७ वैशाख २०८१ शुक्रबार
अर्थ

असारे कर्मकाण्डः बनाएको पाँच दिनमै भत्कियो नाली

गौरीगंगा–८, बढैपुरमा निर्माण गरेको पाँच दिनमै भत्किएको सडक नाली। तस्बिरः पुष्पराज जोशी/नागरिक

असार सकिँदैछ। अहिले गाउँदेखि सहरसम्म विकास निर्माणका कार्यले तीब्रता पाएको छ। अहिले स्थानीय तहले बजेट सक्न भन्दै गाउँगाउँमा असारे विकासको कर्मकाण्ड थालेको छ। यस्तै असारे कर्मकाण्ड गर्दागर्दै गौरीगंगा नगरपालिकाको वडा नम्बर ८ बढैपुरमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ।  

दस दिनमै सक्ने भन्दै असार १० गतेबाट सुरु गरिएको नाला निर्माण कार्य लतरपतर गदै असार २० गते सकियो। निर्माण सकेर बजेट निकासाका लागि कागजात मिलाउँदै गर्दा निर्माण गरिएको पूरै नाला भत्कियो। ‘असारमा पानी पर्दै गर्दा कमसल बालुवा र इँटा प्रयोग गरेर निर्माण गरिएको नाला निर्माण गरेको पाँच दिन पनि टिकेन,’ एक स्थानीयले नाम नबताउने सर्तमा भने,‘हामीले पटक–पटक झरी पर्दैगर्दा निर्माण नगर्न भनेका थियौँ, तर उपभोक्ता समितिले मानेन।’ कमसल बालुवा र इँटा प्रयोगका साथै पानी पर्दै गर्दा निर्माण गरिएकाले नाला भत्किएको उनले दाबी गरे।

आफ्नो घरको जगैसँग सटेर बनाइएको नाला भत्किएपछि घर धरापमा परेको बताउँदै स्थानीय व्यापारी पुरन सिंहले भने,‘बर्खामा घरकै जग देखिनेगरी नाली खनियो, अहिले नाली भत्किएर घरनै धरापमा परेको छ, यसको क्षतिपूर्ति कसले दिने ?’ कमसल वस्तु प्रयोग गरेर सडकको नाली बनाएको जिकिर गर्दै उनले भने,‘बर्खामा हतार गरेर नाली बनाइयो, त्यो पनि भत्किएर घरभित्रबाट सडकमा निस्कनै नसकिने भयो।’ वर्षका ११ महिना निर्माणका कार्य नगर्ने नगरपालिकाले बर्खामा आएर यसरी नाली बनाउँदा वरपरका घर धरापमा परेको उनले दुखेसो पोखे।  

निर्माण उपभोक्ता समितिले कमसल इँटा तथा बालुवा प्रयोग गरेको बताउँदै नगरपालिकाका सब इञ्जिनियर आशा चौधरीले भने, ‘एकपटक कमसल इँटा ल्याइएको थियो, फर्काएँ, पछि साइट हेर्ने समय नै मिलेन उनीहरुले नै कमसल वस्तु प्रयोग गरेका कारण नाली भत्किएको हो।’ प्राविधिकको आँखा छलेर कमसल वस्तु प्रयोग भएको उनी बताउँछन्। ‘हामी चौबिसै घण्टा त्यहाँ हेर्न सक्दैनौँ,’ उनले भने,‘हाम्रो आँखा छलेर कमसल वस्तु प्रयोग गरिएको हुनसक्छ।’ सिमेन्टमा बालुवाको मात्रा बढाएर पनि नाला कमजोर हुने गरेको उनले बताए। ‘नाला कमजोर हुनुमा बालुवा र सिमेन्टको मात्रा धेरै फरक हुँदा पनि हुन्छ,’ उनले भने। नाला भत्किनुमा उपभोक्ता समितिकै कमजोरी भएको उनले बताए। तर, उपभोक्ता समितिका पदाधिकारी भने प्राविधिकले नक्सा डिजाइन गर्दा नै गलत बनाएका कारण नाली भत्केको बताउँदै आएको छ। ‘प्राविधिकले बनाएको स्टमेट र नक्साअनुसार बनाएका छौँ,’ उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र गिरीले भने,‘नालाको मापदण्ड भनेको १४ इन्चको हुनुपर्नेमा प्राविधिकले ९ इन्चकै स्टमेट गरेका कारण नाला भत्किएको हो।’  

गौरीगंगा नगरपालिकाका इन्जिनियर दिनेश खड्का भने वर्षातले नाला भत्कोको बताउँछन्। ‘वर्षात्मा नाला भत्कनु सामान्य हो,’ इन्जिनियर खड्काले भने,‘यो नाला भत्केको समाचारलाई हाइलाइट नगरिदिनुस्, यो सामान्य हो।’ उनले नाला भत्किनुमा प्राविधिक र उपभोक्ताको कुनै दोष नभएको बताए। ‘यसका कसैको दोष छैन,’ उनले भने,‘वर्षात्मा निर्माण गर्दा यस्तै हुन्छ, कहीँ भत्किन्छ, कहीँ सप्रिन्छ।’  

सडक बोर्डको १५ लाख १३ हजार ७ सय ३९ रुपैयाँ ५० पैसाको लगानीमा गौरीगंगा नगरपालिकाले बढैपुर–कैलाशपुर सडक मर्मतअन्र्तगतको कार्यक्रमबाट बढैपुरमा सडकको दुवैतर्फ ८४ फिट लम्बाइमा नाला निर्माण गरेको हो।

प्रकाशित: २८ असार २०७७ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App