२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरामा प्याजको मूल्य तेब्बर

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीले प्याज स्टक राखेर कृत्रिम अभाव सिर्जना गरी तेब्बरसम्म मूल्य  लिएका छन्।  बिहीबार प्रदेश बजार अनुगमन समितिले अनुगमन गर्दा प्याज अभाव देखाउन होलसेल व्यापारीले पसल बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए। ‘अनुगमनका क्रममा अधिकांश प्याज पसल बन्द देखिए,’ उनले भने, ‘प्याज अभाव देखाएर दिन दुई गुणा, रात चौगुणा मूल्य वृद्धि गरेको पाइयो।’

व्यापारीले किनेको मूल्यभन्दा झण्डै तेब्बरमा प्याज बेचेको पाइएको अध्यक्ष कोइरालाले बताए। त्यसरी बेच्ने होलसेल पसल बन्द गरिएको उनले जानकारी दिए। आफूखुसी बढी मूल्य लिएर प्याज बेच्ने पोखराको प्रदर्शनी केन्द्रस्थित कृषि उपज बजारको सटर नं ५१ मा रहेको सन्दीप श्री ट्रेडर्समा सिल गरिएको उनले बताए। सिल गरिएको सो ट्रेडर्सको गोदाममा पाँच सय बोरा प्याज रहेको कोइरालाले बताए।

उक्त पसलले ४० रूपैयाँ प्रतिकेजीमा किनेको प्याज १११ रूपैयाँमा बिक्री गरेको पाइएपछि सिल गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिए।  

प्याज स्टक हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्य बन्द गरिएका पसल खोल्न पनि अनुगमन समितिले भनेको छ। ‘पोखराको सृजनाचोक, बगालेटोल, सिमलचौर लगायतका अधिकांश प्याजका होलसेल पसलहरू बन्द थिए,’ उनले भने, ‘त्यसैले अन्य पसलमा अनुगमन गर्न पाइएन, हामी दैनिक रूपमा अनुगमन गरेर तिनीहरूलाई पनि कारवाहीको  दायरामा ल्याउँछौं।’  

लहानका तीन गोेदाममा सिल

लहान, असोज १ (नागरिक)– भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएसँगै प्याजको कृत्रिम अभाव र कालोबजारी सुरु भएको छ। भारतले भदौ २९ देखि प्याज निर्यात रोकेलगत्तै कृत्रिम अभाव गरेर कालोबजारी सुरु गरेको सूचनापछि सिरहाका प्रशासनले तीनवटा गोदाम सिल गरेर सञ्चालकलाई पक्राउ गरेको छ।  

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका तीनवटा प्याज गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा र जिल्ला प्रहरी कार्यालय सिरहाले व्यपार संघका प्रतिनिधिसहित अनुगमन गर्दा बिक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित गोदाम सञ्चालकलाई पक्राउ  गरेको हो।  

अनुगमन टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ का ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गंगा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजियारले बताए। उनीहरूलाई निर्धारित मूल्यभन्दा बढीमा प्याज बिक्री गरेको पाइएपछि पक्राउ गरिएको पंजियारले बताए। स्थानीयका अनुसार तीन दिनमा प्याजको मूल्य ४५ रूपैयाँबाट बढेर एक सय पुगेको छ।

प्रकाशित: २ आश्विन २०७७ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App