२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सेभ द चिल्ड्रेनको मिथ्यांक: २३ करोड घोटाला आशंका

सेभ द चिल्ड्रेनले ग्लोबल फन्डलाई एचआइभी संक्रमितको फर्जी डाटा देखाएर वर्षको २३ करोड रूपैयाँ लिएको सरकारी अधिकारीहरूको आशंका छ ।  

स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीका अनुसार सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा समावेश भएको डाटा र सेभ द चिल्ड्रेनले दातृ निकाय ग्लोबल फन्डलाई दिएको डाटामा एचआइभी संक्रमितको संख्या १ हजार ८ सय ८८ ले फरक रहेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सेभ द चिल्ड्रेनमार्फत ग्लोबल फन्डलाई दिएको डाटामा आर्थिक वर्ष ०७५/७६ मा १७ हजार ९ सय ८७ जना एचआइभी संक्रमितले औषधि उपचार सेवा लिएको देखाइएको छ । तर सरकारको एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा भने १६ हजार ९९ एचआइभी संक्रमित रहेको उल्लेख छ । यो तथ्यांक सरकारले देशभरका करिब ८ हजार स्वास्थ्य संस्थाबाट संकलन गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकजना एचआइभी संक्रमितको औषधि उपचारका लागि वर्षमा १ लाख २५ हजारभन्दा बढी रूपैयाँ खर्च हुने गरेको छ ।

सेभ द चिल्ड्रेनले ग्लोबल फन्डलाई फर्जी एचआइभी संक्रमित देखाएर २३ करोड घोटाला गरेको सरकारी अधिकारीको आशंका ।

यसअनुसार १ हजार ८ सय ८८ जना बढी देखाएर ग्लोबल फन्डबाट सेभ द चिल्ड्रेनले आर्थिक वर्ष ०७५/७६ मा मात्र २३ करोड ६० लाख रूपैयाँ बढी लिएको सरकारी अधिकारीहरूको आरोप छ । सेभ द चिल्ड्रेनमार्फत पठाएको डाटाका आधारमा संक्रमितको उपचारबापत लागेको खर्च ग्लोबल फन्डले दिँदै आएको छ । नेपालमा एचाइभी संक्रमितको औषधि उपचारका लागि वर्षिक २ अर्ब रकम खर्च हुने गरेको छ ।  सेभ द चिल्ड्रेनले नेपालमा एचआइभी, मलेरिया, टिबीजस्ता सरुवा रोग रोकथाम तथा नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको छ ।  

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा सुधा देवकोटा सरकारको तथ्यांकभन्दा सेभ द चिल्ड्रेनको तथ्यांक बढी हुन नसक्ने स्पष्ट पारिन् । ‘संक्रमतिको संख्या फरक हुुनु गलत हो’, उनले भनिन् । आफूले हालै केन्द्रको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले तथ्यांकमा देखिएको भिन्नताबारे सेभ द चिल्ड्रेनका कर्मचारीसँग बुझ्ने बताइन् । ‘के भएको हो, छानबिन हुन्छ’, उनले भनिन् ।

केन्द्रका कर्मचारीले भने सेभ द चिल्ड्रेनको बदमासी ढाकछोप गर्दै आएका छन् । सेभ द चिल्ड्रेनबाट केन्द्रका कर्मचारीले आर्थिक लाभ पाउने भएकाले बदमासीमा साथ दिँदै आएको स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरूको भनाइ छ ।

फर्जी संक्रमितको संख्या देखाएर नेपालको बदनाम गर्ने सेभ द चिल्ड्रेनका कर्मचारीमाथि कारबाही हुनुपर्ने उनीहरूले बताए ।

एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीका निर्देशक बद्री ज्ञवालीले विगतमा सेभ द चिल्ड्रेनसँगको सहकार्यमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआइभी संक्रमितको तथ्यांक संकलन गर्ने गरेकोेमा दुई वर्षदेखि स्वास्थ्य मन्त्रालय आफैंले संकलन गर्न थालेको बताए । सरकारले एचआइभी संक्रमितको डाटा संकलन गर्न थालेपछि सेभ द चिल्ड्रेनसँगको सहकार्यमा संकलित तथ्यांक फर्जी हुने गरेको पत्ता लागेको उनको भनाइ छ ।  

सरकारले देशभरका अस्पतालबाट हरेक महिनाको १५ गते एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीमा तथ्यांक समावेश हुने व्यवस्था गरेको छ ।  

सेभ द चिल्ड्रनका तर्फबाट उक्त कार्यक्रम हेर्न कार्यक्रम संयोजक राज्यश्री कुँवरले सेभ द चिल्ड्रेनमार्फत एचआइभी संक्रमितको तथ्यांक ग्लोबल फन्डमा पठाउने गरेको स्वीकार गरिन् । उनले राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रसँगको सहकार्यमा संक्रमितको तथ्यांक लिने गरेको बताउँदै एकीकृत राष्ट्रिय स्वास्थ्य सूचना प्रणालीको तथ्यांकसँग फरक परेको विषय आफूलाई थाहा नभएको दाबी गरिन् । ‘सेभ द चिल्ड्रेनले केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको छ, हाम्रो काम सहयोग गर्ने हो, तर कसरी डाटा फरक आयो, मलाई थाहा छैन’, उनले भनिन् ।  

एचआइभी संक्रमितको तथ्यांक (आ.व. ०७५/७६)
सरकार सेभ द चिल्ड्रेन
महिला: ७२७९
पुरुष: ७६३९
तेस्रो लिङ्गी: ८१
बालबालिका: ११००
जम्मा: १६,०९९ जना

सेभ द चिल्ड्रेन
महिला: ८६५४
पुरुष: ९२२२
तेस्रो लिङ्गी: १११
जम्मा: १७,९८७ जना

प्रकाशित: १० भाद्र २०७७ ००:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App