१६ चैत्र २०८० शुक्रबार
अर्थ

पर्यटन व्यवसायीले भनेः ‘अब हामी पनि चाँबी बुझाउँछौं’

पोखराको फेवाताल र लेकसाइडका होटल । तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाईरस संक्रमणका कारण करिब ६ महिनादेखि मारमा परेका पर्यटन व्यवसायीले आर्थिक रुपमा धरासायी बनेको भन्दै व्यवसायको तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउनुपर्ने अवस्था आउन थालेको बताएका छन् । लामो समयदेखि नोक्सानी खेपेको र अझै कम्तिमा दुईवर्ष व्यवसाय चल्ने अवस्था नरहेकोले व्यवसाय टिकाउनु चुनौतीपूर्ण भएको उनीहरूले बताए ।  

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका व्यवसायीले अहिले किस्ता र ब्याज तिर्न समेत नसक्ने अवस्था आएकोले कर्जाको भुक्तानि तालिकालाई पुर्नतालिकिकरण गरिदिन सरकारसँग अनुरोध गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको किस्ता र ब्याज आगामि दुईवर्षसम्म तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताए । ऋणको किस्ता र ब्याज तिर्नका लागि बैंक तथा वित्तीय संस्थाले ताकेता गरिरहँदा व्यवसायीमा तनाव सिर्जना भएको उनीहरूले बताए । यस्तै ताकेता जारी रहने हो भने व्यवसाय सधंैका लागि बन्द गर्न सक्ने पनि उनीहरूले बताएका छन् ।  

‘बैंक तथा वित्तीय संस्थाले ऋणको किस्ता र ब्याज तिर्न ताकेता गरिरहेका छन् । व्यवसायीलाई वित्तीय संस्थाले अनावश्यक तनाव दिईरहेका छन,’ पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले बुधबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चिरञ्जीवी पोखरेलले भने,‘व्यवासायीले निकै नै ‘टर्चर’ खेपेका छन् । यस्तै हो भने व्यवसायको चाँबी नै बुझाउँछौ ।’ वित्तीय संस्थाले दिनहुँजसो व्यवसायीलाई फोन गरेर किस्ता तिर्न आउनु भन्दै दवाव दिँदा व्यवसायी आक्रान्त भएको उनले बताए ।  

‘हामीले ऋणको किस्ता र ब्याज अहिले तिर्न सक्दैनौ । त्यसैले सरकारले अहिलेको अप्ठेरोलाई पुर्नतालिकिकरणमा थपिदिनुपर्छ,’ उनले भने, ‘अहिलेको अप्ठेरोबाट पार पाउन नदिने हो ने हामी तालाचाँबी नै वित्तीय संस्थालाई बुझाउँछौ । तालाचाँबी बुझाउँदा हामी मात्र डुब्दैनौ, समग्र पर्यटन क्षेत्रसँगै बैंक तथा वित्तीय संस्था पनि डुब्नेछन् ।’ व्यवसायी खाडलमा पर्नु भनेको वित्तीय संस्था पनि खाडलमा पर्ने भएकोले सकेसम्म त्यो अवस्था आउन नदिन सरकारले विशेष सम्बोधन गर्नेमा आफुहरू विश्वस्त रहेको उनले बताए ।  

परिषद्का उपाध्यक्ष गोपिबहादुर भट्टराईले दुईवर्षसम्म ब्याज र किस्ता तिर्न नसक्ने भएकोले त्यो समय पछिका लागि थपिदिन अनुरोध गरेको बताए । ‘सरकारले व्यवसायीलाई बचाउने योजना नै बनाएको छैन । दोहोरो अंकको ब्याजदर घटाएर एकअंकमा झार्ने भनिएपनि लागु हुन सकेन,’ भट्टराइले भने, ‘कर्जा पुर्नतालिकिकरण गरिदिन पनि सरकारले उत्तिसारो चाँसो दिएको छैन ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज तिर्न व्यक्ति व्यक्तिलाई फोन गरिरहेका छन् । ‘यो बेला व्यवसायी नै बचाउने बेला हो । व्यवसायी नै बचाउन नसके कोही बाच्दैनन । त्यसैले अहिले आउने फोनको तनाव बन्द गरिदिनुपर्छ,’ उनले भने, ‘यो बेला दिनहुँ तनाव खेप्नुपरेको छ । यस्तो अवस्था नआओस ।’

व्यवसायीले वित्तीय संस्थाबाट लिएको कर्जाको किस्ता र व्याजलाई परिस्थिति सामान्य नहुँदासम्म पुर्नतालिकिकरण, पूँजीकरण तथा पुर्नकर्जाको माध्यमबाट सघाउन आग्रह गर्दै आएका थिए । त्यसबाहेक व्यवसायीले कोरोनाबाट प्रभावित व्यवसायका लागि छुट्याएको एकखर्ब रुपैयाँको पुर्नकर्जा कोष र ५० अर्ब रुपयाँको व्यवसाय संचालन कोषको उपयोग पूर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने माग पनि राखेका छन् । पर्यटन क्षेत्रमध्ये पोखरामा ठुलो लगानी रहेकोले सो पुर्नकर्जाकोष मध्ये अधिकतम रकम गण्डकी प्रदेशमा पठाउन नीतिगत व्यवस्था गरिदिन पनि सरकारसँग अनुरोध गरेका छन् ।  

पुर्नकर्जा कोषको सदुपयोग गर्ने अवसर विशेषगरि साना तथा मझौलास्तरका व्यवसायीलाई प्राथमिकतामा राख्नेगरि १० करोड रुपैयाँको थ्रेसहोल्ड सिमा राखेर सरल र सहज प्रक्रियामार्फत उपलब्ध गराइदिनुपर्ने व्यवसायीको माग रहेको छ । पर्यटन व्यवसायको लागि यो सुविधा न्यूनतम तीनवर्ष हुनुपर्ने उनले बताए । बैंक तथा वित्तीय संस्थाले मात्र पोखराको पर्यटन क्षेत्रमा करिब ७५ अर्ब रुपैयाँ लगानी गरेको व्यवसायीको भनाई छ ।  

त्यसैगरि गण्डकी प्रदेशबाट विनियोजित एकअर्ब रुपैयाँको व्यावसायिक जीवन रक्षा कोषको अधिकतम रकम कोरोनाबाट बढि प्रभावित पर्यटन व्यवसायलाई प्राथमिकतामा राख्न पनि व्यवसायीको माग रहेको छ । अध्यक्ष पोखरेलले अहिलेको अवस्थाबाट पार पाउनका लागि सरकारी सहयोगबिना सम्भव नभएको बताए । ‘सरकारले राष्ट्रबैंक हुँदै वित्तीय संस्थामार्फत हाम्रा माग पुरा हुनुपर्छ भन्ने हो । त्यसो हुन सकेन भने सबै व्यवसायी डुब्ने जोखिममा छन,’ उनले भने, ‘व्यवसायी बचाउने वा नबचाउने भन्ने सरकारको हातमा छ ।’

अर्का वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई अझै दुईवर्षसम्म पर्यटक आउने सम्भावना नभएको बताए । ‘हवाई र स्थलमार्ग सहज नहुन्जेल पर्यटक आगमन बढ्दैनन,’ भट्टराइले भने, ‘त्यसैले सरकारले बेलैमा व्यवसायलाई राहत हुने गरि कार्यक्रम ल्याउनुपर्छ ।’ कोरोनाको महामारीका कारण अरु क्षेत्रले चैतदेखि मार खेपेपनि पर्यटन क्षेत्रले माघदेखि नै मार खेप्न थालेको उनले बताए ।  

होटलसंघद्वारा गभर्नरको ध्यानाकर्षण

कर्जा र ब्याज भुक्तानि गर्न बैंक तथा वित्तिय संस्थाबाट चर्को दवाव आएको भन्दै पश्चिमाञ्चल होटल संघले आवश्यक समन्वय गरिदिनु भन्दै बुधबार नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष विकल तुलाचनले राष्ट्रबैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्लीराम पोखरेल मार्फत गभर्नरलाई ज्ञापनपत्र पठाएको हो । ‘व्यवसायीले कर्जा भुक्तान गर्ने स्थिति अहिले छैन । कर्जा भुक्तानको लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता गर्दै मानसिक दवाव आउँदा असहज परिस्थिति उत्पन्न हुन थालेको छ । असहज परिस्थितिको भागीदार बैंक तथा वित्तीय क्षेत्र हुने पनि जानकारी गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ ।  

लकडाउनसँगै पर्यटन तथा होटल क्षेत्रको कारोबार शून्य रहेको, तर पनि असार सकिने क्रमसँगै वित्तिय संस्थाबाट ताकेता आएको विज्ञप्तीमा उल्लेख छ । व्यवसायीहरू आर्थिक दायित्वबाट नभाग्ने तर कर्जा र साँवा चुक्ताको अवधि सरकारले थप्नुपर्ने अध्यक्ष तुलाचनले बताए ।  

लेकसाइड

 

लेकसाइडका होटल । तस्बिरःउमेश पुन÷नागरिक

 

 

प्रकाशित: २४ असार २०७७ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App