१० श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

एक वर्षमा २५० उद्योग बन्द

चल्ने अवस्था नभएपछि कपिलवस्तुमा एक वर्षमा दुई सय ५० उद्योगधन्दा बन्द भएका छन्। 

गत आर्थिक वर्ष २०८२/०८३ मा एक सय ४५ उद्योग र एक सय पाँच वाणिज्य फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले जनाएको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ६५ साना उद्योग र एक सय ३७ वटा व्यावसायिक फर्म समेत बन्द भएका थिए।

गत आर्थिक वर्षमा तीन सय ५९ नयाँ उद्योग तथा तीन सय ५६ व्यावसायिक फर्म दर्ता भएका थिए। आर्थिक वर्ष २०८१/०८२ मा तीन सय ३३ साना उद्योग र तीन सय ७४ व्यावसायिक फर्म थपिएका थिए। गत आर्थिक वर्ष नौ सय ३७ उद्योग र छ सय ३६ वाणिज्य फर्मले नवीकरण समेत गराएका छन्।

‘एकै वर्षमा ढाइ सय उद्योगधन्दा बन्द हुनु दुःखद कुरा हो,’ व्यवसायी भन्छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि देशमा केही असहज स्थिति सिर्जना भए पनि नयाँ सरकार गठनपछि केही व्यवसायीमा केही आश जागेको छ।

‘उद्योगधन्दा खुल्ने क्रम राम्रो भए पनि एक वर्षमा ढाइ सय उद्योगधन्दा बन्द हुनु समेत दुःखद कुरा हो,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले भने। ‘युवाहरू विदेश पलायन हुने क्रम बढेपछि त्यसको असर समेत उद्योग र व्यापारमा परेको छ,’ खनालले थपे।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले उद्योगधन्दा खुलेको राम्रो भए पनि व्यवसायको वातावरण भने अझै हुन नसकेको बताए। ‘साना उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएका उद्योगधन्दा पनि चाडै बन्द हुने गरेका छन्,’ उनले भने। उनले सरकारले उद्योग र व्यापारको सहज स्थिति बनाउनुपर्ने माग गरे। ‘अहिले उद्योगी व्यवसायीलाई धेरै गाह्रो स्थिति रहेको छ,’ उनले भने।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाँले अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सिर्जना भएको बताए। ‘सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुन्छन्,’ उनी भन्छन्।

गत आर्थिक वर्ष उद्योग तर्फ ८४ करोड ६९ लाख तथा वाणिज्यतर्फ ९३ करोड ३० लाख पुँजी लगानी भएको छ। यस्तै एक सय ६९ महिला तथा दुई सय २८ पुरुष गरी तीन सय ९७ नयाँ उद्यमी बनेका छन्। यस्तै सो उद्योगबाट सात सय ६७ महिला तथा ८ सय ६ जना पुरुषले रोजगारी समेत पाएका छन्।

प्रकाशित: ९ श्रावण २०८३ १३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App