७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्राउन्ड ह्यान्डलिङ: हिमालयको अनुमति स्थगन

निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफ्ना जहाज त्रिभुवन विमानस्थलमा आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न दिएको निर्णयको चर्को विरोध भएपछि सरकार पछाडि हटेको छ । असार ४ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको थियो । हिमालय एयरलाइन्ससँग प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रिय’ व्यावसायिक घराना यती समूह जोडिएको छ । प्राधिकरणले हिमालयलाई मात्र उक्त सुविधा दिएको थियो । यसको चर्को आलोचना भएपछि अनुमति स्थगन गर्ने निर्णय भएको हो ।

पर्यटनमन्त्री योगेश भट्टराई, सचिव केदारबहादुर अधिकारी, प्राधिकरणका महानिर्देशक राजन पोखरेलबीच आइतबार भएको छलफलपछि हिमालयलाई दिएकोे सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति तत्कालका लागि स्थगित गर्ने निर्णय भएको हो । पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति हाललाई स्थगित गर्ने र थप अध्ययनपछि मात्र निर्णय गर्न प्राधिकरणलाई निर्देशन भएको बताए ।  

‘अहिले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङका लागि सैद्धान्तिक सहमति मात्र दिएको हो,’ भट्टराईले भने, ‘थप अध्ययनपछि कानुनबमोजिम मापदण्ड पूरा भएको खण्डमा अन्तिम अनुमति दिन सकिने कुरा भएको छ । त्यसैले यो विषयमा थप अध्यनपछि मात्र निर्णय लिन प्राधिकरणलाई निर्देशन दिइएको छ ।’

लामो समयदेखि विमानस्थलमा स्वदेशी तथा विदेशी हवाई कम्पनीका सबै जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगम (एनएसी) ले गर्दै आएको थियो । एयर इन्डिया र थाई एयरले भने पहिलेदेखि सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएका छन् । पछिल्लो समय एनएसी यही ग्राउन्ड ह्यान्डलिङको आम्दानीबाट चलेको छ ।  

प्रवक्ता भट्टराईले आइतबारको छलफलपछि एयर इन्डिया र थाई एयरवेजलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमतिको पनि अध्ययन गर्न प्राधिकरणलाई भनिएको बताए । वायुयानहरूको भूमिस्थ प्रबन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार नभए पहिला जारी भएको सेल्फ गाउन्ड ह्यान्डलिङको अनुमति खारेज हुने जानकारी उनले दिए ।

हिमालय एयरलाइन्सलाई दिएको ग्राउन्ड ह्यान्डलिङको अनुमति रोक्नभन्दा पनि मापदण्डको विषयमा अध्ययन गर्न भनिएकाले त्यही रूपमा बुझ्न उनले अनुरोध गरे । हिमालयलाई अनुचित रूपमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएर एनएसी डुबाउने खेल भएको आरोप एनएसी कर्मचारी युनियनले लगाउँदै आएको छ ।  

मिलेमतोमा सरकारले हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको भन्दै एनएसी कर्मचारी युनियनले आन्दोलन थाल्ने घोषणा गरेपछि बाध्य भएर मन्त्री भट्टराईले निर्णय स्थगन गराएको मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार अहिले पनि अनुमति रद्द नगरी अध्ययन गर्ने भनेर अल्झाउने काम भएको छ । पछि अध्ययनलाई देखाएर अनुमति दिइनेछ ।  

प्राधिकरणले आफ्नो नियमावली र निर्देशिका परिवर्तन गरी एक सातामा कम्तीमा ३५ पटक नियमित उडान सञ्चालन गर्न अनुमति पाएका वायुसेवा वा वायुयान सञ्चालकले अन्तर्राष्ट्रिय उडानका वायुयानको सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्न सक्ने व्यवस्था थपेको छ । यो व्यवस्थाले एनएसीबाहेक अन्य विमान कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङको सुविधा दिने बाटो खुला गरेको हो । यही व्यवस्थामा टेकेर प्राधिकरणले निजी विमान कम्पनी हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा दिएको थियो ।  

प्राधिकरणले पहिले हिमालयलाई सातामा ३५ भन्दा बढी उडान गर्न लगाएर ग्राउन्ड ह्यान्डलिङको अनुमति दिएको प्राधिकरणका कर्मचारीको दाबी छ । ती कर्मचारीका अनुसार यसबाट नेपाल एयरलाइन्सको दैनिक साढे ३ देखि ४ लाख रुपैयाँ आम्दानी गुम्छ । हिमालयले ल्यान्डिङ पार्किङको १० करोड ६४यौता सरकारलाई बुझाउन बाँकी छ । अर्कोतिर प्राधिकरणले हिमालयलाई ५ करोड डलरको तेस्रो पक्ष बिमाको बिमालेखपछि पेस गर्ने सर्तमा अनुमति दिएको थियो । हिमालयलाई उधारो विशेष सुविधा दिएकोप्रति प्राधिकरणकै कर्मचारी असन्तुष्ट छन् । यति समूहको समेत लगानी भएको हिमालय एयरलाइन्सका सञ्चालक विजयबहादुर श्रेष्ठ हुन् । सरकारले श्रेष्ठलाई प्रबल जनसेवाश्री (चौथो) पदकबाट विभूषित गर्ने घोषणा गरेको छ।

प्रकाशित: १२ आश्विन २०७७ ०२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App