सरकारले चालु आर्थिक वर्षभित्रै कर्णाली करिडोर अन्तर्गतको १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने भएको छ । उत्तर–दक्षिण (कर्णाली करिडोर) लोकमार्ग अन्तर्गत खुलालु–सिमिकोट (हुम्ला) खण्डमा करिब १९६ किलोमिटर ट्र्याकमध्ये चालु आवमा ३२ किलोमिटर खन्ने लक्ष्य छ । कर्णाली करिडोर, हिल्सा–सिमिकोट सडक योजना प्रमुख शशांक मिश्रले चालु आर्थिक वर्षभित्र कर्णाली करिडोरको ट्र्याक खन्ने काम पूरा हुने बताए । ‘चालु आवभित्रै करिडोरको सम्पूर्ण ट्र्याक खन्ने लक्ष्यसहित काम भइरहेको छ,’ उनले भने, ‘सडक विभागले साढे १६ किलोमिटर र नेपाली सेनाले करिब १६ किलोमिटरको ट्र्याक खन्ने लक्ष्य राखेर धमाधम काम भइरहेको छ ।’
सडक विभाग अन्तर्गत १४५ किलोमिटर ट्र्याक खन्ने जिम्मेवारी तोकिएको थियो, जसमा हिल्सा सिमिकोट खण्ड ९५ किलोमिटर ट्र्याक खुलिसकेको छ । सिमिकोट–सलिसल्ला खण्डको ५० किलोमिटरमध्ये अब १६ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग मातहतको समष्टिगत भौतिक प्रगति साढे २२ प्रतिशत र वित्तीय प्रगति २२.१० प्रतिशत रहेको छ । यो आयोजना आर्थिक वर्ष ०६५/६६ मा सुरु भई आर्थिक वर्ष ०७०/७१ मा सम्पन्न हुने लक्ष्य थियो । समयमै निर्माण सम्पन्न नभएपछि संशोधित कार्यतालिका बमोजिम आव ०७९/८० मा सकिनेछ ।
आयोजनाको कुल लागत चार अर्ब १० करोड रूपैयाँ छ । आयोजनाको खुलालु–लैफु–सिमिकोट खण्डमा हालसम्म १०६ किलोमिटर ट्र्याक निर्माण भइसकेको छ । चारवटा बेली ब्रिज निर्माण सम्पन्न भएको छ । जितेगडादेखि लेब्डेसम्म ७६ किलोमिटर सडकमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ ।
कोसी करिडोरको १४ किलोमिटर ट्र्याक खन्न बाँकी
राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तर–दक्षिण (कोसी) लोकमार्गको हालसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत छ । १६२ किलोमिटरमध्ये १४८ किलोमिटर ट्र्याक खन्ने काम सम्पन्न भइसकेको छ । बाँकी १४ किलोमिटरको ट्रयाक खोल्ने कार्य नेपाली सेनाले गरिरहेको छ । ट्र्याक खनेको १४८ किलोमिटरमध्ये ६८ किलोमिटरमा ग्राभेल भइसकेको छ । आयोजनाको हालसम्म तीन अर्ब चार करोड रूपैयाँ अर्थात १८.७६ प्रतिशत वित्तीय प्रगति भएको छ ।
सरकारले उत्तर–दक्षिण कोसी लोकमार्ग आर्थिक वर्ष ०६५/६६ मा निर्माण सुरु गरेको थियो । यो आयोजनाले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांकासम्म १६२ किलोमिटर सडक निर्माण एंव स्तरोनन्ति गर्ने लक्ष्य लिएको छ ।
आयोजना सम्पन्न गर्न १६ अर्ब २० करोड रूपैयाँ खर्च हुने अनुमान छ । संखुवासभाको खाँदवारीस्थित कोसी करिडोर खाँदवारी–किमाथांका सडक योजनाका कायममुकायम योजना प्रमुख गौतमकुमार श्रेष्ठले आयोजना सुरु गर्दा ट्र्याक खन्ने मात्रै योजना भए पनि अहिले कालोपत्रे गर्नेतर्फ अगाडि बढेको बताए ।
‘आयोजना सुरु गर्दा ट्र्याक खन्ने मात्रै लक्ष्य थियो,’ उनले भने, ‘अहिले सरकारले दुई लेनको पक्की सडक बनाउने योजना अघि सारेको छ ।’ कायमुकायम योजना प्रमुख श्रेष्ठले लकडाउनको बाबजुद आयोजनामा गत आर्थिक वर्षमा ७१ प्रतिशत भौतिक प्रगति भएको बताए । ‘आगामी आवमा ४७ किलोमिटर सडक कालोपत्रे गर्न सरकारसँग सहमति मागेका छौं,’ उनले भने, ‘सरकारले पर्याप्त बजेट विनियोजन गरेको खण्डमा कालोपत्रेको काम अघि बढ्नेछ ।’
सो खण्डमा २२ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ । तीमध्ये हालसम्म नौवटा पुल निर्माणाधीन अवस्थामा छन् । अहिले करिब आधा दर्जन पुल डिजाइनको क्रममा छन् । कायममुकायम योजना प्रमुख श्रेष्ठले नेपाली सेनाले १४ किलोमिटर सडकको ट्र्याक पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गरिरहेको बताए ।
‘यसअघि मकालु बरुण राष्ट्रिय निकुञ्जको कारणले वातावरणीय प्रभाव मूल्यांकनको काम हुन सकेको थिएन,’ उनले भने, ‘अहिले निकुञ्जसँग समन्वय गरेर सो कार्य अघि बढाएका छौं ।’
प्रकाशित: ११ भाद्र २०७७ ०४:०३ बिहीबार