७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

साउन पहिलो सातामै ९२ प्रतिशत रोपाइँ

साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढी रोपाइँ सकिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्म कुल रोपाइँयोग्य जमिनको ९१. ६८ प्रतिशतमा रोपाइँ सकिएको हो। पोहोर साउन पहिलो हप्ता ६३.७९ प्रतिशत मात्र रोपाइँ सकिएको थियो।

देशभर कुल १३ लाख ७१ हजार सात सय ६ हेक्टर रोपाइँयोग्य जमिनमध्ये गत मंगलबारसम्म १२ लाख ५७ हजार ६ सय ८ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांक छ। यो समयमा सबैभन्दा बढी धान उत्पादन हुने तराईमा ९४.१७ प्रतिशत रोपाइँ सकिएको छ। तराईमा धान रोपाइँ हुने नौ लाख ७७ हजार चार सय १४ हेक्टर जमिनमध्ये नौ लाख २० हजार तीन सय ८२ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको यो समयको तुलनामा २४ प्रतिशत बढी रोपाइँ भएको हो। गत वर्ष यो समयमा ६० प्रतिशत मात्र रोपाइँ सकिएको थियो।

मन्त्रालयका अनुसार मध्यपहाडमा यो अवधिमा ८५.२३ प्रतिशत रोपाइँ सकिएको छ। मध्यपहाडमा रोपाइँ हुने कुल तीन लाख ४३ हजार ९९ हेक्टर मध्येमा दुई लाख ९४ हजार नौ सय ८५ हेक्टरमा रोपाइँ सकिएको छ। त्यस्तै, ४८ हजार एक सय ९३ हेक्टर धान उत्पादन हुने उच्च पहाडी क्षेत्रमा जम्मा ८७.६५ प्रतिशत अर्थात ४२ हजार दुई सय ४१ हेक्टर भू–भागमा रोपाइँ सकिएको छ।

प्रदेशगत तथ्यांकलाई हेर्दा सबैभन्दा बढी प्रदेश नं २ मा ९६.७७ प्रतिशत रोपाइँ सकिएको छ। त्यस्तै, कर्णाली प्रदेशमा ९६.२३ र सुदूरपश्चिम प्रदेशमा ९५.४९ प्रतिशत रोपाइँ भएको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नं ५ मा ९५.१४र गण्डकीमा ९१.११ प्रतिशत रोपाइँ भएको छ। यो अवधिमा सबैभन्दा कम बाग्मती प्रदेशमा ८२.२२ प्रतिशत र प्रदेश नं १ मा ८२.४१ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ।

यो अवधिमा सबैभन्दा धेरै धान उत्पादन हुने प्रदेश २ र ५ का अधिकांश जिल्लमा शतप्रतिशत रोपाइँ सकिएको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ का बारा, पर्सा, सप्तरीले शतप्रतिशत रोपाइँ सकाएका छन्। बाँकी जिल्लाको तथ्यांक पनि राम्रो छ। प्रदेश नं २ मा गत वर्ष यो अवधिमा ५० प्रतिशत मात्र रोपाइँ सकिएको थियो। प्रदेश नै ५ का तराईका जिल्लामा ९७ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष यो अवधिमा ६० प्रतिशत मात्र रोपाइँ भएको थियो। प्रदेश ५ का बर्दिया, रुपन्देही, नवलपरासीमा शतप्रतिशत रोपाइँ सकिएको छ। 

प्रकाशित: ९ श्रावण २०७७ ०३:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App