१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

बनेपाका होटल रेस्टुराँलाई लोगो र स्टिकर

बनेपा - खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले बनेपाका १४ वटा होटल, रेस्टुराँ तथा बेंकेटहरुलाई खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्वच्छता स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको छ। कार्यालयले बनेपा नगरपालिकाका होटल, रेस्टुराँ तथा बैंकेटका सञ्चालकहरुलाई खाद्य स्वच्छता सचेतना कार्यक्रम र स्तरीकरण निर्देशिकाबारे यसअगाडि नै जानकारी दिइसकेको धुलिखेल डिभिजन प्रमुख एवं खाद्य निरीक्षक शिवप्रसाद भण्डारीको भनाइ छ।

उनी भन्छन्, ‘निर्देशिकामा उल्लेखित ५० वटा सूचकका आधारमा डिभिजनले होटल संघको सहकार्य र सरोकारवालाको सहभागितामा टोली बनाएर होटल, रेस्टुराँ तथा बैंकेटहरुको अनुमगन गरेका थियौं। अनुगमनपछिको स्तरीकरण मूल्यांकनका आधारमा होटल, रेस्टुराँ तथा बैंकेटहरुलाई चार किसिमले वर्गीकरण गरेका छौं।’

होटल व्यवसायी, जनप्रतिनिधि तथा डिभिजनको टोलीले मूल्यांकनमा समावेश गरेका १४ वटा होटल, रेस्टुराँ तथा बैंकेटले प्राप्त गरेको अंकका आधारमा अति उत्तम, उत्तम र सन्तोषजनक श्रेणीका लोगोसहितको हरियो स्टिकर एवं सामान्यस्तरका लागि पहेँलो स्टिकर प्रदान गरेको हो। काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले स्तरीकरण प्रमाणपत्र प्रदान गरेका हुन्।

मूल्यांकनमा एउटा होटल, एउटा पार्टी प्यालेस र तीनवटा फास्टफुड रेस्टुराँले उत्तम (दुई तारा), ६ वटाले (एक तारा) र तीनवटाले सामान्य स्टिकर पाएका थिए। मूल्यांकनका क्रममा होटल सत्यम, अरनिको पार्टी प्यालेस, झिगु रेस्टुराँ र भिआइपी नेवारी खाजा तथा थकाली भान्साघर र द अरनिको फेमिली फुड क्याफेले उत्तम स्तरीकरणसहित दुई तारा भएको हरियो स्टिकर पाए।

यस्तै, पञ्चकन्या बैंकेट, द अरनिको फास्ट फुड क्याफे, सिटी फुड क्याफे, नेवा किचेन, प्याराडाइज तन्दुरी क्याफे र होटल उग्रचण्डीले सन्तोषजनक स्तरीकरणसहित एक तारा भएको हरियो स्टिकर पाए। केएन बैंकेट, कायस्थ बैंकेट र बनेपा भिलेज रिसोर्टले सामान्य पहेँलो स्टिकर पाएका छन्।

हालको स्तरीकरण प्रक्रियामा औंल्याइएका कमी कमजोरीलाई सुधार गर्दै होटल रिसोर्टहरुले पुनः मूल्यांकनका लागि आवेदन दिन सक्ने भण्डारीले जानकारी दिए। ‘पहिलोपटक स्तरीकरण भएको हुँदा निर्देशिकामा रहेको ५० वटै सूचकबारे सबैले राम्ररी थाहा नपाएको हुन सक्छ’, उनले भने,  ‘निर्देशिकाले सबै सूचकहरु पुरा गर्न सकेँ कि सकिनँ भनेर होटल, रेस्टुराँ तथा बैंकेट आफैंले पनि ‘सेल्फ अडिट’ गर्न सक्ने व्यवस्था गरेको हुँदा भावी मूल्यांकनमा उहाँहरुलाई सजिलो हुनेछ।’

यसअघि पनि धुलिखेल डिभिजन र काठमाडौं डिभिजनले नगरकोट क्षेत्रका होटल तथा रिसोर्टको खाद्य स्वच्छता मूल्यांकनका आधारमा स्तरीकरणका साथै स्टिकर प्रदान गरिसकेको छ। डिभिजन कार्यालय धुलिखेलले काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ र २ का ३४ वटा होटल तथा रिसोर्टको अनुगमन गरेको थियो भने भक्तपुरको चाँँगुनारायण नगरपालिका–६ र ८ का १४ वटा होटल तथा रिसोर्टलाई काठमाडौं डिभिजनले अनुगमन गरेको थियो।
मूल्यांकनमा तीनवटा होटल तथा रिसोर्टले अति उत्तम (तीन तारा), दुईवटाले उत्तम (दुई तारा), २० वटाले (एक तारा) र २१ वटाले सामान्य स्टिकर पाएका थिए। मूल्यांकनमा तोकिएको न्यूनतम अंक नपुगेका दुई होटललाई जोखिम भन्दै सुधारात्मक निर्देशन दिइएको थियो।

मूल्यांकनका क्रममा क्लब हिमालय रिसोर्ट, होटल मिस्टिक माउन्टेन र होटल कन्ट्री भिल्लाले अति उत्तम स्तरीकरणसहित तीन तारा भएको हरियो स्टिकर पाए। ती रिसोर्टले क्रमशः ९५, ९२ र ९१ अंक प्राप्त गरेका थिए। यस्तै, बोजिनी नगरकोट रिसोर्ट र होटल हिमालयन भिल्लाले उत्तम स्तरीकरणसहित दुई तारा भएको हरियो स्टिकर पाएको छ।

धुलिखेलस्थित क्षेत्रीय होटल संघको सहकार्यमा डिभिजनले धुलिखेलका १८ वटा होटल तथा रिसोर्टहरुको खाद्य स्वच्छता मूल्यांकनका आधारमा स्तरीकरणका साथै स्टिकर प्रदान गरिसकेको छ। हालसम्म धुलिखेल डिभिजनले ६६ वटा होटल, रिसोर्ट, रेस्टुराँ र बैंकेटहरुको खाद्य स्वच्छता मूल्यांकन र स्तरीकरणको कार्य सम्पन्न गरिसकेको भण्डारीले जानकारी दिए।

‘धुलिखेल डिभिजनको कार्यक्षेत्र सिन्धुपाल्चोक र दोलखा जिल्लासमेत भएको हुँदा आगामी दिनमा ती जिल्लाका होटल, रिसोर्ट, रेस्टुराँ र बैंकेटहरुको खाद्य स्वच्छता मूल्यांकन र स्तरीकरणको प्रक्रियालाई अगाडि बढाउने योजनामा छौं,’ उनले भने।

प्रकाशित: २० फाल्गुन २०७६ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App