१६ चैत्र २०८० शुक्रबार
अर्थ

उद्योगीलाई मागअनुसार बिजुली दिन पूर्वाधार निर्माण तीव्र

काठमाडौं – उद्योगीले मागेअनुसार विद्युत् पाएनन् भन्ने गुनासो समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले प्रदेश ५ मा भौतिक पूर्वाधार निर्माणको कामलाई तीव्र पारेको छ।

प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ।

प्राधिकरणका अनुसार बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२-३३-११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ। सो प्रसारण लाइनले बुटवल तथा भैरहवा आसपासका क्षेत्रमा विद्युत् उपलब्ध गराउन ती प्रसारण लाइन सहज हुनेछ।

रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ। दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्नेछ। रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत् आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन सो आयोजनाको निर्माण भइरहेको हो।

यस्तै चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत पुगेको छ। कूल २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नु पर्नेछ। त्यसमध्ये ४० टावरको जग हालिएको छ। बर्दघाट सबस्टेसनको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्या समाधान भइसकेको र निर्माण सामग्री आयोजना स्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिनाभित्र सकिनेछ। प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत् नपाएको गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिबार आयोजनाको निर्माणस्थल निरीक्षण गरेको प्राधिकरणले जनाएको छ।

सो अवसरमा कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग लगायतमा देखिएका समस्याबारे जानकारी लिएका थिए। उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र र मैनहिया सबस्टेसनको काम आगामी पुसभित्र सक्न निर्देशन दिएका छन्। प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीले तोकिएकै समयमा कामसक्ने उनले प्रतिबद्धता जनाए।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी ठाउँ उपलब्ध गराउँछौँ, अत्यन्तै महत्वका आयोजनाको निर्माण जतिसक्दो छिटो सम्पन्न गर्न जनशक्ति थप्नुहोस्, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौं, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्थाअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले निर्माण व्यवसायीलाई निर्देशन दिँदै भने। ‘हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई मागअनुसारको विद्युत् दिन सकिरहेका छैनौँ, तपाईंहरूले छिटो काम गरिदिनुभयो भने विद्युत् माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत् चुहावट करीब पाँच प्रतिशत घट्छ,’ उनले भने।(रासस)

प्रकाशित: ६ आश्विन २०७६ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App