८ वैशाख २०८१ शनिबार
अर्थ

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।  

चीनतर्फको अवरुद्ध सडक सोमबार खुलेपनि नेपालतिर लिपिङ बजारदेखि नै राजमार्गका आधा दर्जन स्थानमा बाढी र पहिरोले राजमार्ग अवरोध गर्दा आयात प्रभावित हुन पुगेको हो । गत बुधबार राजमार्गको जम्बु लगायत बजार बगाउँदै २० बेपत्ता हुने गरी बाढीपहिरो निम्तएको दिनदेखि नै आयात रोकिँदै आएको छ ।  

त्यसदिनको बाढीपहिरोले राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध छ । अवरोध खुलाउने र सडक कटान भएका ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भइरहेपनि सकिएको छैन । सोही दिनको बर्षाले चीनतर्फ (खासा क्षेत्र) मा पनि सडक अवरुद्ध भएको थियो । चीनले आफ्नोतर्फको अवरुद्ध सडक भने खुलाई सकेको छ । तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताए ।  

‘अवरुद्ध सडक नखुलाइएसम्म अझै केही दिन आयात ठप्पै रहन्छ,’ उनले नागरिकसँग भने । उनका अनुसार सुख्खा बन्दरगाह भन्सार यार्डमा ३० कन्टेनर सामग्री रोकिएका छन् । झण्डै ६ करोड रुपैयाँका सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिए । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छन् ।  

बाढीपहिरोले नाका अवरुद्ध हुनुअघि दैनिक १५ कन्टेनर सामग्री चीनबाट नाका आइपुग्थे । भन्सारले त्यति नै सामग्री जाँच गरेर राजधानी पठाउँथ्यो । पछिल्लो समय नाकाबाट कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री धेरै आयात भइरहेका छन् । मुलुकमा कोरोना संक्रमण फैलिएपछि सरकारको विशेष पहलमा स्वास्थ्य सामग्रीको आयात गर्न गत चैत १६ गतेबाट नाका सञ्चालनमा ल्याइएको थियो । यसअघि चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि दुई महिना नाका बन्द थियो ।

चीनतिरको अवरुद्ध सडक खुलेपछि सरकारको विशेष अनुरोधमा मंगलबार मात्र स्वास्थ्य मन्त्रालयको एक कन्टेनर भिटिएम किट्स भन्सार आइपुगेको प्रमुख खत्रीले जनाए । ‘सरकारकै अर्डरका महत्वपूर्ण ती सामग्री बुधबार हेलिकप्टरबाट काठमाडौँ पठाउँदै छौँ,’ उनले भने । उनका अनुसार चीन–नेपाल जोड्ने लिपिङ बजारदेखि नै राजमार्ग अवरुद्ध छ । लिपिङदेखि भन्सारसम्मको अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।  

चीनतिरको अवरोध खुलिसकेकाले लिपिङ–लार्चासम्मको अवरुद्ध सडक खुलाउन सके भन्सारसम्मको आयात सहज हुने प्रमुख खत्री बताउँछन् । ‘यहाँबाट तलतिरको सडक खुलाउने काम भइरहेको छ । सामग्री भन्सारसम्म ल्यान सके सडक खुल्नासाथ राजधानी पठाउन सकिन्थ्यो,’ उनले भने । नाकाबाट पछिल्लो समय कोरोनासँग सम्बन्धित स्वास्थ्य सामाग्री आयात भइरहेकाले धेरै दिन आयात ठप्प हुँदा असर पुग्ने खत्री बताउँछन् ।  

चीनमा कोरोना फैलिएपछि अन्तर्राष्ट्रिय नाका सिल गर्दा नेपाली व्यवसायीका रोकिएका सयभन्दा बढी कन्टेनर सामग्री अझै बीच बाटोमै रोकिएका छन् । विशेष पहलपछि रोकिएका सामाग्री भित्र्याउने तयारी भइरहेको थियो । बाढीपहिरोले ती सामग्री पुनः बाटोमै रोकिन पुगेका छन् । भन्सार तथ्यांकअनुसार चालु वर्षको बितेको ११ मध्ये नाका चलेको नौ महिनामा तातोपानी भएर साढे नौ अर्व रुपैयाँ मूल्यका सामग्री आयात भएको छ ।

प्रकाशित: ३० असार २०७७ ११:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App