९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

पोहोर फाल्न परेपछि यसपालि खेती नै कम

किसान पुरन महतो तरकारी फार्ममा। तस्बिर: प्रेम/नागरिक

काठमाडौं - चितवन, खैरहनीका कृषक पुरन महतोले पोहोर माघमा खेतभरी फलाएर बिक्री गर्न तयार बन्दाले बजार नपाएपछि डोजर लगाएर फाल्नुप-यो। एकाएक समाचार बनेका महतो त्यो सम्झदै भन्छन्, ‘दुई रुपैयाँ किलोको दरले पनि मूल्य पाइएन। यसै पनि सडेर जाने, त्यसमाथि अर्को बाली लगाउनका लागि पनि त्यसलाई खेतबाट हटाउनुपथ्र्यो।’ उनले मुला पनि त्यसरी नै नष्ट गरेका थिए। तर त्यसको समाचार बनेन।

पोहोर साल तरकारीले मूल्य नपाएपछि तर्सिएका महतोले यसपालि बन्दा धेरै कम मात्र रोपे। उनको खेतमा अन्य तरकारी पनि कम छ। गत वर्ष १० बिघामा तरकारी खेती गरेकोमा यसपालि जम्मा तीन बिघामा गरेको उनले सुनाए। पोहोर उनले दुई बिघाभन्दा बढीमा बन्दा मात्र लगाएका थिए। ‘कामदार उस्तै महँगा छन्।जोताइ महँगो छ।भनेको बेला मल पाइन्न,’ उनले भने। ‘त्यसमाथि बेच्ने बेला मूल्य नपाउने।’

खैरहनी तरकारी ब्लकका अध्यक्ष समेत रहेका किसान गणेश ढुंगानाले पनि गतवर्ष एक लाख लगानी गरेर आठ कट्ठामा फलाएको काउलीमा डोजर चलाए। ‘तीन रुपैयाँ पनि मूल्य नपाएपछि मल त काम लाग्छ भनेर नष्ट गरें,’ उनले भने, ‘पोहोर जस्तै हुने त्रासले आँटै आएन यसपटक तीन कट्ठामा मात्र काउली रोपेको छु।’

अहिले ब्लकका सदस्य रहेका दुई सय किसानमा लगभग सबैले तरकारी कम रोपेको उनले बताए। ‘केही किसानले त अहिले तरकारी नै लगाएका छैनन्। एग्रोभेटहरुमा बुझ्दा धेरै कम परिमाणमा बीउ खरिद भएको पाएको छु,’ उनले भने, ‘गएको वर्ष १६ किलो बीउ बेच्नेले अहिले चार किलो मात्र बीउ बेचें भन्ने पाएँ।’

एकातिर बीउ र औषधी महँगो त्यसमाथि मूल्य नै नपाउने अवस्थाले किसानमा खेती गर्ने जाँगरै मरेको उनको तर्क छ। उनले भने, ‘अहिले तरकारीले मूल्य त राम्रै पाएको छ तर विस्तारै पछिल्ला फसलले मूल्य पाउन छाड्छ।’ उनले राज्यले किसानलाई व्यावसायिक बन्न भने पनि सुविधा दिन चुकेकै कारण अप्ठेरो भएको बताए। ‘एउटा वडालाई एक लाख बजेट छुट्ट्याइएको भनिन्छ, त्यसबाट सबैले कसरी लाभ लिनु,’ उनले भने, ‘त्यो पनि तालिम,भ्रमण के के नाममा खर्च गरिन्छ किसानलाई पत्तै हुन्न।’

पुरन महतोले पनि यसपालि काउली खेतबाटै ४० रुपैयाँ किलोमा बेचिरहेका छन्। बन्दा भर्खर तयार हुँदैछ। १५ देखि २० रुपैयाँसम्मभाउ पाउनेमा उनी आशावादी छन्। मुला १५ र भन्टा २० रुपैयाँ किलोमा बिकिरहेको छ। ‘यो हाम्रो लागि धेरै राम्रो मूल्य हो। यसमा १०–५ रुपैयाँ कम हुँदा पनि घाटा पर्दैन,’ उनी भन्छन्, ‘तर मूल्य पाउन त के बिक्री नै नहुने अवस्था आउँदा पो अत्यास लाग्छ।’

आफूले मूल्य पाए पनि उपभोक्ता आँखैअगाडि ठगिँदा उनलाई चित्त बुझेको छैन। बिचौलियाको कारण किसान र उपभोक्ता दुवै ठगिएको उनको तर्क छ। ‘मबाट ४० मा किनेको काउली मेरै अगाडि सय रुपैयाँ किलो बिक्री गरें,’ उनले भने, ‘नाफा पनि एउटा सीमासम्म खान मिल्ने गरी निगरानी राख्न कसैको ध्यान पुगेन।’

गतवर्ष मूल्य नपाएको कारण बन्दा कम उत्पादन भएको प्रभाव आयातमा देखिन थालेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालीमाटीमा पोहोर वर्षभरमा भित्रिएको एक लाख १६ हजार पाँच सय ८२ क्विन्टल बन्दामा१६ सय ७२ क्विन्टल मात्र भारतबाट आएकोमा यो वर्ष यही महिनामा मात्र ३६ सय ९५ क्विन्टल बन्दाआएको छ।

गत वर्ष यही समयमा बजारमा २५ रुपैयाँप्रतिकिलो रहेको बन्दाको मूल्य अहिले ५५ रुपैयाँछ। समितिका सूचना अधिकारी विनय श्रेष्ठ पनि बन्दा र गोलभेंडाको आन्तरिक उत्पादन कम भएको कारण भारतबाट आइरहेको बताउँछन्। उनी भन्छन्, ‘गत वर्ष बन्दा,काउलीले मूल्य नपाउँदा त्यसको आयातमा प्रभाव देखिन थालेको छ।’

हिउँदे तरकारीले मूल्य घटयो
तरकारीको सिजनसुरुभएसँगै बजारमा यसको आयात बढ्दै गएको श्रेष्ठ बताउँछन्। ‘तरकारीको आगमन दर तुलनात्मक रुपमा बढ्दै गएको छ। यसले मूल्य पनि विस्तारै कम हुँदै गएको छ,’ उनले भने, ‘गत वर्ष कै तुलना गरेर त नहोला तर विगत केही महिनादेखिको उच्च मूल्य विस्तारै कम हुन्छ।’ कालीमाटीमा काठमाडौं आसपास जिल्लाबाट मात्र बढीतरकारी आउने गरेकोमा तराईबाट पनि तरकारी आउन थालेको छ।

कालीमाटी तरकारी बजारको तथ्यांक हेर्दा गत महिनाको तुलनामा मौसमी तरकारीको मूल्य केही सस्तो देखिएको छ। भारतीय प्याजको मूल्य घटेको छैन, चिनियाँ प्याज भारतीयभन्दा केही सस्तो देखिए पनि महँगै छ। आलु, करेला, लौका, च्याउ, खुर्सानीको मूल्य गत महिनाभन्दा महँगो छ। बन्दा, काउली, गाँजर, मुला, सिमी, साग लगायत सिजनल तरकारीको मूल्य १० देखि ५० प्रतिशतसम्म मूल्य घटेको छ।

प्रकाशित: ८ पुस २०७६ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App