८ वैशाख २०८१ शनिबार
अर्थ

बढेको बढ्यै तरकारीको भाउ

कलंकी बस्ने कैलालीका धनबहादुर शाह मंगलबार नजिकैको तरकारी पसलमा गोलभेंडा किन्न गए। ‘एक हप्ताअघि ३५ रुपैयाँ किलोमा पाएको गोलभेंडाको भाउ सय रुपैयाँ पुगेछ,’ उनले भने, ‘अरु तरकारी त अगाडिदेखि नै छोइनसक्नु थियो। सस्तो भनेको गोलेभेंडाको मूल्य पनि नसोचेको माथि पुगेछ।’

रामेछापकी शोभा तामाङ स्युचाटारमा सानो तरकारी पसल गर्छिन्। सधै साँझको समयमा भीड लाग्ने उनको पसलमा ग्राहक एकाएक घटेका छन्। ‘तरकारी कालीमाटी मै महँगो छ, हिजो ल्याएको तरकारी अहिलेसम्म बिक्री भइसकेको छैन,’ उनले भनिन्, ‘तरकारी सस्तो हुँदा बरु बिक्री राम्रो थियो। अहिले त थोरैथोरै सबै खालका तरकारी लिएकी छु। बिक्री गर्नै गाह्रो पारेको छ।’

उपत्यकामा गएको एक महिनामै तरकारीको भाउ अकासिएको छ। मूल्य बढेसँगै खरिदबिक्रीमा पनि प्रभाव देखिएको छ। कालीमाटी तरकारी बजारको थोक मूल्य केही कम जस्तो देखिए पनि खुद्रा मूल्य उपभोक्ताले किन्नै नसक्ने गरी बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ यो समयमा विगतमा पनि तरकारीको मूल्य बढ्ने गरे पनि यसपटक एक्कासि ठूलो फरकमा मूल्य बढ्दा उपभोक्ता आत्तिएको बताउँछन्।  

‘लामो समयको लकडाउनको कारण तरकारीको माग कम थियो, तराई तिरबाट पनि तरकारी आएको थियो, तरकारी सस्तो थियो,’ उनले भने, ‘अहिले लकडाउन हटेसँगै उपत्यका भित्रने पनि बढे। होटलहरु पनि सञ्चालनमा आए। एकाएक माग बढ्यो। मूल्य पनि बढ्यो।’  

बुधबार बजारमा गोलभेंडाको मूल्य प्रतिकिलो सय रुपैयाँ पुग्यो। त्यस्तै, आलु प्रतिकिलो ७५, बन्दा ६०, काउली एक सय ८०, मुला ८०, बोडी १२०, भिन्डी एक सय २०, करेला ९०, लौका ८०, घिरौंला ९० र साग सय रुपैयाँ किलो पुगेको छ।  

साउनमा कालीमाटीमा दैनिक औसत पाँच सय मेट्रिक टन तरकारी भित्रिइरहेको छ। गत वर्ष यो समयमा औसत सात सात सय ७५ मेट्रिक टन तरकारी भित्रिएको समितिको तथ्यांक छ। प्रवक्ता श्रेष्ठ तरकारीको मूल्य केही समय अझै यही अवस्थामै रहने बताउँछन्। ‘काठमाडौं र आसपासको तरकारीमा भर पर्नु परेको छ। वर्षात बढी भएकोले तराईबाट तत्काल तरकारी आउने सम्भावना छैन,’ उनी भन्छन्, ‘भारतबाट पनि उतै तरकारीको अभाव भएको कारण ताजा तरकारी आउने सम्भावना कम भएकोले तरकारीको मूल्य केही समय घट्ने देखिन्न।’  

उनले योभन्दा धेरै महँगो हुन नसक्ने अनुमान गरे। ‘धेरै महँगो भए उपभोक्ताले किन्न सक्ने अवस्था रहन्न, बढाएर मात्र के गर्नू,’ उनी भन्छन्, ‘अब भारतबाट आलु, प्याजसँगै अन्य तरकारी आउन सुरु गरेको छ। नघटे पनि यसभन्दा उच्च नहोला।’ भारतबाट पर्याप्त मात्रमा आइरहकोले बजारमा प्याजको मूल्य अरुको तुलनामा कम छ।

तरकारीको मूल्य उच्च भएपछि वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले कालीमाटी बजारमा अनुगमन गरेको छ। विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले अनुगमनपश्चात मूल्य संकलन गरेर विश्लेषण भइरहेको बताए। उनले भने, ‘मूल्य उच्च भएको गुनासोको आधारमा मूल्य संकलन गरेका छौं। कति स्वाभाविक छ। १–२ दिनमा त्यसको प्रतिवेदन आउँछ।’

प्रकाशित: १५ श्रावण २०७७ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App