१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

मिटर रिडरबाट ठगिए मुसीकोटवासी, ७४ रुपैयाँ तिर्नुपर्नेमा १२ सय असुली

प्रतिकात्मक तस्वीर

गुल्मीको मुसिकोट नगरपालिका–१ का ६४ वर्षीय अमरबहादुर थापाले गत जेठ महिनामा दुई महिनाको बिजुलीको बिल एक हजार २०० बुझाए। उनको घरको मिटर रिडिङको लागि गत भदौको तेस्रो साता सोमबहादुर राना पुगेका थिए। नाताले उनीहरु मामा भान्जा हुन्। भान्जाले मामाको बिजुलीको बिलको रसिदको पछाडि यही असोज ६ गतेसम्म रु ६६४ बुझाउनुपर्ने जनाउँदै रसिद थमाए। रसिदको अगाडि भने प्रत्येक महिना रु ३०/३० तिर्नुपर्ने उल्लेख गरिएको थियो।  विभिन्न समयको जरिवाना जनाउँदै रानाले उक्त रकम बुझाउनुपर्ने उल्लेख गरेको बताइएको छ।

 त्यसलगत्तै थापा नेपाल विद्युत् प्राधिकरण शाखामा पुगेर आफ्नो मिटरबाट बुझाएको रकम हेरे। रकम हेर्दा उनी छक्क परे। गत जेठमा रु एक हजार २०० बुझाएमध्ये जम्मा रु ७४ मात्रै रानाले प्राधिकरणमा बुझाएका रहेछन्। बाँकी रु एक हजार १२६ रानाले आफूसँगबाट बढी असुली गरेको उनले ठहर गरे। पछिल्लोपटक पनि रु ६० आएकामा रु ६०४ बढी असुल्न खोजेको थापाले आरोप लगाए। उनले यसपटक मात्र आफूले हेरेको तर २०७० देखि यसैगरी रकम बुझाएको बताए। “यसभन्दा अगाडि पनि बिल नहेरीकनै रकम बुझायौँ”, उनले भने, “विद्युत् प्राधिकरणको नाममा मिटररिडर रानाले थुप्रै रकम ठगी गरेका रहेछन्।”

अर्का स्थानीय गोपाल गिरीले पनि मिटररिडर रानाले विगत सात वर्षदेखि बिजुलीको रकम उठाउँदै आएको बताए। सोझा गाउँलेहरुबाट सकेसम्म रकम असुली गरी रानाले विद्युत् प्राधिकरण र मिटररिडर पदको समेत दुरुपयोग गरेको आरोप लगाए। रानाले सधैँभरि जरिवाना भन्दै रकम असुली गर्ने गरेको उनको भनाइ छ। बिजुलीको रकम घटेर आए पनि रानाले सधैँभरि अधिकतम रकम भन्दै असुली गर्दै आएको गिरीले गुनासो गरे।

गत वैशाख महिनाको स्थानीय पूर्णबहादुर थापाको मिटरको बिलमा तिर्नुपर्ने रकम रु ६० थियो तर बिलको पछाडि भने रु २०० लेखेर उक्त रकम रानाले नै बुझिलिए। उनले प्रधिकरणमा हेर्दा रानाले जम्मा रु ३१  मात्रै भुक्तानी गरेको जानकारी पाए। गत माघ महिनामा नेत्रबहादुर रानासँगबाट मिटररिडरले रु २४० उठाए। बिजुलीको बिलमा रु १८० मात्र आएको उल्लेख थियो भने प्राधिकरणमा जम्मा रु २९ मात्रै रानाले बुझाएका थिए। रानाबाट गाउँका १२५ घरधुरी ठगिएको थापाले बताए।

 विसं २०७० मा स्थानीय उपभोक्ता समितिले रानालाई मिटररिडरको काम गर्ने जिम्मेवारी दिएको हो। बिग्रेको बिजुली बनाउने गरी बिलमा उल्लेख भएभन्दा प्रतिपरिवार रु २०  दिनेगरी सम्झौता भएको थियो। यही अवस्थामा रानाले बिलमा दुईथरि रकम उल्लेख गर्दै हालसम्म करिब रु १० लाखभन्दा बढी रकम गाउँलेसँगबाट असुली गरेको वडासदस्य गङ्गा श्रेष्ठले बताए।  

रानाको ठगीका बारेमा गाउँलेले थाहा पाएपछि गत चैत १० गते उपभोक्ता समितिको बैठकले उनलाई हटाउने निर्णय ग¥यो। समितिले उक्त निर्णय विद्युत् प्राधिकरणमा पु-याए पनि प्राधिकरणले कुरा सुनेन। उल्टै रानालाई मिटररिडरको नियुक्ति दिएको वडासदस्य श्रेष्ठको भनाइ छ। समितिले हटाएपछि पनि रानाले विभिन्न बहानामा स्थानीय उपभोक्तासँग बढी रकम असुल्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन्।

 रानाले रकम असुल्न नछाडेपछि स्थानीयवासी ७० जनाले हस्ताक्षर गरेर स्थानीयको रकम फिर्ताका लागि विद्युत् प्राधिकरणमा गत भदौ २५ गते निवेदन बुझाएका थिए। उक्त निवेदनको अझैसम्म पनि सुनुवाइ नभएको वडासदस्य श्रेष्ठले गुनासो गरे। उनले रानाका विरुद्ध निवेदन दिँदा अगुवाइ गरेवापत उल्टै आफूलाई विद्युत् चोरी गरेको भनी चरित्रहत्या गर्न खोजेको बताए।

ठगी गरेको आरोप लागेका  रानाले आरोप पुष्टि भए कारवाही भोग्न तयार भएको प्रतिक्रिया दिए। पहिले–पहिले तीन महिनाको एकपटकमा मिटररिडर गर्दा रु नौ हजार हुने भए पनि पछिल्लो समयमा त्यो आम्दानी नभएपछि रकम लिएको उनको भनाइ छ।  

प्राधिकरण जिल्ला शाखा गुल्मीका इलेक्ट्रिकल सुपरभाइजर दीपेन्द्र अधिकारीले मिटररिडरलाई रकम उठाउने अधिकार नभएको प्रतिक्रिया दिए। रिडर र स्थानीयवासीको समझदारीमा लेनदेन भएको भए कार्यालय त्यसमा जानकार नहुने उनले बताए। विद्युत्को कर्मचारी भएर ठगी गरेमा कारवाही हुनुपर्ने जनाउँदै अहिले कार्यालय प्रमुख नभएको र प्रमुख आएपछि थप निर्णय गर्ने उनले जानकारी दिए।  मिटररिडिङ गरेवापत व्यक्तिले प्रतिमिटर रु ११ पाउने र त्योभन्दा बढी रकम लिन नहुने उनको भनाइ छ। रासस

प्रकाशित: २४ आश्विन २०७७ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App