१६ चैत्र २०८० शुक्रबार
अर्थ

गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत

गण्डकी प्रदेश सरकारको कार्यालय । तस्बिर : उमेश पुन/नागरिक

गण्डकी प्रदेशले कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको हो । यो अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत बढी हो । अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारले ५८.१० प्रतिशत बजेट खर्च गरेको थियो । गण्डकी प्रदेशले संसोधित खर्च अनुमान अनुसारै बजेट खर्च गरेको हो । ९५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखेर बजेट बनाएको प्रदेश सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण वैशाखमा खर्च अनुमान संसोधन गर्दै ६३ प्रतिशत कायम गरेको थियो ।  

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ मा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजार बजेट विनियोजन गरेकोमा २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराले जनाएको छ ।

बजेट खर्च अन्तर्गत विकास (पूँजीगत) खर्च ७०.४६ प्रतिशत तथा चालुतर्फ ५२.८० प्रतिशत खर्च गरेको कोषले जानकारी दिएको छ । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा पूँजिगततर्फ १९ अर्ब ८४ करोड ९० लाख २० हजार बजेट विनियोजन गरेकोमा १३ अर्ब ९८ करोड ६४ लाख ३१ हजार ९ सय ५६ रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १२ अर्ब २८ करोड ५७ लाख ७२ हजार बजेट विनियोजन गरेकोमा ६ अर्ब ४८ करोड ६३ लाख ५० हजार ५ सय १२ रुपैयाँ खर्च गरेको गण्डकी प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पोखराका लेखा अधिकृत सुदीप गौतमले जानकारी दिए ।

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा ६४.५० प्रतिशत बजेट खर्च गरेको छ । १ अर्ब ३२ करोड ७७ लाख ७३ हजार बजेट रहेकोमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले ८५ करोड ६४ लाख ५६ हजार ७ सय ९१ रुपैयाँ खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ३४.१६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । २२ करोड ४ लाख ४१ हजार बजेट रहेको आर्थिक मामिलाले ७ करोड ८३ लाख ६७ हजार २ सय ८६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३३.८२ प्रतिशत बजेट खर्च गरेको छ । ५९ करोड ३९ हजार ३६ हजार बजेट रहेकोमा आन्तरिक मामिलाले २० करोड ८ लाख ७८ हजार ६ सय ८२ रुपैयाँ खर्च गरेको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५९.५३ प्रतिशत बजेट खर्चिएको छ । दुई अर्ब ३ करोड १४ लाख ७ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले १ अर्ब २० करोड रुपैयाँ ९२ लाख ९५ हजार बजेट खर्च गरेको हो ।

भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले ६६.६५ प्रतिशत बजेट खर्च गरेको छ । कुल २ अर्ब ४२ करोड ८० लाख ८१ हजार बजेट रहेको सो मन्त्रालयले १ अर्ब ६१ करोड ८२ लाख ७१ हजार ५ सय ९२ रुपैयाँ बजेट खर्च गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ७५.५६ प्रतिशत खर्च गरेको छ । १५ अर्ब ९५ करोड ५ लाख ६४ हजार बजेट रहेको सो मन्त्रालयले १२ अर्ब ५ करोड १८ लाख ४४ हजार ३ सय ६९ रुपैयाँ खर्च गरेको हो ।

सामाजिक विकास मन्त्रालयले ७२.९५ प्रतिशत बजेट खर्चिएको छ । कुल ३ अर्ब ३९ करोड १६ लाख २ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ४७ करोड ४३ लाख ५ हजार ३ सय २० रुपैयाँ बजेट खर्चिएको छ ।

असारे विकासले पायो निरन्तरता

गण्डकी प्रदेश सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । प्रदेश सरकारले कुल बजेटको २६.३१ प्रतिशत बजेट अर्थात ८ अर्ब ४ करोड ८९ लाख ७७ हजार १४२ रुपैयाँ असारमा मात्र खर्च गरेको हो । जेठ मसान्त सम्म ३७.४० प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असार मसान्त सम्ममा ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ ।  

प्रदेश सरकारले पछिल्लो ५ दिनमा कुल बजेटको १२.०३ प्रतिशत बजेट खर्च गरेको छ । असार २७ गतेदेखि असार ३१ गतेसम्मक ५ दिनमा प्रदेश सरकारले ३ अर्ब ८६ करोड ५३ लाख ७४ हजार ३ सय ६८ रुपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।  

कोरोना र त्यसको रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चैतदेखि विकास निर्माणका काम ठप्प भएपनि लकडाउन खुकुलो भएपश्चात प्रदेशको विकास निर्माणले तिव्रता पाउँदा असारमा बजेट खर्च ह्वात्तै बढेको हो ।

प्रकाशित: २ श्रावण २०७७ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App