७ वैशाख २०८१ शुक्रबार
अर्थ

उपत्यकाको माग धान्दै आसपास

उपत्यका आसपासमा जिल्लामा तरकारीको उत्पादन बढेसँगै बर्खे मौसममा राजधानीको माग स्थानीय उत्पादनले पूरा गर्न थालेको छ। सामान्य अवस्थामा दैनिक १२ सय टन तरकारी आवश्यक पर्ने उपत्यकामा मागको ८० प्रतिशतभन्दा बढी उपत्यका आसपासका पहाडी जिल्लाबाट आउने गरेको कालीमाटी फलफूल तथा बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।

‘तराई क्षेत्रमा धान रोपाइँ भएसँगै खेतमा तरकारी उत्पादन कम हुन्छ, भारतबाट पनि यो समयमा तरकारी कम आयत हुने गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अहिले १८ देखि २० प्रतिशत तरकारी तथा फलफूलमात्र भारतबाट आयात भइरहेको छ।’ उनले भारतबाट प्याज, कागती, हरियो खुसार्नी, भिण्डी र फलफूल मात्र आइरहेको बताए।  

यो मौसममा विगत वर्षमा पनि तराई र भारतबाट कम परिमाणमा तरकारी आउने गरेकोमा यस वर्ष समयमै वर्षा हुँदा तराईबाट तरकारी आउनै छाडेको उनको भनाइ छ। ‘चितवनतिरबाट लौका, सिमी, बोडी जस्ता तरकारी आउने गरेको थियो, वर्षा हाबी भएपछि त्यही पनि बन्द भयो,’ श्रेष्ठले भने, ‘अहिले धेरै सिजनल तरकारीको लागि बाहिरबाट आयात गर्नुपर्ने अवस्था छैन।’

कालीमाटी फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यले अहिले उपत्यका आसपासका उच्च तथा मध्यमपहाडी क्षेत्रबाट तरकारी आइरहेको बताए। ‘दामन, पालुङ, चित्लाङ, मुडे, जिरी, शैलुङ लगायत धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखाको माथिल्लो बेल्टमा यो समय बढी तरकारी उत्पादन हुन थालेको छ,’ आचार्यले भने, ‘नुवाकोट, गोरखा, काभ्रे, तनहँु लगायत जिल्लामा पनि तरकारीको उत्पादन बढ्दै गएको छ।’  

उनले यस क्षेत्रबाट तराई र भारतमा समेत तरकारी निर्यात भइरहेको जानकारी दिए। ‘अहिले उपत्यकामा तरकारीको माग कम छ। टमाटर, बन्दा, काउली, मुला, आलु लगायत तरकारी तराई र भारतीय बजारमा पनि भइरहेको छ,’ उनले भने, ‘यहाँ मात्र होइन, उपत्यकाबाहिरका मुख्य सहरमा पनि तरकारीका लागि पहाडी जिल्लाकै भर पर्नुपर्छ।’  

आचार्यले मुलुकका मुख्य सहरमा सञ्चालन हुने २८ देखि ३० तरकारीको होलसेल बजारमा पहाडी जिल्लाबाट तरकारी आउने बताए। ‘तराईका अधिकांश जिल्ला र ठूला सहरी क्षेत्रमा जोडिएका छिमेकी पहाडी जिल्लाबाटै तरकारी आउने हो,’ उनले भने, ‘अहिले धेरैतिर व्यावसायिक रुपमा तरकारी खेती भइरहेकोले पनि सजिलो भएको छ।’  

उनले होलसेल व्यापारीले यो समयमा तरकारीको अभाव देखिने भएरै अगाडिदेखि नै किसानलाई उत्पादनमा सहयोग गर्दै आएको बताए। ‘तरकारी व्यवसायीले तरकारीको अभाव हुन नदिन किसानलाई बीउदेखि बजारसम्मा सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘उत्पादनले बजार पाउने भएसँगै किसानले उत्पादन पनि बढाएका छन्।’ उनले व्यवसायीले किसानसँग समन्वय गरेर बजारमा माग कम भएकै अवस्थामा पनि किसानको बारीबाट तरकारी उठाउँदै आएको बताए। उनले भने, ‘हामी घाटामा जाने अवस्था आए पनि किसानको तरकारी उठाउँदै आएका छौं। किसानको तरकारी नष्ट भएर गए, अर्को उत्पादन नगरे हामी कहाँबाट ल्याएर बेच्नु।’

मकवानपुरको पालुङमा व्यावसायिक तरकारी खेती गर्दै आएका किसान निरोज प्रधान व्यापारीले किसानलाई सहयोग गरेको भन्नेमा सत्यता नभएको बताउँछन्। ‘लकडाउनमा बिक्री नभएर खेतमै तरकारी सडेर गयो। उठाउने कोही भएन,’ उनले भने, ‘तरकारी खेतीमा बैंकले सम्म लगानी गर्न नमानेको अवस्थामा व्यापारीले लगानी गर्यौं भन्नु नसुहाउने हो।’  

उनले अहिले अधिकांश किसानले हाइब्रिड तरकारी उत्पादन गर्दै आएको र एक केजी बीउमात्रै पनि दुई लाखभन्दा बढी पर्ने भएकोले व्यवसायी आफैंले जोखिम उठाइरहेको बताए। उनले भने, ‘कोही साना किसानलाई आफ्नै मूल्यमा तरकारी उठाउने स्वार्थमा केही नगद सहयोग गरेका हुन सक्छन्।’  

दोलखा मुढेकी किसान कल्पना बस्नेत आफूहरुले तरकारी खेती गर्दै आए पनि मूल्य नपाउने समस्या कायमै रहेको बताउँछिन्। ‘गएको वर्ष बन्दाले दुई रुपैयाँ पनि भाउ नपाएर कालीमाटी लिएर गयौं। त्यहाँ पनि बिक्री भएन,’ उनी भन्छिन्, ‘पैसा तिरेर तरकारी फाल्न लगे जस्तो मात्र भयो। अहिले आलु मात्रै लगाएँ।’ उनले अहिले आलु भने बारीबाटै बिक्री भइरहेको बताइन्। उनले भनिन्, ‘पोहोर धार्नीको ५५–६० रुपैयाँ थियो, अहिले ७० रुपैयाँसम्म पाएका छौं।’

केही दिनअघिसम्म खस्किएको तरकारीको मूल्य बढ्दै गएको छ। तरकारीको उत्पादन बढी भएको बेला माग कम भएसँगै मूल्य नपाएपछि किसान मर्काका थिए। कालीमाटी फलफूल तथा बजार विकास समितिका प्रवक्ता श्रेष्ठले अहिले तरकारी बाहिरबाट पनि आउन बन्द भएको र माग पनि बिस्तारै बढेकोले मूल्य बढेको बताए। एक महिना अगाडि अधिकांश तरकारीको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा कम रहेको कालीमाटीमा अहिले तरकारीमा ५० देखि चार सय प्रतिशतसम्म मूल्य बढेको छ।

प्रकाशित: २८ असार २०७७ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App