१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

राहतमै ६२ करोड रूपैयाँ खर्च

काठमाडौं – रोजगारीका लागि बिदेसिने युवाको मृत्यु संख्या घटाउन सरकारले अनेक प्रयास गर्दा पनि सफलता हात लाग्न सकेको छैन।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन भइरहेका प्रयास असफल हुँदा आर्थिक वर्ष २०७५/७६ मा सात सय ५३ युवाको विभिन्न गन्तव्य मुलुकमा मृत्यु भयो। वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार वैदेशिक रोजगारीमा रहेकामध्ये त्यसवर्ष ज्यान गुमाउनेको महिलोका संख्या २३ छ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका आफन्तलाई बोर्डले प्रतिव्यक्ति सात लाख रुपैयाँ राहत दिने निर्णय गरेका कारण ४८ करोड ४९ लाख रुपैयाँ राहत वितरण गरेको जनाएको छ।

बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारमध्ये कोरिया जानेसँग प्रतिव्यक्ति दुई हजार पाँच सय र अन्य मुलुक जानेसँग प्रतिव्यक्ति एक हजार पाँच सय रुपैयाँ कल्याणकारी कोषका लागि उठाउने गर्छ। विदेशमा मृत्यु भएका तथा अंगभंग र बिरामी हुनेलाई सोही कोषबाट राहत दिने व्यवस्था छ।

बोर्डले आर्थिक वर्ष २०७५/७६ मा विदेशबाट काठमाडौंसम्म शव ल्याउन ७८ लाख ५८ हजार  रुपैयाँ खर्च भएको जनाएको छ। विदेशबाट काठमाडौंसम्म शव ल्याउँदा हुने खर्चको तुलनामा काठमाडौंबाट सम्बन्धित जिल्लामा शव पु-याउँदा हुने खर्च निकै बढी छ।

बोर्डका अनुसार गत आर्थिक वर्ष विदेशमा मृत्यु भएका व्यक्तिका शव घरसम्म पु-याउँदा एक करोड ५७ लाख ६० हजार रुपैयाँ खर्च भएको छ। बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले पहाडी जिल्लामा एउटा शव पु-याउँदा ६५ हजार रुपैयाँसम्म हुने गरेको बताए। ‘वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिको शव घरसम्म पु-याउँदाको खर्च बढ्दा निकै चिन्तित छौं,’ उनले भने, ‘आगामी वर्ष शव ढुवानीका लागि बोर्डले आफ्नै गाडी खरिद गर्ने कि भन्ने सोच पनि बनाएका छौं।’ हाल बोर्डले शव ढुवानीका लागि सवारी साधन भाडामा लिने गरेको छ।

त्यस्तै बोर्डले वैदेशिक रोजगारीको क्रममा घाइते, अंगभंग तथा बिरामी भएका श्रमिकलाई नौ करोड १४ लाख रुपैयाँ वितरण गरेको जनाएको छ। आर्थिक वर्ष  २०७५/७६ मा बोर्डले वैदेशिक रोजगारीको क्रममा निधन भएकासहित घाइते, अंगभंग, बिरामीको उपचार, शव ढुवानी तथा वैदेशिक रोजगार छात्रवृत्ति लगायतमा ६२ करोड ३६ लाख ५४ हजार रुपैयाँ खर्च गरेको श्रेष्ठले जानकारी दिए।

वैदेशिक रोजगारीमा जाने युवासँग एक वर्षमा बोर्डले करिब ७५ करोड रुपैयाँ संकलन गरेको देखिन्छ। त्यो वर्ष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या पाँच लाख आठ हजार आठ सय २८ थियो। तीमध्ये पहिलोचोटी वैदेशिक रोजगारीमा जानेको संख्या दुई लाख ३६ हजार दुई सय ११ रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। कल्याणकारी कोषमा भने वैदेशिक रोजगारीमा जाने हरेकले रकम जम्मा गर्नुपर्छ। कोषमा रकम जम्मा नगरी वैदेशिक रोजगारीमा जानेले बोर्डले दिने सुविधा पाउँदैनन्।

आर्थिक वर्ष २०७५/७६ मा सबभन्दा बढी युवा रोजगारीका लागि कतार गए। कतार जानेको संख्या एक लाख ६१ हजार दुई सय १५ रहेको विभागले जनायो। विगतका वर्ष रोजगारीका लागि पहिलो गन्तव्य मलेसिया हुने गथ्र्यो। गत वर्षको जेठ २ गतेदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया रोजगारी रोकेकाले यो वर्ष पहिलो गन्तव्य कतार बनेको व्यवसायी बताउँछन्। त्यसवर्ष कतारपछि श्रम स्वीकृति लिएर संयुक्त अरब इमिरेट्स एक लाख १९ हजार आठ सय ५५ र साउदी अरबमा एक लाख १७ हजार नौ सय चार युवा रोजगारीका लागि पुगे।

वैदेशिक रोजगारीमा मृत्यु हुनेलाई बोर्डलेबाहेक बिमा कम्पनीहरूले उमेर अनुसार १० देखि १४ लाख रुपैयाँ पाउँछन्। वैदेशिक रोजगारीमा जाने हरेकले अनिवार्य म्यादी जीवन विमा गर्नुपर्ने नियम छ। वैदेशिक रोजगारीको क्रममा निधन भएका तथा अंगभंग हुनेलाई बिमा समेतले दिने क्षतिपूर्ति रकम जोड्ने हो भने साढे एक अर्ब रुपैयाँ भन्दा बढी हुन जाने बोर्डका कर्मचारी बताउँछन्।

वैदेशिक रोजगारीमा जाने युवासँग संकलन गरिएको र त्यसमध्ये राहत वितरण गर्दा बँच्दै आएको रकम  गरी हाल बोर्डको कोषमा करिब पाँच अर्ब रुपैयाँ जम्मा भएको छ। विगतका वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये न्यून संख्याको मृत्यु हुँदा बोर्डले वितरण गर्ने राहत कम हुने गथ्र्यो। पछिल्ला वर्ष राहत वितरण गर्नुपर्ने रकम बढ्दै गएपछि दुई वर्षअघि बोर्डले कामदारसँग लिने रकम वृद्धि गरेको थियो। त्यसअघि जुनसुकै देशमा जाने कामदारले बोर्डका कल्याणकारी कोषमा प्रतिव्यक्ति एक हजार रुपैयाँ जम्मा गर्नुपथ्र्यो।

प्रकाशित: १० श्रावण २०७६ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App