६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बागलुङमा देशकै लामो झोलुंगे पुल

बागलुङबाट पर्वत जोड्ने कालीगण्डकी नदीमाथिको नयाँ झोलुंगे पुल। तस्बिरः संगम घती/नागरिक

मुलुककै सबैभन्दा लामो झोलुंगे पुल कालीगण्डकी नदीमा निर्माण सम्पन्न भएको छ। बागलुङ र पर्वत जिल्ला जोड्ने पाँच सय ६७ मिटर लामो झोलुंगे पुल निर्माण गरेर सञ्चालनमा आएको हो। सस्पेन्सन ब्रिज डिभिजनका अनुसार यो पुल मुलुकको मात्र नभएर सम्भवतः विश्वकै लामो झोलुंगे पुल हो। बागलुङ नगरपालिका वडा नं १ बांगेचौरबाट कुश्मा नगरपालिका वडा नं १ पाङ अदुवाबारी पर्वत जोड्ने पुल निर्माण गरेपछि डेढ घन्टाको बाटो पाँच मिनेटमा छोटिएको छ। आठ करोड २७ लाख ६ हजार तीन सय ८१ रूपैयाँ लागतमा पुल निर्माण गरिएको हो।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख कुमार थापाका अनुसार यो मुलुकको मात्र नभएर विश्वकै लामो पैदल यात्री हिँड्ने झोलुंगे पुल हो। थापाका अनुसार अहिलेसम्म संसारकै सबैभन्दा लामो भनिएको झोलुंगे पुल स्विजरल्यान्डमा थियो। ‘गुगल सर्च र अन्य अध्ययनमा अहिलेसम्म सबैभन्दा लामो झोलुंगे पुल चार सय ९४ मिटरको स्विजरल्यान्डमा बनेको देखिन्छ,’ थापाले नागरिकसँग भने, ‘पर्वत र बागलुङ जोड्न बनाइएको पुल स्विरजल्यान्डको भन्दा ७३ मिटर लामो छ।’ यही तथ्यलाई आधार मानेर विश्वकै लामो भएको उनले दाबी गरे।

सस्पेन्स ब्रिज डिभिजनले नेपालमा अहिलेसम्म तीन सय ५९ मिटर लामो झोलुंगे पुल निर्माण गरेको थियो। बागलुङमा निर्माण गरेको पुलमा नयाँ प्रविधि पनि प्रयोगमा ल्याइएको छ। डिभिजनका लागि यति लामो पुल बनाएको यो पहिलो अनुभव हो। ‘नयाँ प्रविधि प्रयोग गरेर लामो पुल निर्माण सफलतापूर्वक सम्पन्न गरेका छौं,’ थापाले भने, ‘यो नेपाली प्राविधिकका लागि नयाँ अनुभव हो।’ पुल सञ्चालनमा ल्याएपछि धेरै हल्लिएको स्थानीयले बताएका छन्। पहिलोपटक लामो पुल निर्माण गरेकाले अव्जरबेसनमा राखिएको थापाले बताए। ‘कसरी नहल्लिने बनाउन सकिन्छ भनेर सूक्ष्म रूपमा अध्ययन गरिरहेका छौं,’ उनले भने।

विश्वकै लामो झोलुंगे पुल भएको दाबी गर्दै बागलुङ नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्न पहल सुरु गरेको जनाएको छ। नगरपालिकाले राष्ट्रिय तथ्यांक विभागलाई पत्र लेख्दै विश्वको लामो झोलुंगे पुलमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइदिन पत्राचार गरेको छ। यो पुलमा लठ्ठा तान्नु निकै जोखिम र चुनौतीपूर्ण रहेको थियो। ‘निर्माण गर्न सक्दैनौं कि भन्ने चुनौती थियो,’ थापाले भने, ‘नेपाली प्राविधिकले सफलतापूर्वक निर्माण गरे।’ पुलका लठ्ठा तान्न विभागले चीनबाट नयाँ प्रविधिको विन्च मेसिन किनेर ल्याएको थियो।

पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ। विशेष गरी पर्वतको पाङका स्थानीयलाई बागलुङ बजार आउन निकै सजिलो भएको छ। पुल निर्माण गरेपछि डेढ घन्टाको बाटो करिब १० मिनेटमा छोटिएको बागलुङ नगरपालिका योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए। उनका अनुसार यो पुल पर्यटकीय गन्तव्यको रूपमा विकास हुने अपेक्षा गरिएको छ। मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोरको संगम मालुढुंगामाथि पुल निर्माण गरिएको छ। पुलनजिकै पश्चिमाञ्चलकै धार्मिक पर्यटकीय गन्तव्य कालिका भगवती मन्दिर छ। पुल सञ्चालनमा आएपछि हेर्नेको भीड लागेको थियो। २०७५ चैतदेखि पुल निर्माण सुरु गरिएको थियो। पुलको एकपटकमा ८५ मेट्रिक टन भार बहन गर्ने क्षमता रहेको छ। एकपटकमा ६ सय १२ जनासम्म आवतजावत गर्न सक्ने डिभिजनले जनाएको छ।

१४ तुइन अझै निर्माण

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकबाट तुइन विस्थापित गर्ने बताए पनि मुलुकमा अझै तुइन विस्थापित हुन सकेको छैन। मुलुकका अझै १४ स्थानमा तुइन रहेको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। डिभिजनका अनुसार बझाङमा एक, सुर्खेतमा दुई, दार्चुलामा चार, हुम्लालगायत जिल्लामा पाँचवटा तुइन विस्थापित गर्न बाँकी छ। प्रधानमन्त्री ओली २०७२ मा प्रधानमन्त्रीको सपथ खाएपछि तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गर्ने घोषणा गरेका थिए।

प्रकाशित: १ भाद्र २०७७ ०३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App