१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘वर्ड अफ माउथ’ ले बढायो ‘लालीबजार’ को दर्शक

गत वैशाख २५ देखि देशभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकको सङ्ख्या दोस्रो सातामा झनै बढेको छ।

बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथामा आधारित फिल्मलाई दर्शकले बलियो ‘वर्ड अफ माउथ’ दिएकै कारण दोस्रो सातामा शो सङ्ख्या र दर्शकको चाँप बढेको हो।

निर्माता म्याक्स दीपेश खत्रीको अनुसार दोस्रो साताको शुक्रबार र शनिबार पहिलो साताको तुलनामा व्यापार बढेको हो। उनले भने, ‘दोस्रो सातामा प्रवेश गरेपछि हामीसँग सो सङ्ख्यासँगै दर्शकको उपस्थिति पनि बढी छ। पहिलो साता भन्दा दोस्रो सातामा दर्शकको उपस्थिति बढ्नुले हाम्रो फिल्मलाई दर्शक सन्तुष्ट छन् र आफैँले प्रचार गरिरहेका छन् भन्ने प्रमाणित गर्छ। दर्शकले फिल्ममा देखाइएको आमाको सङ्घर्षलाई रिलेट गरेका छन्, धेरै दर्शक रोएको पाएका छौँ।’

उनले बादी समुदायकै अभियन्ताले समेत फिल्म हेरेपछि तारिफ गरिरहेको बताए। उनका अनुसार आइतबार नेपालभर फिल्मले २ सय २७ शो पाएको छ। यो अघिल्लो साताको तुलनामा बढी हो।

फिल्मले शासकविरुद्ध आवाज उठाउने प्रेरणा दिएको दर्शकहरूले बताए। शनिबार हल भ्रमणकै क्रममा भेटिएकी चर्चित गीत ‘मकै बारी दर्‍याम दर्‍याम’ गायिका सुष्मा शाही ठकुरीले फिल्मका दृश्यले आफूलाई भावुक बनाएको बताएकी थिइन्।

उनले भनिन्, ‘फिल्मले देखाएको सङ्घर्ष हरेकको जीवनीसँग कनेक्ट हुन्छ, म पनि भएँ। फिल्ममा आमा बन्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काका केही दृश्यले मेरो आँसु झर्‍यो, म भावुक भएँ। फिल्मले महिला कसरी सङ्घर्ष गरेर सफल हुन्छिन् भन्ने देखाएको छ, म यतिकै हेर्न आएकी थिएँ। एउटा राम्रो फिल्म हेर्न पाएकोमा म खुसी छु।’

यस्तै, सुर्खेतबाट सुरु भएको मोफसल भ्रमण अन्तर्गत अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा कार्यकारी निर्माता प्रदीप भट्टराईको समूह आइतबार पोखरामा दर्शक भेटघाट गर्दै साक्षात्कार गरिरहेका छन्। मोफसल भ्रमणमा बादी समुदायबाट पाएको मायाले आफू उत्साहित रहेको अभिनेत्री स्वस्तिमा खड्काले बताइन्।

‘हामीले जसको कथा र व्यथा देखाएका छौँ, उहाँहरूले नै फिल्म हेरेपछि धन्यवाद दिनुभयो। हामीले गरेको काम र फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले बुझ्नु भएको छ, यो नै हाम्रो सफलता हो। हामी नेपालभरका दर्शकसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिन आतुर छौँ।’

फिल्ममा नव अभिनेता विशाल देवकोटा र नव अभिनेत्री प्रशंसा सुवेदीको कामको तारिफ भइरहेको छ। फिल्म हेरेर निस्किने दर्शकले दुवैको कामलाई निकै तारिफ गरेका छन्।

फिल्मले आफ्नो आमाको महत्त्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन्। एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँसु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ।

‘लालीबजार’ निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए। उनले स–परिवार नै आनन्दले फिल्म हेर्न सकिने बताए।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन्।

प्रकाशित: ३ जेष्ठ २०८३ १८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App