१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कास्कीमा दर्जनौं हाइड्रोपावर: चिनियाँ प्राविधिक नआउँदा ढिलाइ

हाइड्रोपावर निर्माण भइसके पनि कोरोना संक्रमणका कारण उत्पादन रोकिएको छ। कोरोनाकै कारण राष्ट्रिय प्रसारण लाइनमा बत्ती जोड्ने काम टुंग्याउन सकिएको छैन। चिनियाँ प्राविधिक आइपुगेका छैनन्। प्राविधिक नआउँदा परीक्षण उत्पादन हुन सकेको छैन। कास्कीको मादी गाउँपालिकास्थित नामार्जुङमा हिमालयन हाइड्रोपावरले निर्माण गरेको १२ मेगावाट जलविद्युत् कोरोनाकै कारण उत्पादन रोकिएको छ।  

कास्कीमा दर्जनौं हाइड्रोपावर निर्माणाधीन छन्। कतिपय आयोजना निर्माण सम्पन्न भइसकेको छ भने केही निर्माणकै चरणमा छन्। ‘सबै काम सकिएको छ। प्राविधिक नआउँदा बत्ती जडान हुन सकेको छैन,’ हिमालयन हाइड्रोपावरका प्रोमोटर यदु अधिकारीले भने, ‘कोरोना महामारीले प्राविधिक चीनमै रोकिएका छन्।’ वैशाखमै उद्घाटन गर्ने योजना रहे पनि कोरोना महामारीले रोकिएको उनको भनाइ छ।  

कास्कीमा सबैभन्दा सानो हाइड्रोको रुपमा फेवा पावर हाउस हो। यसको उत्पादन क्षमता पाँच सय किलोवाटको मात्रै छ। फेवातालको पानीलाई उपयोग गर्दै फुस्रे खोला किनारमा विद्युत् उत्पादन गरिएको छ। त्यस्तै सेती नदीबाटै निकालिएको छ १.५ मेगावाट विद्युत्। पोखरा¬ १ सिम्पानीबाट बाँध बाँधेर पानीलाई नहरमार्फत नदीपुरस्थित पावरहाउसमा ल्याइएको छ। कुँडहर फाँटमा सिँचाईको लागि बनाइएको सेती नदी नहरबाटै विजयपुरमा एक मेगावाट विद्युत् उत्पादन गरिएको छ। भगवती हाइड्रोपावरले विजयपुर खोलामा ‘विजयपुर १’ उत्पादन गरिसकेको छ। ४.५ मेगावाट विद्युत् उत्पादनपछि सोही हाइड्रोपावरले ‘विजयपुर २’ उत्पादनको तयारीमा जुटेको छ। माछापुच्छ्रे गाउँपालिकास्थित सार्दीखोलामा गण्डकी हाइड्रोको तीन मेगावाट विद्युत् उत्पादन भइसकेको लामै समय भएको छ।  

मादी गाउँपालिकास्थित सिम्लेसमा सिक्लेस हाइड्रोले २० मेगावाट विद्युत् उत्पादन गरिसकेको छ। कास्की मादी गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङका अनुसार सिक्लेस हाइड्रो, अपर मादी (चिनियाँ कम्पनी)को २५ मेगावाट र रुदी ए र बीबाट १५ मेगावाट विद्युत् उत्पादन भइसकेको छ। सुपर मादी ४४ मेगावाट, माद्मे खोला २४ र ईदीखोलाबाट एक मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित निर्माणाधीन छन्।  

अबको दुईवर्षभित्रमा कास्कीमा आधा दर्जन हाईड्रोपावरले विद्युत उत्पादन शुरु गर्ने छन्। निजी क्षेत्रबाट गण्डकी प्रदेशकै ठूलो जलविद्युत परियोजना ‘सुपर मादी’ अर्को आर्थिक वर्षभित्रमा उत्पादन शुरु हुने छ। सुपरमादी हाईड्रो पावर कम्पनी लिमिटेडको ४४ मेगावाट क्षमताको विजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ। ‘२०७८ साल असार मसान्तसम्म विद्युत उत्पादन गरेर प्रशारण लाईनमा जोड्ने छौै’ सुपरमादी हाईड्रोपावर कम्पनीका निर्देशक धनराज आचार्यले भने–‘६५ प्रतिशत काम सकिएको छ।’ ६.७ किलोमिटरको टनेल निर्माण कार्य अबको नौ महिनाभित्र सक्ने लक्ष्य राखिएको उनले बताए। लकडाउनमा पनि काम नरोकिएकोले धमाधम अघि बढेको स्पष्ट पारे।  

लकडाउनकै बीचमा सार्दीखोलामा सेती हाईड्रोपावरले २५ मेगावाटको विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम शुरु गरिएको छ। २०७९ साल असोज मसान्तसम्ममा राष्ट्रिय प्रशारण लाइनमा जोड्नेगरी काम शुरु गरिएको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडले जनाएको छ। सिभिल निर्माणको काम भइरहेको छ। रसुवा लुना जेभीले निर्माण गरिरहेको छ। सिभिल निर्माण अन्तर्गत सेटलिङ बेसिन(पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।

प्रकाशित: २७ श्रावण २०७७ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App