६ आश्विन २०७७ मंगलबार
अर्थ

एक अर्ब लगानी रहेको कागज उद्योग सञ्चालनमा

भरतपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कागज उद्योगबारे जानकारी दिँदै प्रबन्ध निर्देशक लगायत । तस्बिर: सूर्यप्रकश/नागरिक

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा चितवनका चार जना युवा उद्यमीले एक अर्ब लगानीमा कागज कारखाना सञ्चालनमा ल्याएका छन् । मध्यविन्दु नगरपालिका १०, अरुणखोलामा क्वालिटी पेपर इण्डष्ट्रिज सञ्चालनमा आएको हो । भरतपुर महानगरपालिका ३, बेलचोकमा मुख्य कार्यालय रहेको कागज उद्योगले बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी उद्योगबारे जानकारी गराएको छ ।

उद्योगका प्रबन्ध निर्देशक राजन पियाले भारत, चीन र स्वीडेनबाट ल्याइएका अत्याधुनिक उपकरण जडान गरी पत्रु कागजबाट प्याकेजिङमा प्रयोग हुने नयाँ कागज (क्राफ्ट पेपर) उत्पादन गरिने जानकारी दिए । उनका अनुसार उद्योगको उत्पादन क्षमता दैनिक एक सय २० टन रहेको छ । खेर गइरहेका पत्रु कागज सस्तो मूल्यमा विदेश निर्यात हुने गरेको र विदेशबाट क्राफ्ट पेपर स्वदेश आयात हुने गरेकोमा अब केही हदसम्म आयात प्रतिस्थापन हुने उनको दाबी छ ।

नेपालमा क्राफ्ट पेपर उत्पादन गर्ने उद्योग क्वालिटीसमेत पाँच वटा पुगेका छन् । तीमध्ये भैरहवामा रहेको एउटा कागज उद्योग हाल बन्द अवस्थामा छ । विराटनगरमा दुई र वीरगञ्जमा एक वटा उद्योग सञ्चालनमा रहेको उद्योगका अध्यक्ष सुकेशकुमार गुप्ता बताउँछन् । उनका अनुसार नेपालमा प्रतिमहिना एक हजार टन क्राफ्ट पेपर भारतबाट आयात हुँदै आएको छ । यो परिमाण कुल स्वदेशी मागको ६० प्रतिशत हो ।

क्वालिटी कागज उद्योगका बजार निर्देशक रुपक श्रेष्ठले क्राफ्ट पेपरबाहेक यस उद्योगबाट चार महिनापछि सेतो कागज र न्यूजप्रिन्ट दैनिक ७० टन उत्पादन गर्ने लक्ष्य लिइएको बताए । अहिलेलाई माग अनुसार रोल र सिट दुवैखाले क्राफ्ट पेपर उत्पादन सुरु गरिएको छ । उद्योग सञ्चालनमा आएपछि अब पत्रु कागज निर्यात र क्राफ्ट पेपरको आयात केही हदसम्म कम हुने श्रेष्ठ बताउँछन् ।

एक सय २० टन कागज उत्पादनका लागि एक सय ५० टन पत्रु कागज आवश्यक पर्ने उद्योगले जनाएको छ । उद्योगका प्रबन्ध निर्देशक राजन पिया खेर गइरहेको पत्रु कागज पुनःप्रयोगमा ल्याएर क्राफ्ट पेपरको आयात प्रतिस्थापन गर्नु प्रमुख उद्देश्य रहेको बताउँछन् । उद्योगले एक सय ५० जनालाई रोजगारी दिएको उनले जानकारी दिए ।

प्रकाशित: २८ श्रावण २०७७ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App