२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

बुध्द एयरद्वारा टिकट बुकिङ खुला, संक्रमणरहित ढंगले उडान भर्ने प्रतिबद्धता

काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षित रुपमा चेक इनको अभ्यास गरिँदै। तस्बिर सौजन्य: बुध्द एयर।

काठमाडौं–सरकारले आगामी भदौ १ गतेदेखि व्यावसायिक हवाई उडान सुरु गर्ने निर्णय गरेसँगै निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुध्द एयरले यात्रुका लागि टिकट बुकिङ खुला गरेको छ। उसले भदौ १ गतेदेखि नै संक्रमणरहित ढंगले सुरक्षित रुपमा उडान भर्ने प्रतिबद्धता जनाएको छ।  

लकडाउनका कारण गत चैत ११ देखि बन्द भएको उडान खुलाउन सरकारले निर्देशिका बनाउने जनाएको छ। तर, बुध्द एयरले महिना दिन अगाडि नै हवाई सुरक्षा निर्देशिका बनाएर आबश्यक अभ्यास गर्दै आएको छ।  कम्पनीले विश्व स्वास्थ्य संगठन र आइटाको मापदण्ड पछ्याएर निर्देशिका बनाएको हो।  आफूले बनाएको निर्देशिका उसले हवाई विभागमा दर्ता गरेको छ।

‘यात्रुलाई एक विमानस्थलदेखि अर्को विमानस्थलसम्म सुरक्षित रुपले पु¥याउन हामी प्रतिबद्ध छौं’, त्रिभुवन विमानस्थलस्थित बुध्द एयरका ग्राउण्ड अपरेशन म्यानेजर रत्न राई भन्छन्, ‘हामी यात्रुलाई संक्रमण हुन दिँदैनौं। हामी अन्तराष्ट्रिय हवाई उड्डयनको मापदण्ड अनुसार उडान सञ्चालन गर्न तयारी अबस्थामा छौं।’  

उनका अनुसार अब यात्रुले डेढ घन्टा अगाडि नै विमानस्थल पुग्नु पर्नेछ। त्यसपछि उनीहरूको तापक्रम जाँचेर स्यानिटाइज गराइने छ। विमान चढ्नु अघि पनि स्यानिटाइज गराइनेछ।

‘हामी कुनै पनि लक्षण देखिएका विरामीलाई जहाजमा चढाउँदैनौं’, राईले भने, ‘यात्रा अबधिभर यात्रुले मास्क र फेश शिल्ड अनिवार्य लगाउनु पर्नेछ। मास्क यात्रु आफैंले व्यवस्था गर्नुपर्ने छ भने फेश शिल्ड हामी उपलब्ध गराउनेछौं।’  

बुध्दले यात्रु ओराल्ने वित्तिकै हरेकपल्ट जहाज र धावनमार्गमा गुडाइने गाडीहरूको स्यानिटाइज गर्नेछ। उसले अब जहाजभित्र, पानी, खाना, पत्रपत्रिका र शौचालयको सुविधा दिने छैन।  

बुध्द एयरका १३ वटा जहाज छन। उसले आन्तरिक उडानमा करिब ५० प्रतिशत हिस्सा ओगट्दै आएको छ।    

प्रकाशित: ७ श्रावण २०७७ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App