स्थानीय जातका कुखुरापालन गर्दै आएका उद्यमी बैकुण्ठ सापकोटाले चल्ला उत्पादनका लागि ह्याचारी सञ्चालनमा ल्याएका छन्। यसअघि अण्डा काठमाडौँको ह्याचरीमा पठाएर यहाँ चल्ला ल्याउनुपर्ने उनको बाध्यता थियो। उपकरण खरिद तथा जडानलगायतमा रु तीन लाखबढी खर्च भएको उनले बताए।
बागलुङ नगरपालिका–३ रातामाटामा ‘सापकोटा कृषि फार्म’ सञ्चालन गरेका उनले दुई वर्षदेखि स्थानीय जातका कुखुराको व्यावसायिकपालन गर्दै आउनुभएको छ। स्थानीय जातका कुखुराको चल्ला उत्पादनका लागि जिल्लामै पहिलोपटक ह्याचरी सञ्चालनमा आएको उनको भनाइ छ। “पहिले चल्ला उत्पादनका लागि अण्डा बाहिर पठाउनुपथ्र्यो”, उनले भने, “गाडीमा ढुवानी गर्दा नोक्सानी हुन्थ्यो, लागत पनि बढ्थ्यो, अब त्यो बाध्यता हट्यो।”
ह्याचरीमा १०५६ अण्डा राख्न मिल्छ। २१ दिनमा ह्याचरीबाट चल्ला निस्कन्छ। निश्चित शुल्क लिएर बाहिरका कुखुरापालक किसानलाई पनि ह्याचरीमा चल्ला उत्पादन गर्न दिने उनको योजना छ। उनको ‘फार्म’मा अहिले स्थानीय साकिनी, कडकनाथ, घाँटी खुइले, उल्टे र बट्टाइलगायत गरी ६ सय कुखुरा छन्। कुखुराको खोर निर्माणमा भेटेरिनरी अस्पताल तथा पुश विज्ञ सेवा केन्द्रले गत आवमा रु। दुई लाख ३६ हजार अनुदान दिएको थियो।
ह्याचरी भने व्यक्तिगत लगानीमा सञ्चालन गरेको उनको भनाइ छ। व्यवसाय प्रवद्र्धनमा उहाँलाई छोरा निशानको दरिलो साथ छ। व्यवस्थापकीय कामदेखि अण्डा र चल्लाको बजारीकरणमा उनी बुबासँगै खट्नुछन्।
पोखरा, काठमाडौँ, रसुवालगायतका ठाउँबाट स्थानीय जातका चल्लाको माग आउने गरेको निशानले बताए। देशभरका स्थानीय जातका कुखुरापालक किसान सामाजिक सञ्जालमार्फत एकठाउँमा जोडिएका छन् । यसले ज्ञान, सीप, अनुभव आदनप्रदानदेखि व्यवसाय विस्तार र प्रवद्र्धनमा सघाएको उद्यमी बैकुण्ठको बुझाइ छ। पछिल्लो समय स्थानीय जातका कुखुरापालनतर्फ किसानको आकर्षण बढेको छ। स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेको छ।
अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मुल्य झण्डै दोब्बर छ। ज्यूँदो कुखुरा प्रतिकिलो रु। आठ सयमा बिक्री हुने गरेको सापकोटाको भनाइ छ। अण्डा रु १५ र एक साताको चल्ला रु एक सय २५ मा बिक्री हुँदै आएको छ।
स्थानीय जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ। उन्नत जातका कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि खुवाउनु नपर्ने उनले बताए। “बारीमा चर्छन, घरकै गहुँ, मकै, भुसको दाना खान्छन्”, उनले भने। कुखुरापालनबाट मासिक रु ४० हजारसम्म मुनाफा निकाल्न उनी सफल भए। स्थानीय जातको कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने उनको योजना छ। कुखुरापालनका लागि शुरुमा उनले रु चार लाख लगानी गरेका थिए।
कुखुरापालनसँगै उनले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। पढाइमा स्नातक उनले कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएका छन्।
प्रकाशित: २ श्रावण २०७७ ०५:४१ शुक्रबार