१६ चैत्र २०८० शुक्रबार
अर्थ

एउटै गाउँबाट १७ लाखको लसुन बिक्री

लसुन बिक्रीका लागि ट्याक्टरमा राख्दै किसान । तस्बिर : लोकेन्द्र/नागरिक

कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन । तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन । पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन् । गाउँमा सडक विस्तार भएसँगै गत वर्षदेखि चौखावाङका किसानले उत्पादन गरेको लसुन टयाक्टरमार्फत दाङ, नेपालगन्ज, बुटवल, पोखरासम्म पुग्ने गरेको छ ।  

लसुन उत्पादनका लागि राम्रो क्षेत्रका रुपमा रहेको चौखावाङमा सडक सञ्जाल पुगेपछि किसानले उत्पादन गरेको लसुन बजारसम्म सहज रुपमा बिक्री हुने गरेको यहाँका किसानको भनाइ छ । गत वर्ष गाउँमा राम्रो लसुन उत्पादन हुने गरेपनि भौगोलिक विकटताका कारण व्यापारी नआउँदा उत्पादन भएको लसुन पनि घरमै थन्किने गरेको थियो । सडक गाउँमा पुगेपछि बर्सेनि ठूलो परिणाममा निर्यात हुने थालेको छ ।  

गत वर्ष १२ लाख रुपैयाँको लसुन बिक्री गरेका उक्त गाउँबाट यो वर्ष अहिलेसम्म १७ लाख रुपैयाँको लसुन बिक्री भएको वडा नम्बर १० का वडासदस्य धनबहादुर खड्काले जानकारी दिए । गत वर्षभन्दा यो वर्ष पाँच लाख रुपैयाँ बढीको लसुन उत्पादन भएको उनको भनाइ छ ।  

गाउँसम्म सडक पुगेको थाहा पाएपछि व्यापारीले लसुन उठाउन गाडी ल्याएर गाउँमै पुगेका थिए । यो वर्ष एक सय ४० क्विन्टल लसुन बिक्री भएको वडा सदस्य खड्काले जनाए । बिक्री भएको लसुन मध्ये एक सय ६ क्विन्टल जिल्लाबाहिर र ३४ क्विन्टल जिल्लाभित्र लसुन बिक्री भएको छ ।

जिल्लाबाहिर लसुन बिक्रीबाट १३ लाख रुपैयाँ र जिल्लाभित्र बिक्री गरेको लसुनबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी भएको वडाध्यक्ष गोपीराम केसीले जानकारी दिए । किसानले उत्पादन गरेको लसुन गाउँबाटै प्रतिकिलो ८० रुपैयाँका दरले बिक्री भएको उनको भनाइ छ ।  

यहाँका किसानलाई व्यावसायिक लसुन खेतीका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आएको छ । वडा कार्यालयमार्फत चालु आर्थिक वर्षमा किसानलाई दुई हजार दुई सय किलो लसुनको बीउ वितरण गरेको थियो । यसका साथै प्राविधिक रुपमा आवश्यक पर्ने तालिम तथा औषधि समेत सहयोग गरेको वडा सदस्य खड्काले जानकारी दिए ।  

पुस्तौंदेखि डोकोमा लसुन बोकेर सहरबजार पुर्याउँदै आएका चौखावाङका किसानले सडक बनेपछि ट्याक्टरमार्फत निर्यात गर्दै आएका छन् । यहाँ कर्णाली प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ४० लाख रुपैयाँ अनुदानमा सडक निर्माण भएको हो ।

प्रकाशित: १ असार २०७७ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App