१५ चैत्र २०८० बिहीबार
अर्थ

विद्युत् चुहावट अझै १६ प्रतिशत

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले तीन वर्षअघि लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि विद्युत् चुहावट अझै १६ प्रतिशत कायमै छ।

प्राधिकरणले विगतको वर्षका तुलनामा चुहावट प्रतिशत उच्च दरले घटाए पनि अझै वार्षिक चुहावट दर उच्च नै देखिन्छ। प्राधिकरणले गत आर्थिक वर्ष ०७५/७६ को असार मसान्तसम्म वार्षिक विद्युत् चुहावटको औसत दर १५.९० प्रतिशतमा घटाएको छ।

प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वार्षिक ४.५५ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको हो। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले गत आर्थिक वर्षमा विद्युत् चुहावटको औसत दर १५.९० प्रतिशतमा झारेको बताए।

‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा करिब साढे चार प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गर्न सफल भएका हौं,’ उनले भने, ‘प्राधिकरणको चुस्तदुरुस्त प्रणालीकै कारणले विद्युत् चुहावट नियन्त्रण गर्न सम्भव भएको हो।

प्राधिकरणले आर्थिक वर्ष ०७२/७३ देखि लगातार चुहावटको प्रतिशत घटाउँदै आएको छ। प्रवक्ता अधिकारीले चुहावट नियन्त्रण गरेसँगै राज्यको अर्बाैं रकम नोक्सान हुनबाट जोगिएको बताउँछन्। ‘चुहावटले एकातर्फ प्राधिकरण घाटामा गइरहेको हुन्थ्यो। अर्काेतर्फ विद्युत्को कृत्रिम अभाव हुने गथ्र्याे,’ उनले भने, ‘अहिले चुहावट नियन्त्रण भएसँगै प्राधिकरणमा नाफामा जान थालेको छ।’ आर्थिक वर्ष ०७२/७३ सम्म वार्षिक विद्युत् चुहावटको औसत दर २५.७८ प्रतिशत थियो। यसले पनि १८ घन्टासम्म लोडसेडिङ गराउन बल दिएको थियो। नेपाल विद्युत् प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हालेपछि चुहावटको दर उच्च गतिले घटेको छ। प्राधिकरणले गत चार वर्षको अवधिमा ९.८८ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको छ। चुहावटबाट हुने  अर्बाैं नोक्सानी जोगिएको छ। प्रवक्ता अधिकारीले नयाँ नेतृत्वको व्यवस्थापकीय कौशलले चुहावट न्यूनीकरण गर्न सफल भएको बताए। ‘तीन वर्ष अघिसम्म एक चौथाइ विद्युत् चुहिएर सकिन्थ्यो,’ उनले भने, ‘अहिले चुहावट नियन्त्रण भएसँगै राजस्व मात्रै बढेको छैन, लोडसेडिङसमेत अन्त्य गर्न सकेका छौं।’

तीन वर्षअघि देशभरको बिजुली चुहावट दर। जुन पछिल्लो समय द्रुत गतिमा घटेर १६ प्रतिशत हाराहारी आइपुगेको छ।

प्राधिकरणले आर्थिक वर्ष ०७३/७४ देखि चुहावट निरन्तर घटाउँदै आएको छ। ०७३/७४ मा विद्युत् चुहावटको वार्षिक औसत दर २२.९ प्रतिशत थियो। आर्थिक वर्ष ०७४/७५ मा त्यो २०.४५ प्रतिशतमा झ-यो। गत आर्थिक वर्ष ०७५/७६ मा प्राधिकरणले चुहावट १५.९० प्रतिशतमा झारेको छ। प्रवक्ता अधिकारी चुहावट हुने क्षेत्रमा निरन्तर अनुगमन र छड्के जाँचकै कारणले अप्राविधिक चुहावट घटाएको बताउँछन्। ‘केन्द्र र क्षेत्रीय टोलीले दिन रात नभनी अनुगमन गरेकाले केही कमी भएको हो,’ उनले भने, ‘अप्राविधिक चुहावट नियन्त्रण गर्न सकिन्छ तर, प्राविधिक चुहावट जिरोमा झार्न सकिँदैन।’ 

प्राधिकरणका अनुसार गर्मी याममा तराईका जिल्लामा पंखा चलाउन बिजुली चोर्ने गरिन्छ। प्राधिकरणका अनुसार हाल धनुषा, महोत्तरी, सर्लाही, बारा लगायत जिल्लामा अत्यधिक चुहावट छ। ‘अहिले चुहावट हुने जिल्लामा विशेष निगरानी गर्दै आइरहेका छौं,’ उनले भने, ‘कडा निगरानीकै कारण चुहावटमा कमी आएको छ।’

प्राधिकरणका अनुसार चुहावट दुईथरीका हुन्छन्। पहिलो प्राविधिक र अर्काे अप्राविधिक चुहावट। अप्रावधिक चुहावट मानवीय गतिविधिको कारणले हुन्छ। विद्युत् पोलबाट हुुकिङ गरेर, इनर्जी मिटर बाइपास गरेर, सर्भिस तारको इन्सुलेसन काटेर, मिटरको उपकरण बिगारेर बिजुली चोरिन्छ। त्यस्तै, तारको गुणस्तर, प्रसारण तथा वितरण लाइनको दुरी, तारको मोटाइ, गुणस्तर लगायत कारणले प्राविधिक चुहावट हुने गर्छ। ‘अप्राविधिक चुहावटलाई शून्यमा झार्न सकिन्छ, प्राविधिकलाई सकिँदैन। प्राविधिक चुहावट त कम गर्नमात्रै सकिन्छ,’ प्रवक्ता अधिकारीले भने।  

भक्तपुरमा पनि चुहावट घट्यो
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै विद्युत् चुहावट हुने जिल्लामा पर्छ– भक्तपुर। भक्तपुर वितरण केन्दका प्रमुख प्रज्वलमान श्रेष्ठ अघिल्लो आर्थिक वर्षको तुलनामा चुहावट दर ५.८४ प्रतिशत बिन्दुले घटेको बताउँछन्। ‘गत आर्थिक वर्षमा विद्युत् टेम्परिङ गर्ने चार सय ९८ जनालाई कारवाही गर्न सफल भयौं,’ उनले भने, ‘केन्द्रको नियमित अनुगमन र कडाइको कारण चुहावट धेरै हदसम्म घटाएका हौं।’ उनका अनुसार चार सय ९८ जनालाई कारवाही गरेर वितरण केन्द्रले एक करोड ६१ लाख सात हजारभन्दा बढी राजस्व संकलन गरेको छ। वितरण केन्द्रले समयमै विद्युत् महसुल नतिर्ने ६३ ग्राहकलाई कालोसूचीमा राखेर १५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

प्रमुख श्रेष्ठले वितरण केन्द्रको अथक प्रयासले केही हदसम्म भए पनि चुहावट नियन्त्रण भएको दाबी गरे। ‘नगरकोट क्षेत्रमा अझै पनि हुकिङ गरेर बिजुली चोरी गर्ने प्रवृत्ति अन्त्य भएको छैन,’ उनले भने, ‘प्राधिकरण र प्रहरीको दुईवटा टोली बनाएर निरन्तर अनुगमन गरिरहेका छौं।’ आर्थिक वर्ष ०७३/७४ मा भक्तपुर जिल्लामा चुहावट २९.४ प्रतिशत हुन्थ्यो। उक्त चुहावट आर्थिक वर्ष ०७४/७५ मा १८.९ प्रतिशतमा झरेको थियो। गत आर्थिक वर्ष ०७५/७६ मा चुहावट दर १३.०६ प्रतिशतमा झरेको छ।

प्रकाशित: २१ श्रावण २०७६ ०३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App