१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशीको चलखेलमा नेपालीलाई महँगो हवाई भाडा

सरकारले आन्तरिक हवाई उडानमा लागू भएको डलर भाडा हटाउन निजी विमान कम्पनीलाई पेलेरै अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेश थापा संयोजक रहेको तीन महिनाअघि गठित समितिले विदेशीले डलरमा तिर्दे आएको भाडा नेपाली रूपैयाँमै तिर्न मिल्ने बनाउन निजी क्षेत्रलाई दबाब दिएको थियो ।

भाडा पुनरावलोकन समितिको पहिलो बैठकमै डलर फेयर हटाउने बारे छलफल भएपछि निजी विमान कम्पनीहरूको छाता संगठन हवाई सेवा सञ्चालक संघका तर्फबाट सहभागी उपाध्यक्ष अनोज रिमाल र महासचिव मनोज कार्कीले डलर फेयर हटाउन नसकिने कारणसहित बैठकलाई लिखित जानकारी दिएर बाहिरिएका थिए । त्यसपछिका कुनै बैठकमा उनीहरू सहभागी नभए पनि सरकारले स्वदेशी र विदेशीलाई समान भाडा लगाउने तयारी गरिरहेको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छलफलबाट भाडा समायोजन हुने बताएपछि वायुसेवा सञ्चालक संघले निजी विमान कम्पनीलाई डुबाउन खोजेको आरोप लगाएको छ ।  

यसअघि विदेशीले दुई सय डलरसम्म भाडा तिरेको टिकट नेपालीले पाँच हजारदेखि १२ हजार रूपैयाँमा टिकट पाउने गरेका थिए । तर अब डलर फेयर हटाइए नेपाली र विदेशीलाई समान भाडा कायम गरिँदा नेपालीले महँगो टिकट शुल्क तिर्नुपर्छ ।

कोभिड १९ अघि नेपालको पर्यटन क्षेत्र ६ महिनामात्रै चल्ने गरेको थियो । अब आन्तरिकतर्फका उडानमा विदेशी यात्रु नभएको समयमा पनि नेपालीले सस्तो प्रतिस्पर्धी भाडामा उड्न पाउने छैनन् । यसअघि अफसिजनमा निजी विमान कम्पनीहरूले खालि जहाज उडाउँदा सस्तोमा टिकट बेच्नुुपर्ने अवस्था आउने गरेको थियो ।

योगश भट्टराई पर्यटनमन्त्री मन्त्री नियुक्त भएर विदेशी राजदूतसँग भेटेपछि उनीहरूकै स्वार्थमा यो विषय उठ्दै आएको छ ।

डलर फेयर हटाउन दबाब दिन गत वर्षदेखि नै दबाब दिन थालिएको वायुसेवा संघले जनाएको छ । भट्टराई पर्यटनमन्त्री मन्त्रीमा नियुक्त भएर विदेशी राजदूतसँग भेटेपछि उक्त विषय उठ्दै आएको संघसम्बद्ध स्रोतले जनाएको छ । डलर फेयर हटाउनेबारे पर्यटनमन्त्रीले जर्मनी लगायत युरोपेली राष्ट्रका राजदूतसँगको पहिलो भेटमै छलफल गरेको स्रोतको दाबी छ । २०२८ सालयता लागू रहेको डलर फेयर हटाउने विषयमा त्यही बेला मन्त्री भट्टराईले प्रतिबद्धता जनाएको स्रोतले बताएको छ ।

२०२८ सालमा नेपाल वायुसेवा निगमबाहेक नेपालमा निजी विमान कम्पनी नरहेको र अहिले आन्तरिकतर्फ निगम नरहेको समयमा निजी विमान कम्पनी डुबाउन ठूलै चलखेल भइरहेको भन्दै संघले आपत्ति जनाएको छ ।

हाल समितिले भरतपुर, जोमसोम, पोखरा, लुक्ला र तुम्लिङटार बाहेकका विमानस्थलमा उडान भर्दा डलर फेयर लागू हुने सिफारिस गरे पनि सरकारले कुनै निर्णय गरिसकेको छैन ।  

सरकारले उक्त निर्णय लागू गरे आन्तरिकतर्फका उडान अझ भद्रगोल हुने र नेपालीले सस्तोमा टिकट नपाउने पक्का हुनेछ । अहिलेसम्म विदेशीले बढी पैसा तिरेकै कारण नेपालीले सस्तोमा उड्न पाएका छन् ।

‘केही प्रभावशाली विदेशीको चासोका कारण नेपालका वायुसेवा कम्पनीले विदेशीसँग लिने हवाई भाडा नेपाली रूपैयाँ नै कामय गराउने तयारी सरकारले गरेकोे छ,’ नागरिकसँगको कुराकानीमा संघ एकजना पदाधिकारीले भने, ‘शक्ति केन्द्रमा पहुँच भएका केही विदेशीको सुझावकै आधारमा विदेशीलाई नेपाली सरह नै टिकट मूल्य निर्धारण गर्न खोजिनु नेपालको हवाई क्षेत्रमा दीर्घकालीन असर ल्याउनु हो ।’

विदेशीले डलरमा पारिश्रमिक बुझ्ने र नेपालीको भन्दा उनीहरूकोे आम्दानी बढी हुने हुँदा उनीहरूसँग बढी भाडा लिनु नाजायज नहुने संघको भनाइ छ । नेपालीले महिनाभर काम गर्दा १३ हजार रूपैयाँ पारिश्रमिक पाउँछ । विदेशीले प्रतिघन्टा सय डलरको हिसाबले पारिश्रमिक पाउने हुँदा समान रूपमा दाँज्न नहुने संघको तर्क छ ।  

‘नेपालीको प्रतिमहिना पारिश्रमिक ९० डलर हाराहारी हुँदा विदेशीले एक घन्टामा नै नेपालीको भन्दा बढी कमाइ गर्छन् । कसरी एकै प्रकारको मूल्य निधारण गर्न सकिन्छ ?’ संघका प्रवक्ता योगराज कँडेल शर्माको प्रश्न छ ।

टिकट मूल्य समायोजन हुँदैमा पर्यटक आगमन बढ्ने आधार नभएको भन्दै उनले विदेशीहरू नेपाली जहाज चढ्नकै लागि मात्र नेपाल नआउने बताए । तसर्थ एउटै टिकट दर कायम गरे निजी विमान कम्पनीको लागत नै नउठ्ने उनको तर्क छ ।

सिजनमा काठमाडौंबाट पोखरा जाने बसमा पनि फरक–फरक भाडा हुने र जहाजमा पनि सिजन अनुसार टिकटको मूल्य निधारण हुँदै आए पनि सरकार निर्णयसम्म पुगे अब कसैले किन महँगोमा टिकट बेचेको भन्न पाउने ठाउँ नरहने उनको भनाइ छ ।  

पर्यटन व्यवसायीले समेत सरकारलाई उक्त निणर्यबाट पछि हट्न सुझाव दिएका छन् । पोखरा जाने पर्यटक बस, बस, माइक्रो बसको टिकट मूल्यमा पनि विदेशी र नेपालीलाई फरक टिकट दर हुने भन्दै व्यवसायीले जहाजमा सिटको कमी हुँदै जाँदा टिकटको मूल्य बढ्दै र खालि हुँदा इन्धनको पैसा उठाउनसमेत विमान कम्पनीलाई अप्ठेरो पर्दा व्यवसायीलाई समेत उक्त असर पर्ने तर्क गरे ।  

नेपालीको पुँजीगत आम्दानी कम रहेको अवस्थामा र आयातमा निर्भर रहेको बेला सरकारले सोचेर निर्णय गर्नुपर्नेमा विदेशी चासोको भरमा मूल्य समायोजनको पहल गर्नु गलत रहेको व्यवसायीको धारणा छ ।

संसारभर नै विदेशीलाई फरक हवाई भाडा लाग्ने गरेको अवस्थामा नेपालमा भने भारतीय र नेपालीलाई एकै प्रकारको भाडा कायम छ । अन्य मुलुकका नागरिकलाई छुट्टै भाडा दर छ । 

प्रकाशित: १२ भाद्र २०७७ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App