनुसार २०७६ को अन्तिम चौमासिक अन्तर्गत चैत र असारमा मात्र उद्योग दर्ता भएका थिए।  

अधिकारी भन्छन्, ‘गत आर्थिक वर्ष चैतको पहिलो साता केही उद्योग दर्ताका भएका थिए। त्यसपछि लकडाउन भयो। लकडाउनका कारण बैशाख र जेठमा नयाँ फर्म दर्ता हुने कुरै भएन। असारमा भने लकडाउन खुलेका कारण नयाँ फर्म दर्ता भएका हुन्।’

गत आर्थिक वर्षमा घरेलुले एक हजार ४० नयाँ फर्म दर्ता गरेको थियो। घरेलुमा दर्ता हुने नयाँ फर्ममा धेरै जसो कृषि तथा पशुपालन सम्बन्धी उद्योग रहेको उद्योग विकास सहजकर्ता प्रिया खड्काले बताइन्।  

खड्का अनुसार घरेलुमा कृषि तथा पशुपालन सम्बन्धी उद्योग धेरै दर्ता भएका छन्। जसमा कुखुरा पालान, बाख्रा पालन, पशुपन्छी पालन रहेका छन्। साथै राइस मिल तथा होटेल व्यवसाय पनि दर्ता भएका छन्।

गत आर्थिक वर्षमा घरेलुमा सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योगका तीन सय ९९ फर्म दर्ता भएका छन्। पर्यटन उद्योगका दुई सय पाँच, सेवामूलक उद्योग एक सय ९९, उत्पादनमूलक उद्योगका एक सय ९० र निर्माण उद्योगका ४७ फर्म दर्ता भएका थिए। गत आर्थिक वर्षको तेस्रो चौमासिकमा पनि सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योगका ३८, उत्पादनमूलक उद्योगका २५, सेवामूलक उद्योगका १९, पर्यटन उद्योग १५ र निर्माण उद्योग चार फर्म दर्ता भएका छन्।

यस आर्थिक वर्षको दुई महिनामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग नै दर्ता भएका छन्। जसको संख्या ८३ रहेको छ। उत्पादनमूलक उद्योगका ३५, सेवामूलक उद्योगका ३९ र पर्यटन उद्योगका १९ नयाँ फर्म दर्ता भएका छन्।  

गत आर्थिक वर्षमा एक हजार ४० नयाँ फर्म दर्ता भएको घरेलुमा यस वर्ष भने एक हजार पाँच सय जति नयाँ फर्म दर्ता हुन सक्ने सूचना अधिकारी काशीलालले बताए। यस वर्ष प्रदेश सरकारले नयाँ फर्म दर्ताका लागि एक सय रुपैयाँ शुल्क तोकेको हुँदा धेरै नयाँ फर्म दर्ता हुने अधिकारीले बताए।  

यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा पनि गत आर्थिक वर्ष २०७६ को तेस्रो चौमासिकमा ७६ नयाँ फर्म दर्ता भएका छन्। जसमा गत चैतमा ४४ नयाँ फर्म दर्ता भएका थिए भने गत असारमा ३२ नयाँ फर्म दर्ता भएको कार्यालय प्रमुुख कृष्णप्रसाद पौड्यालले बताए।  

गत आर्थिक वर्षमा वाणिज्यमा व्यक्तिगततर्फ दुई हजार ३३ नयाँ फर्म दर्ता भएका थिए भने साझेदारीतर्फ २० नयाँ फर्म दर्ता भएका थिए।  

लकडाउनका समयमा स्थापनामा भएका उद्योगको संख्याले व्यवसायका क्षेत्रमा नयाँ आसा पलाएको बताउँछन्, नेपालगन्जका व्यवसायी तिरथ ठाकुर। उनले भने, ‘लकडाउनपछि समयमा व्यवसायीका लागि निकै कष्टपुर्ण भए। धेरैले आफ्नो पसल र काम छोडेर बेरोजगार हुनु परेको छ। तर कृषि र पशुपालनका क्षेत्रमा धेरै युवाले काम गर्न चासो देखाएका छन्। यो हाम्रा लागि निकै राम्रो पक्ष हो। यसले देशलाई आर्थिक रुपमा भविष्यमा बलियो बनाउन सहयोग गर्नेछ।’

प्रकाशित: २४ आश्विन २०७७ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App