७ वैशाख २०८१ शुक्रबार
अर्थ

बढ्दै छ नेपालीकाे खर्च गर्ने क्षमता

काठमाडौं – चालु आर्थिक वर्षमा नेपालीको क्रयशक्ति बढेर एक लाख ५४ हजार नौ सय २४ रुपैयाँ पुग्ने देखिएको छ। गएको आवको तुलनामा यस आवमा प्रतिव्यक्ति खर्चयोग्य आय (जीएनडीआई) २० हजार दुई सय ८३ रुपैयाँले बढेको छ। गएको आवमा प्रचलित मूल्यमा प्रतिव्यक्ति खर्चयोग्य आय एक लाख ३४ हजार ६ सय ४१ मात्रै थियो।

विगत ५ वर्षको यो अवधिमा भने नेपालीको खर्च गर्न सक्ने क्षमता ५२ हजार एक सय  रुपैयाँले बढेको छ। आर्थिक वर्ष ०७१/७२ मा एक जना नेपालीले वार्षिक औसतमा एक लाख दुई हजार आठ सय २३ रुपैयाँमा मात्र खर्च गर्न सक्थे।  चालु आव ०७५/७६ मा यो आय बढेर एक लाख ५४ हजार नौ सय २४ पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।
चाल आवको कुल राष्ट्रिय खर्चयोग्य आयअनुसार गणना गरेको प्रतिव्यक्ति आयले यस्तो देखाएको हो। गएको आवको तुलनामा यस आवमा जीएनडीआई १५ प्रतिशतभन्दा बढीले बढेको छ।

प्रतिव्यक्ति क्रययोग्य आय बढेसँगै कुल खर्चयोग्य आय पनि वृद्धि भएको छ। नेपालीको यस्तो आय बढेर ४५ खर्ब ६९ अर्ब ४५ करोड पुग्ने अनुमान गरिएको छ। सो आय गएको आवको भन्दा  ६ खर्ब ५१ अर्ब १३ करोडले बढेको छ।

देशमा स्थायी सरकारले आफ्ना योजनासहित कार्यक्रम कार्यान्वयनमा लगेपछि नेपाली प्रतिव्यक्ति आय बढ्न गई खर्च गर्न सक्ने क्षमतामा समेत बढोत्तरी भएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए। ‘रेमिट्यान्समा भएको वृद्धि, बर्सेनि बढ्दै गएको बजेट आकार, उद्योग तथा सेवा क्षेत्रको उत्पादनमा भएको प्रगतिले कुल खर्चयोग्य आयमा वृद्धि भएको हो,’ उनले भने।

डलरसँग नेपाली रुपैयाँको अवमूल्यनका कारणले पनि नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आयमा वृद्धि भएको देखिएको हो। खर्चयोग्य आयमा वृद्धि भए पनि अघिल्ला वर्षमा मूल्यवृद्धिका कारण नेपालीको जीवनस्तरमा अपेक्षित सुधार हुन भने सकेको देखिँदैन। सरकारी तथ्यांकमा उपभोक्ता मूल्यवृद्धि घटे पनि बजारमा यसको असर देखिँदैन।

सो अवधिमा नेपालको जीएनडीआई भन्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उच्च भए पनि नेपालीको खर्चयोग्य आय (क्रयशक्ति) औसतमा सोही अनुपातमा बढ्न सकेको छैन। समीक्षा अवधिमा नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आय औसतमा वार्षिक १०.२६ प्रतिशत दरले बढेको छ।

पछिल्लो दशकमा नेपालको जनसंख्या वृद्धिदरमा आएको कमीअनुुसार नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आय जति बढ्नुपर्ने हो सोहीअनुसार भने बढ्न सकेको देखिँदैन। राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या वृद्धिदर चार दशकयताकै कम १.३५ प्रतिशत मात्र छ। त्यसअघिको जनगणनामा यस्तो वृद्धिदर २.२४ प्रतिशत थियो।

खर्चयोग्य आयमा भएको वृद्धिसँगै नेपालीको कुल बचतयोग्य आयमा समेत परिवर्तन आएको छ। यस आवमा नेपालको कुल बचत १८ खर्ब १४ अर्ब ४६ करोड पुग्ने देखिएको छ। गएको आवमा यस्तो बचत १४ अर्ब २७ अर्ब २० करोड मात्र थियो। सो बचतमध्ये आन्तरिक बचत भने यस वर्ष सात खर्ब नौ अर्ब ३२ करोड छ। सो बचत गएको आवभन्दा एक खर्ब ६९ अर्ब ४१ करोडले बढी हो।

प्रकाशित: १८ वैशाख २०७६ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App