१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रुपा गाउँपालिका योजना ‘कृषि वर्ष’ मनाउने

कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।  

विदेशिएका युवाहरु गाउँ फर्किदै गरेको अवस्थामा कृषिलाई आधुनिकिरण गर्दै युवा पुस्तालाई कृषिकर्म तर्फ प्रेरित गर्ने योजना समेत अघि सारिएको छ । त्यसको लागि सहुलीयतपूर्ण ऋण समेत उपलब्ध गर्ने उल्लेख गरेको छ । गाउँमा उत्पादित कृषिजन्य उत्पादनको बजारीकरण गर्ने दायित्व र जिम्मेवारी समेत गाउँपालिकाले नै लिने भन्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले ‘कृषि एम्बुलेन्स’ व्यवस्था गर्ने उद्घोष गरे ।  

‘गाउँमा उत्पादन भएका उत्पादित बस्तुहरु बजारीकरण गर्न सहज बनाउन कृषि एम्बुलेन्सको व्यवस्था गरी कृषि उपजलाई गाउँबाट बजारसम्म पुर्‍याईने छ’ उनले भने–‘किसानलाई समेत समस्या नपरोस भन्ने उद्देश्य राख्दै किसानलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानको व्यवस्था गरिने छ ।’ ताजा तरकारी विरुवा तथा फलफूल उत्पादनको लागि एक वडा एक नर्सरी स्थापनालाई विशेष जोड दिइएको छ ।  

आधुनिक तबरले खेती गर्नको लागि जग्गा चक्लाबन्दी गरि नयाँ प्रबिधीका भौगोलिक बनावट अनुसारको हाते ट्याक्टर, थ्रेसर मकै छोडाउने मेशिन लगायतका यान्त्रीकिकरणलाई विशेष जोड दिइने नीति समेत गाउँपालिकाले लिएको छ । गाउँलेले उत्पादन गरेको कृषिजन्य उपजलाई बजारीकरणमा सहजता ल्याउन वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने अभियानलाई मूर्तरुप दिईने उनले जनाए । साना किसानलाई उत्पादनमा जोड दिई एक घर एक करेसाबारी निर्माण गर्न जोड दिईने छ । रुपा गाउँपालिका भित्र रहेका बाँझो जग्गालाई ब्यवस्थापन गर्न भूमी बैंक मार्फत जग्गा ब्यवस्थापन गरी लिजमा लिने ब्यवस्था मिलाईएको उनले बताए ।  

जग्गा चक्लाबन्दी गर्नको लागि ५०% अनुदानको ब्यवस्था समेत मिलाइएको छ । चक्लाबन्दी गरेको जग्गामा अनिवार्य ब्यवसायिक खेती गर्नुपर्र्ने कार्यलाई निरन्तरता दिई कृषिकर्मलाई प्रवद्र्धन गर्ने नीति अख्तियार गाउँपालिकाले गरेको छ । एक टोल एक कृषक समूह गठन गरी किसानलाई समूहमा खेती गर्न उत्प्रेरित गर्नेतर्फ समेत गाउँपालिकाले अभिप्रेरित गर्ने नीति लिएको छ । अव्यवस्थित रुपमा मासुजन्य कटाईलाई व्यवस्थित गर्नको लागि गाउँपालिका भित्रका प्रत्येक वडामा बधशाला निर्माण गर्ने योजना गाउँपालिकाको छ । 

प्रकाशित: ८ असार २०७७ १६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App