१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तरकारीको मूल्य आकासियो

नेपालगन्जको रानी तलाउस्थित तरकारी मण्डी। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – नेपालगन्जमा तरकारीको मूल्य ह्वात्तै बढेको छ। मूल्य बढेपछि उपभोक्ता मर्कामा परेका छन्। यहाँका तरकारी मण्डीमा विगत एक सातादेखि तरकारीको मूल्य ह्वात्तै बढेको हो। रानी तलाउ तरकारी मण्डीका अनुसार तरकारीको मूल्य अहिले दोब्बर पुगेको छ। यसअघि प्रतिकिलो ८० रुपैयाँमा बिक्री भइहेको परबरको मूल्य सोमबारसम्म एक सय ६० रुपैयाँ पुगेको छ।

यस्तै खुर्सानी एक सय रुपैयाँ बढेर दुई सय, टमाटर ७० बाट बढेर एक सय १०, काउली ६० बाट बढेर एक सय १०, काँक्रो ६० बाट बढेर ८०, आलु २० बाट बढेर ३०, प्याज ४० बाट बढेर एक सय १० रुपैयाँ पुगेको छ। यसैगरी फर्सी प्रतिकिलो ४० बाट बढेर ६०, लौका ४० बाट बढेर ६० रुपैयाँ पुगेको व्यापारीको भनाइ छ। दिपावलीको पूर्वसन्ध्यामा तरकारीको मूल्य छोइनसक्नु भएपछि उपभोक्ता चिन्तित भएका छन्।

रानी तलाउ तरकारी मण्डीमा किनमेलका लागि पुगेका उपभोक्ता दिलिप झाँ तरकारीको मूल्य एक्कासी बढ्दा आफूहरु मर्कामा परेको बताउँछन्। ‘मूल्य एक्कासी बढेपछि तरकारी किनेर खानै समस्या भयो,’ उनले भने। सरकारले तरकारी बजार अनुगमन गर्नुपर्ने उपभोक्ताको माग छ। उपभोक्ता अधिकारकर्मी वसन्त गौतम तरकारी बजारमा नियमनकारी निकायको ध्यान जानुपर्ने बताउँछन्। ‘तरकारी बजारलाई नियमनकारी निकायले अनुगमन गर्नुपर्ने हो, नियमनकारी निकायको ध्यान किन पुग्न सकेको छैन ?’ गौतमले भने, ‘तरकारी उत्पादन गर्ने किसानले राम्रो मूल्य नपाउने, उपभोक्ताले महंगोमा किन्नुपर्ने अवस्था छ, मूल्य बढाउनमा बिचौलियाको भूमिका धेरै हुन्छ।’

नेपालगन्ज क्षेत्र तरकारीका लागि अहिले पनि भारतकै भर पर्नुपर्ने बाध्यता छ। भारतीय बजारमा आउने उतारचडावले यहाँको तरकारी बजार प्रभावित हुने व्यापारी बताउँछन्। भारतको विकल्पमा सल्यानबाट तरकारी आउने गरे पनि उपभोक्ताको मागअनुसार आपूर्ति कम हुने व्यापारीको भनाइ छ। रानी तलाउ तरकारी मण्डीका व्यापारी भण्डु राईले केही समयदेखि तरकारीको मूल्य ह्वात्तै बढेको स्वीकार गर्छन्।

‘नेपालगन्जको बजारलाई भारतले नै धानेको छ, सल्यानको कपुरकोटबाट पनि तरकारी आउँछ,’ उनले भने, ‘पहिलेको भन्दा अहिले तरकारीको भाउ धेरै बढेको छ।’ भारतबाट आउने तरकारीभन्दा कपुरकोटको तरकारीको मूल्य सस्तो भए पनि उपभोक्तालाई पु-याउन नसक्ने राईले सुनाए। स्थानीय चुनावका कारण भारतले शनिबार बेलुका ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्मका लागि सीमानाका बन्द गरायो। यसबीचमा भारतबाट तरकारी नआउँदा नेपालगन्जमा मूल्य झन् बढेको व्यापारी राईले बताए। अर्का व्यापारी राजु राईले भारतबाटै तरकारीको मूल्य बढेर आउँदा स्वभाविक रुपले मूल्य बढाउनु परेको सुनाए। ‘भारतबाटै महंगो मूल्यमा तरकारी भित्रिरहेको छ, भारतको भन्दा कपुरकोटको तरकारी सस्तो मूल्यमा आउँछ, तर तरकारी नै कम आउँछ,’ उनले भने, ‘भारतमा भएको चुनावको कारणले बोर्डर बन्द भयो, बोर्डर बन्द हुँदा त झन् तरकारी अभाव भयो र मूल्य पनि बढ्यो।’

मण्डीमा प्रायः भारतीय तरकारीको कारोबार हुने व्यापारी बताउँछन्। स्वदेशी तरकारीले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसक्दा भारतीय तरकारीमाथि भर पर्नुपरेको हो। स्थानीय स्तरमा नियमित रुपमा तरकारी उत्पादन गर्ने किसान कम छन्। भारतबाट तरकारी रोकिनेबित्तिकै मूल्य आकासिने व्यापारीको भनाइ छ। स्वदेशमै ठूलो परिमाणको तरकारी उत्पादन भएमा भारतमाथिको परनिर्भरता हट्न सक्ने व्यापारी बताउँछन्।

प्रकाशित: ६ कार्तिक २०७६ ०२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App