२२ असार २०७७ सोमबार
अर्थ

‘समुदायको सामान्य पहलमै हुन्छ सलह नियन्त्रण’

राष्ट्रिय धान दिवसको कार्यक्रम उद्घाटन गर्न सिन्धुली पुगेका कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलह भगाउन ‘मेटल म्युजिक’ बजाउन सकिने तरिका सुझाए। ‘हेभी मेटल म्युजिक बजेपछि जहाँको त्यही कक्रक्क हुँदो रहेछ,’ अस्ट्रेलिया बस्ने भाइले सिकाएको उपाय सापटी लिएको बताउँदै उनले थपे, ‘सलह जहिले आउला त्यसैबेला गरौंला भन्ने पनि थियो तर केही सूचना संकलन गर्ने काम पनि भएको थियो।’

अस्ट्रेलियाबाट उनलाई सुझाव आएकै दिन आइतबार उनकै अध्यक्षतामा बसेको छलफलमा सरोकारवाला निकायका अधिकारी र विज्ञहरूले सलह रोकथामका लागि दमकल र ड्रोनबाट तत्काल विषादी छर्किन सिफारिस पनि गरे। तर अहिले नै यो तहको ‘एक्सन’मा जान आवश्यक नरहेको तर्क उनले पेस गरे।

सलह नियन्त्रणका लागि बनेको प्राविधिक कार्यदलले यसपालि त्यो आउने सम्भावना कम रहेको बताएसँगै चुपचाप बनेको सरकार एक्कासि सलह आएपछि तात्यो तर नियन्त्रणका लागि के गर्ने भन्ने अन्योलमा प-यो। ‘सलह नियन्त्रणका लागि सरकार चुकेको हो भने त्यो राजनीतिक संरचनामा हो,’ कार्यदल सदस्यसमेत रहेका किट विशेषज्ञ समुन्द्रलाल जोशी भन्छन्, ‘चेन अफ कमान्ड नै भएन, हरेक प्रदेशले आ–आफ्नै तरिकाले काम गरेका छन्।’

संघस्तरमा विज्ञको जति सक्रियता छ, प्रदेशस्तरमा भएका विज्ञ र समुदाय यसको नियन्त्रणमा सक्रिय रहनुपर्ने उनको तर्क छ। ‘यसको नियन्त्रणका लागि गर्नुपर्ने केही होइन, सलहलाई जसरी हुन्छ बाधा पु¥याउने मात्र हो,’ जोशी भन्छन्, ‘आउँदै गरेको अवस्थामा चर्को आवाज दिने हो, रूखमा बसेकालाई हल्लाएर भगाउने हो, भुँइमा बसेको भए धपाउने, छोप्ने हो।’

कृषि विज्ञ मदन राईको सुझाव पनि जोशीसँग मिल्दो छ। उनी अफ्रिकी र मरुभूमि आसपासका मुलुकमा सधैं देखिने सलह नेपाल प्रवेश गर्दा सरकार हतास भएको मात्र ठान्छन्। ‘सलहभन्दा मान्छे धेरै चलाख छ, चाहे एक घन्टामा नियन्त्रणमा लिन सक्छ, धेरै मुलुकमा त यसलाई खाने जीवनशैली बनाएका छन्,’ उनी भन्छन्, ‘हाम्रो सरकार सलहमा विष छरेर मान्छे मार्ने बुद्धि लगाउँदैछ।’ विषले सलह नमर्ने बरु कमजोर बन्ने र त्यसलाई चरा वा किराले आएर उल्टो अरू पशुपन्छीदेखि मानवीय क्षति हुने उनी बताउँछन्। ‘यो त समुदायको सामान्य पहलमा नियन्त्रणमा ल्याउन सक्ने काम हो, अन्तर्राष्ट्रिय स्तरमा विषादी नछर्ने विकल्पमा बहस चलेको धेरै भयो,’ राई भन्छन्, ‘यसले विषादीको व्यापार र यसमै टेकेर परियोजना भित्र्याउनेले मात्रै लाभ लिने काम हुन्छ।’  

‘सलहभन्दा मान्छे धेरै चलाख छ, चाहे एक घन्टामा नियन्त्रणमा लिन सक्छ। हाम्रो सरकार सलहमा विष छरेर मान्छे मार्ने बुद्धि लगाउँदैछ।’-मदन राई, कृषि विज्ञ

राई संघीय सरकारभन्दा सामान्य गाउँपालिकको प्रयास बरु सार्थक देखिएको बताउँछन्। ‘धेरै स्थानीय तहले सलह समातेर ल्याए प्रोत्साहन रकम दिने प्रावधान ल्याएका छन्, सरकारले त्यही अभियानलाई सघाउ पु-याउने कार्यक्रम ल्याउन सक्दैन ?’ उनी भन्छन्, ‘समुदायलाई सलह संकलन गर्न जिम्मा दिने र आवश्यक प्रोत्साहन रकम उपलब्ध गराएर नियन्त्रणमा लिनुपर्छ।’ जम्मा गरिएको सलह कुखुरा र माछाको दानाका रूपमा प्रयोग गरेर फाइदा उठाउन सकिने राईको तर्क छ।

सलह आउने सम्भावना धेरै अघिदेखि  
कीट विशेषज्ञ जोशी नेपालमा एक्कासि आएको ठानिएको सलह आउने सम्भावना दुई वर्षअगाडि नै देखिएको बताउँछन्। ‘सन् २०१८ यता कम वर्षा हुने अफ्रिकी मुलुकमा नियमितभन्दा ३५ प्रतिशतले बढी वर्षा भएको छ, चिस्यान बढेसँगै व्यापक रूपमा सलहको वंश वृद्धि भयो,’ उनी भन्छन्, ‘मरुभूमि आसपासमा भएको खाना सिद्धियो, बाहिर चर्न जानुको विकल्प थिएन।’ उनी मरुभूमिसँग जोडिएका मुलुकमा सलह आएपछि ती मुलुकमा चलेको हावाको बहाव कता जाँदैछ भन्ने विश्लेषण गर्न सकिने बताउँछन्। उनी भन्छन्, ‘यस्ता कुरालाई सामान्य रूपमा लिनुभन्दा पनि हावाको चाप र आद्र्रताको अनुसन्धान गर्नुपर्छ।’

जोशी सलहले नेपालमा वंश वृद्धि गर्न नसके पनि कति समय रहने भन्ने कुरा हावाको बहाव र सलहको परिपक्वतामा निर्भर रहने बताउँछन्। ‘अपरिपक्व वयस्क सलह बढी खतरनाक मानिन्छ, जुन धेरै लामो दूरीसम्म उड्ने र खन्चुवा हुन्छ,’ उनी भन्छन्, ‘परिपक्व वयस्क खाना खाएपछि फुल पार्न मन गर्ने हुनाले तत्काल मरुभूमिको खोजीमा फर्कने सम्भावना हुन्छ।’

सलह अवसर पनि  
पुरानो कथन छ, ‘सलह आएको वर्ष अनिकाल, अर्को वर्ष सहकाल’। किट विशेषज्ञ जोशी यस कुरामा सत्यता रहेको बताउँछन्। सलहले बिस्ट्याएको मल असाध्यै राम्रो मानिने उनको भनाइ छ। ‘सलहले एकपटकम दुई ग्राम खान्छ, त्यसको ६५ प्रतिशत बिस्ट्याउँछ,’ उनी भन्छन्, ‘जुन अर्गानिक कृषि व्यावसायका लागि वरदानका रूपमै रहन्छ।’ त्यसको अतिरिक्त सलहमा अत्यधिक प्रोटिनको मात्रा हुने र यसलाई कुखुरा र माछालाई खुवाउन सके त्यसबाट फाइदा दिन सकिने बताउँछन्। तर, त्यसका लागि कीटनाशक विधिबाट मारिएको अवस्थामा प्रयोग गर्न नहुने उनको सुझाव छ।

जोशी बेलाबखतमा यस्तो प्रकोप देखिनु सरकारलाई तयारी र थप बन्दोबस्तीका लागि सचेत गराउन पनि सहयोग पुग्ने बताउँछन्। ‘सलहजस्तै अन्य समस्या पनि नआउलान् भन्ने हुँदैन, त्योसँग जुध्न तयार रहन सिकाउँछ,’ उनी भन्छन्, ‘समुदायलाई समेत यस्ता काममा जुट्ने संस्कृतिको विकास गर्न सहयोग पुग्छ।’

पाकिस्तानका दुई सरकारी अधिकारी मोहम्मद खुर्सिद र जाहेर अलीले यसको नियन्त्रणका लागि समुदाय सक्रियता सफल रहेको तथ्य पेस गरेका छन्। उनीहरूले समुदायलाई सलह जम्मा गरे प्रतिकिलो २० पाकिस्तानी रुपैयाँ प्रोत्साहन रकम दिँदा एक समुदायले एक रातमै सात टनसम्म जम्मा गरेको तथ्य प्रस्तुत गरेका छन्। उनीहरूले कुखुरा र माछाका लागि यसले दानाका रूपमा काम गर्ने बताएका छन्। उनीहरूको तर्क छ, ‘अन्य दानाबाट ४५ प्रतिशत प्रोटिन पाइन्छ तर यसले ७० प्रतिशत प्रोटिन दिन्छ।’

प्रकाशित: १६ असार २०७७ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App