८ वैशाख २०८१ शनिबार
अर्थ

किसान र ह्याचरी भन्छन्: हामी मारमा प-र्यौं

लामो समयको लकडाउन त्यसमाथि बजारको अनिश्चितताका कारण किसानले फार्ममा कुखुरा राख्न छाडेपछि फार्म खाली थिए । किसानले कुखुरा पाल्न छाडेपछि बजारको सामान्य माग पनि पूरा नहुँदा ठूला व्यवसायी र ह्याचरी व्यवसायी आफैं अगाडि सरेर चल्ला राखे । राम्रै मूल्य पनि पाए । राष्ट्रिय कुखुरापालक महासंघले त्यो बेला जिउँदो कुखुरा किलोको दुई सय ५० रूपैयाँ मूल्य तोके पनि फार्ममै जिउँदो कुखुरालाई तीन सयभन्दा बढी मूल्य पाउने अवस्था थियो ।

कुखुराको मूल्य अकासिँदा पनि कुखुरापालक साना किसानले फाइदा उठाउन पाएनन् । राष्ट्रिय कुखुरापालक महासंघका महासचिव बिष्णु खड्का त्यो समय सीमित व्यक्तिले फाइदा उठाएको बताउँछन् । उनी भन्छन्, ‘त्यो बेला क्षमताको १० प्रतिशतमात्र उत्पादन भएको थियो । मासुबाट कोरोना सर्ने हल्लाले मासु कम बिक्री भयो । किसानले जोखिम उठाउन सकेनन् ।’

पछिल्ला केही दिनमा अस्वाभाविक रूपमा ज्युँदो कुखुराको मूल्य घटेको छ । महासंघले उपत्यकामा ज्युँदो कुखुरको मूल्य किलोको एक सय ७० रूपैयाँ तोकेको छ । तर किसानले एक सय ४० देखि एक सय ५० सम्ममा बिक्री गरेका छन् ।  

कुखुरापालक किसान नविन कार्की बजारमा कुखुराको मूल्य उच्च हुँदा किसानसँग कुखुरा नहुने र अहिले किसानसँग कुखुरा हुँदा घाटामा बिक्री गर्न बाध्य भएको बताउँछन् ।  

‘बजारमा कुखुराको मासु सस्तिनु भनेकै हामी घाटामा पर्न सुरु हुुनु हो । संघ मूल्य तोक्छ, कोल्ड स्टोरले त्यही मूल्यमा कुखुरा उठाउँछ,’ उनी भन्छन्, ‘त्यही मूल्यमा पनि १० रूपैयाँ कमिसन कोल्ड स्टोरलाई दिनुपर्छ । गाडी भाडा लगायत खर्च किसान आफैं बेहोर्नुपर्छ ।’  

अहिले बेच्ने बेला भएको कुखुराका चल्ला किसानले ७० देखि ७५ रूपैयाँ गोटामा खरिद गरेका थिए ।  

किसान कार्की अहिले आफ्नो पारिश्रमिक बाहेक ३० प्रतिशत घाटामा बिक्री गर्नुपरेको बताउँछन् । उनी भन्छन्, ‘चल्ला महँगोमा खरिद गरियो । दाना बोराकै ३२ सय पुगेको छ । त्यसमाथि औषधी र ढुवानीको खर्च उत्तिकै महँगो छ ।  

अर्का किसान कर्ण बोगटी कोल्ड स्टोरले कुखुरा अभावको बेलामा महिना दिनमै कुखुरा उठाउने र बिक्री कम भएका बेला ७० दिनसम्म पनि नउठाउने गरेको बताउँछन् । ‘अहिले किसानसँग भएका कुखुरा ५० देखि ५५ दिनका छन् । ४५ दिनभन्दा माथि सबै किसानले घाटा बेहोर्ने हो । अहिले जाम भएको छ । कुखुरा उठाउने भन्ने कसैलाई चासो छैन ।’ उनी भन्छन्, ‘दाना र चल्ला महँगो छ । हजार कुखुरामा ५० हजारसम्म औषधीलाई तिर्नुपर्छ । यसले किसानलाई विस्थापित बनाउने अवस्थामा पु¥याएको छ ।’

राष्ट्रिय कुखुरापालक महासंघका महासचिव खड्का यसपटक किसान नराम्ररी मारमा परेको बताउँछन् । ‘श्राद्ध सुरु भएपछि कुखुराको माग ५० प्रतिशतले घट्छ । उपत्यकाका कुखुराबाहिर जाने अवस्था छैन । उल्टो बाहिरबाट भित्रिएको छ,’ उनी भन्छन्, ‘यसपटक  

किसानले दसैंमा पनि दुई सयभन्दा बढी मूल्य पाउने सम्भावना छैन ।’ अहिले उपत्यकामा चितवन लगायत तराईका जिल्लाबाट समेत सस्तो मूल्यमा चल्ला भित्रिइरहेको छ । खड्का चितवनमा प्रतिकिलो ९५ रूपैयाँदेखि ११० सम्ममा कुखुरा उठिरहेको कारण चितवनका कुखुरासँग उपत्यकाका किसानले प्रतिस्पर्धा गर्नुपरेको बताउँछन् ।  

बजारमा कुखुराको मूल्य घटेसँगै ह्याचरीमा पनि असर देखिन थालेको छ । सोमबारसम्म प्रतिगोटा ३० रूपैयाँमा बेचिरहेका ह्याचरी उत्पादकले मंगलबार देखी ४० रूपैयाँ पु-याएका छन् । ह्याचरी उद्योग संघका बलराम किसी मूल्य बढाएसँगै उत्पादन समेत घटाउने योजना बनाएको बताउँछन् । उनी भन्छन्, ‘कुखुराको मूल्य यो अवस्थामा आउनु भनेको ह्याचारी घाटामा पर्नु हो । किसानले मूल्य पाए मात्रै ह्याचरी, दाना र औषधीको पैसा आउने हो । त्यो अवस्था नभएपछि हामी पनि घाटामा जान्छौं ।’  

उनले गत महिनासम्म मागभन्दा बढी चल्ला उत्पादन गरेको भए पनि अहिले २५ प्रतिशतसम्म चल्ला उत्पादन घटाउने योजनामा व्यवसायी रहेको बताए । ‘अहिले चल्लाको लागत मूल्य ५६ रूपैयाँ छ, तर बेच्दा ४० मा बेचे पनि ह्याचरीले पाउने ३० रूपैयाँ मात्र हो । घाटामा व्यवसाय गरेर कति दिन चलिन्छ ?’ किसी भन्छन्, ‘३० प्रतिशत ह्याचरी अहिले नै विस्थापित भइसके । बाँकी पनि चल्नका लागि चलेका छन् । ती पनि बैंकले हात थाम्दासम्म मात्र चल्ने हुन् ।’  

उनले सामान्य अवस्थामा हप्तामा ३० लाख चल्ला उत्पादन गरिँदै आएकोमा अहिले २० लाखको पनि बजार नभएको बताउँछन् । उनका अनुसार मुलुकभर तीन सय ह्याचरीले चल्ला उत्पादन गर्दै आएका छन् ।

किसान कर्ण बोगटी ह्याचरीले किसानको घाटा बेहोर्ने कुरासँग सहमत छैनन् । उनी भन्छन्, ‘किसानबाट अहिले नलिए पनि पछि चल्लाको मूल्य बढाएर भए पनि पैसा असुल्छन् । चल्लाको मूल्य ३० रूपैयाँ हुँदा ८० तिर्न बाध्य हुने किसान पनि हामी नै हौं ।’

प्रकाशित: १७ भाद्र २०७७ ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App