भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।
कैलाली गौरीगंगा नगरपालिका–१ माघी गाउँका जुद्धबहादुर साउदले चिन्ता व्यक्त गर्दै भने, ‘भारतको आगराबाट नेपालको सुदूरपश्चिम क्षेत्र पाँच सय किलोमिटरको दूरीमा छ, सलह यहाँ आउन सक्छ, त्यसको न्यूनीकरण र रोकथामका उपायबारे सरकारले चाँडै पहल गर्नुपर्छ ।’ राष्ट्रिय कृषक समूह महासंघ नेपालका सुदूरपश्चिम कार्यसमिति अध्यक्ष प्रकाशबहादुर थापाले सुदूरपश्चिम प्रदेश सलहको पहिलो जोखिममा पर्ने भएकाले संघीय तथा प्रदेश सरकार चनाखो हुनुपर्ने बताए । ‘सलह आइपुगे सुदूरपश्चिमका किसानको बर्खेबाली, तरकारी खेती नष्ट हुन सक्छ,’ उनले भने ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टका अनुसार प्रदेश अहिले यसबारे चिन्तित छ । ‘हामी निकै चिन्तित बनेका छौं,’ उनले भने, ‘भारतको आगराबाट नेपालको नजिक कैलाली कञ्चनपुर भएकाले यहाँ सतर्कता अपनाउन हामी छलफलमा जुटेका छौं ।’ यसका साथै सलह आउनेबित्तिकै त्यसको निराकरण गर्न एकीकृत व्यवस्थापन विधि अपनाउनुका साथै विषादी, शत्रु जीवको खोजी गरिरहेको उनले बताए । ‘हामी सलहको दुस्मनको खोजी गरिरहेका छौं,’ उनले भने, ‘सलहलाई हाँसले पनि नियन्त्रण गर्ने भएकाले किसानलाई त्यसको व्यवस्थापनका लागि पनि सुझाव दिने तयारीमा छौं ।’
बर्दियामा फट्यांग्राको प्रकोप
पछिल्लो समय मकैमा र धानको ब्याडमा फट्यांग्रा बढ्दै गएपछि किसान मर्कामा परेका छन् । फट्यांग्राले मकैको डाठ र पात नै खाइदिँदा मकै भिœयाउने बेलामा बोट सुक्दा उत्पादन घटेको छ । फट्यांग्राको प्रकोपले धानको उत्पादन घट्ने प्राविधिकको अनुमान छ ।
फट्यांग्राले धानको बिउँ र ब्याड नै खान थालेपछि किसान फट्यांग्रा प्रकोपले आतकित बन्दै गएका छन् । भारतमा आएको सलहको सम्भावित प्रवेश रोक्न पूर्वतयारी चलिरहेका बेला फट्यांग्राको प्रकोप बढ्दै गएको कृषि ज्ञान केन्द्रका बाँके र बर्दियाका प्रमुख सागर ढकालले बताए । केन्द्रको टोलीले आइतबार बर्दियामा बढैयाताल गाउँपालिकाको केहि क्षेत्र अनुगमन गरेको थियो । सोही टोलीले फट्यांग्राको प्रकोप बढेको पुष्टि गरेको हो ।
बढैयाताल गाउँपालिकाको रानीपुर, बोगटिया, तिलकाना, मैनापोखर र पचासामा प्राविधिक टोलीले स्थलगत अनुगमन फट्यांग्राको प्रकोप बढ्दो रहेको प्राविधिकको निष्कर्ष छ । प्राविधिकका अनुसार थोरै क्षेत्रफलमा लगाइएको बाली र सुक्खा क्षेत्रमा प्रकोप बढ्दै गएको छ ।
नेपाल–भारतको दक्षिण सीमावर्ती क्षेत्रबाट उत्तरसम्म यस फट्यांग्राको प्रकोप भेटिएको छ । जिल्लाका आठै स्थानीय तहमा यसको प्रकोप बढ्दै गएपछि किसान चिन्तामा परेका हुन् । जिल्लाको मधुवन नगरपालिकाका विभिन्न वडामा फट्यांग्राले बाली सखाप बनाएको छ । मकै, धानको बीउ तथा जुनसुकै खाले हरियो बोट, बिरुवा फट्यांग्राको झुन्डले नष्ट गरिरहेको छ ।
मधुवन क्षेत्रमा अलि बढी भएको मधुवन नगरपालिका वडाध्यक्ष भक्त सुनारले बताए । मधुवन नगरपालिकाका माचर, मधुवन, बाँधर भरिया, ताराताल, लालीबजार र जैविकमार्ग गत्रका खाता र वसन्तालगायत गाउँमा फट्यांग्राले उत्पादन प्रभावित पार्ने देखिएको छ ।
‘यो सलह हो कि भनेर मानिसहरू डराएका छन् तर स्थानीय फट्यांग्रा हो, यसको नियन्त्रण सम्भव छ,’ कृषि ज्ञान केन्द्रका कर्मचारीले भने । प्राविधिकका अनुसार फट्यांग्रा नियन्त्रण विषादी तयार गर्न सकिन्छ । ब्रान्ड र नुन, ब्रान्ड, नुन र विषादी तथा मालाथिन, क्लोरो र पाइथरियस विषादीबाट फट्यांग्राको जोखिम नियन्त्रण गर्न प्राविधिक सुझाउँछन् । प्राविधिकका अनुसार प्रकोप नियन्त्रणका लागि ब्याड राखेको ठाउँमा हिलो बनाएर राख्दा फट्यांग्राको झुन्डले धेरै नोक्सान गर्न सक्दैन ।
प्रकाशित: २१ जेष्ठ २०७७ ०१:१५ बुधबार