काठमाडौं - नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका सबै मुलुकको अर्थतन्त्र प्रभावित बनेका बेला नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आय घट्दै गएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष नेपाली युवाले विदेशमा काम गरेर पठाएको रेमिटेन्स आय घट्दै गएको हो। चालु आवको सात महिना (फागुन) सम्ममा रेमिटेन्स आय ०.५ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। फागुनसम्ममा पाँच खर्ब १३ अर्ब २१ करोड रेमिटेन्स आएको छ। अघिल्लो वर्षयो समयमा रेमिटेन्स २८.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा हेर्दा रेमिटेन्स आयमा ०.२ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो। यो अवधिमा अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ।
अघिल्लो वर्ष यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो। पुनः श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अहिले ०.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यो अवधिमा विदेश जानेको संख्या ४.९ प्रतिशतले बढेको थियो। कोरोनाका कारण वैदेशिक रोजगारी प्रभावित भएको बेला रेमिटेन्स आयमा भएको कमीले आगामी दिनमा समस्या आउने देखिएको छ। राष्ट्र बैंकका अनुसार फागुनमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ६.८७ प्रतिशत छ। चालु आवको औसत मुद्रास्फीति भने ६.४७ प्रतिशतपुगेको छ। अघिल्लो वर्ष यो ४.३५ प्रतिशत थियो।
यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.६५ प्रतिशत छ। यस्तै, खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दालतथा गेडागुडी र माछा–मासु उपसमूहको मूल्यवृद्धि उच्च छ। गैरखाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ। राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ७.५८, तराईमा ७.२९, पहाडमा ५.४६ र हिमालमा ५.२८ प्रतिशत मुद्रास्फीति छ। गत माघमा यी क्षेत्रमा क्रमशः ५.१९ प्रतिशत, ३.४४ प्रतिशत, ४.९१ प्रतिशत र ५.२७ प्रतिशत मुद्रास्फीति थियो।
चालु आवको सात महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले बढेको छ। यो अवधिमा ६४ अर्ब ९७ करोड रुपैयाँका वस्तु निर्यात भएका छन्। अघिल्लो वर्ष यस्तो निर्यात १२.५ प्रतिशतले बढेको थियो। भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिस्टर तथा अन्य), लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, तामाको तार लगायत वस्तुको निर्यात घटेको छ।
– फागुनमा मुद्रास्फीति ६.८७ प्रतिशत
– आयात ३.६ प्रतिशतले घट्यो
– निर्यात २२.४ प्रतिशतले बढ्यो
– रेमिटेन्स आयमा ०.५ प्रतिशत कमी
– शोधनान्तर २१ अर्ब ६१ करोड बचत
–विदेशी विनिमय १०९६ अर्ब ६८ करोड
–सरकारको खर्च ४४९ अर्ब २३ करोड
–राजस्व ५५१ अर्ब ८२ करोड
यस्तै, फागुनमा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेको छ। यो अवधिसम्म ८०३ अर्ब ६० करोड बराबरका वस्तु आयात भएका छन्। अघिल्लो वर्ष आयात २६ प्रतिशतले बढेको थियो। भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ र ०.८ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हट रोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायत वस्तुको आयात घटेको छ। चालु आवको सात महिनामा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले घटेर सात सय ३८ अर्ब ६३ करोडमा सीमित हुन पुगेको छ। गत वर्ष योे घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो। निर्यात–आयात अनुपात ८.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षयस्तो अनुपात ६.४ प्रतिशत थियो।
राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता घाटा एक सय १२ अर्ब १५ करोड पुगेको छ। अघिल्लो वर्षयस्तो घाटा एक सय ६६ अर्ब ६७ करोड थियो। यस्तै, प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड आएको छ। अघिल्लो वर्ष प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १५ करोड आएको थियो। यसैगरी, फागुनसम्ममा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा छ। अघिल्लो वर्ष यो ४९ अर्ब ३२ करोडले घाटामा थियो। राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति माघसम्ममा ५.६ प्रतिशतले बढेर १० खर्ब ९६ अर्ब ६८ करोड बराबर पुगेको छ। राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति पर्याप्त भएको बताएको छ। बैंकका अनुसार अहिलेको मौज्दातले ९.७ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्छ।
यस्तै, संघीय सरकारको बैंकिङ कारोबारमा आधारित खर्च चार खर्ब ४९ अर्ब २३ करोड र राजस्व परिचालन पाँच खर्ब ५१ अर्ब ८२ करोड छ। बैंकका अनुसार यो अवधिमा विस्तृत मुद्राप्रदाय ५.६ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.८ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.४ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.९ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.६ प्रतिशत र कर्जाको वृद्धिदर १४.१ प्रतिशत छ।
प्रकाशित: ६ चैत्र २०७६ ०३:०७ बिहीबार