१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी खुले, सरकारी बन्दको बन्दै

तस्बिर: भीम/नागरिक

इलाम - न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयनको सहमतिपछि निजी चिया उद्योग–बगान चालू भए पनि इलामका दुई सरकारी बगान भने खुल्न सकेका छैनन्। व्यवस्थापन पक्षले इलामका चिया बगानमा आफूलाई ‘घाटा’ भएको भन्दै न्यूनतम् ज्याला र ऐन कार्यान्वयन अल्झाएपछि बगान–उद्योग खुल्न नसकेका हुन्।

झापाका निजी उद्योग–बगान व्यवस्थापन पक्ष र आन्दोलनरत चिया श्रमिकबीच सोमबार सहमति जुटेको थियो। सहमतिपछि मंगलबारदेखि उद्योग–बगान खुलेका छन्। श्रमिक काममा फर्केका छन्। तर, जिल्लाकै ठूलो कन्याम बगान र नेपालमै पहिलोपटक चिया खेती सुरु भएको इलाम चिया बगान चाहिँ मंगलबार पनि खुल्न सकेनन्।

बगान व्यवस्थापन पक्षसँग यहाँका चिया बगानबारे अहिलेसम्म कुराकानी हुन नसकेको श्रमिक नेता रमेश खड्काले बताए। ‘झापातिरका सबै बगान खुलिसके, कन्याम र इलामबारे छलफल हुन पाएको छैन,’ उनले भने, ‘यी बगानका श्रमिक अहिलेसम्म आन्दोलनमै छन्।’ इलामका इलाम, कन्याम, सोक्तिम, चिलिमकोट तथा झापाका बर्ने, बारादसी र टोकला चिया बगान सरकारी स्वामित्वका हुन्। सातै बगान सरकारले २०५७ सालमा त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा दिएर लिजमा दिएको छ।

सांघाई समूहले श्रमिकका मागमा सहमति जनाएपछि झापाका तीनै बगान आइतबार खुलेका छन्। तर, सांघाई नै व्यवस्थापक रहेका इलामका २ बगान र उद्योग चाहिँ ‘घाटा’को बहानामा अझै बन्द छन्। श्रमिक नेता विष्णु भट्टराईले झापा र इलाम भनेर श्रमिकलाई एउटै काममा विभेद गरिएको बताए। ‘एकै व्यवस्थापक रहेका बगानका श्रमिकलाई अलग–अलग व्यवहार गर्नु विभेद हो,’ उनले भने, ‘कतै सहमति गर्ने कतै वास्तै नगर्ने व्यवहार सह्य हुँदैन।’

इलामकै माई नगरपालिकामा रहेको सोक्तिम बगान पनि मंगलबार खुलेको छ। चिलिमकोटमा पनि बुधबारदेखि आफूहरूले काम चालू राख्ने स्वतन्त्र चिया मजदुर युनियनका इकाई अध्यक्ष बालगोविन्द मुण्डाले बताए। ‘झापाका बगान र उद्योगमा पठाएको चिठी (ज्याला कार्यान्वयनको प्रतिबद्धता) हामीलाई पनि आएकाले भोलिदेखि काम चालू हुन्छ,’ उनले मंगलबार साँझ नागरिकसँग भने, ‘हामीले खोजेको न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन हो, दुवै माग पूरा गर्ने आशयको पत्र आएपछि हामी आन्दोलन छाडेर काममा फर्किने भएका छौं।’  

सूर्याेदय नगरपालिकामा रहेका पाँच दर्जनभन्दा बढी चिया उद्योग दुई साताअघि नै खुलेका थिए। श्रमिक आन्दोलनका कारण बन्द भएका उद्योग श्रमिकसँगको सहमतिपछि खुलेका हुन्। सूर्याेदय टी एसोसिएसन र सूर्याेदय नगरपालिकाको पहलमा निजी उद्योग खुलेपनि त्यही नगरपालिकामा रहेको कन्याम बगान र उद्योग खुल्न नसकेको हो।

व्यवस्थापक सांघाई समूहले कन्याम र इलामका बगानमा आफूलाई घाटा भएको बताउँदै आएको छ। ‘सरकारले तोकेको ज्याला, उसले जारी गरेका कानुन पालना गर्ने हाम्रो दायित्व त हो तर कन्याम र इलामको हकमा दुवै कार्यान्वयन गर्न समस्या छ,’ समूहका सुवास सांघाईले भने, ‘झापाको हकमा ज्याला कार्यान्वयन भएको छ, इलामका दुई बगानबारे फेरि श्रमिकसँग छलफल हुन्छ।’ सांघाईले चिया उद्योगमा काम गर्ने श्रमिकका लागि सरकारले तोकेको ज्याला उपयुक्त नै भएपनि बगानका श्रमिकलाई तोकिएको ज्याला दिन नसकिने बताउने गरेका छन्।

श्रमिकले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन माग गर्दै गत चैत १७ यता आन्दोलन गरेका थिए। आफू कार्यरत उद्योग र बगान बन्द गरेर दिनहुँ आन्दोलन गरिरहेका श्रमिकसँग करिब डेढ महिनापछि सहमति भएपनि इलामका दुई बगान र उद्योगबारे आउँदो बिहीबार छलफल हुने आशा श्रमिकले गरेका छन्।

सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला तीन सय ८५ रुपैयाँ तोकेको छ। चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला चार सय २७ रुपैयाँ छ। तर, दुवैखाले श्रमिक झापामा दैनिक दुई सय ७८ र इलाममा दुई सय ६५ रुपैयाँमा काम गर्न बाध्य भएपछि उनीहरूले आन्दोलन चर्काएका थिए।

श्रम ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, बिदा सुविधा, औषधोपचारलगायतको व्यवस्था छ। एक वर्ष काम गरेका श्रमिकले मासिक रूपमा पाउने आधारभूत पारिश्रमिकको कम्तीमा आधा दिनको पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष वार्षिक तलब वृद्धि पाउने ऐनमा उल्लेख छ। आफ्नो धर्म–संस्कृति तथा परम्पराअनुसार चाडपर्व मनाउन श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ। नियमावलीले सञ्चय कोष, उपदान, बिदा सुविधा, नियुक्तिपत्र, स्थायी, करारलगायतको व्यवस्था छ।

इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन्। देशभर एक सय आठ ठूला चिया उद्योग र बगान रहेको नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागले जनाएको छ। तथ्यांकअनुसार देशभर ३० लाख ९५ हजार दुई सय ८४ ले चिया क्षेत्रमा रोजगारी पाएका छन्। तीमध्ये तीन हजार दुई सय ४४ स्थायी श्रमिक छन् भने बाँकी अस्थायी रूपमा काम गरिरहेका छन्। नेपालमा एक सय आठ ठूला चिया उद्योग रहेको तथ्यांक छ।

नेपालमै पहिलोपटक चिया खेती गरिएको इलाम चियाबारीछेउमा रहेको नेपालकै पुरानो चिया उद्योग। आन्दोलनरत चिया श्रमिकसँग निजी उद्योगले न्यूनतम् ज्याला दिने सहमति गरे पनि इलाम र कन्याम चिया बगानका श्रमिकको माग पूरा नहुँदा उनीहरू आन्दोलनमै छन्।

प्रकाशित: १ जेष्ठ २०७६ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App