७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

रहेनन् संगीतकार बिजु

काठमाडौं– संगीतकार, संगीत संयोजक, रेकर्डिस्ट र गीतकार बिजु बज्रको ४८ वर्षको उमेरमा आइतबार दिउँसो हृदयघातका कारण निधन भएको छ। पाँच वर्ष अघि दुईपटक हृदयघात भएपछि उपचार गरेर स्वस्थ भएका संगीतकार बिजुको पुनः हृदयघातकै कारण आइतबार राजधानीको मीनभवनस्थित सिभिल हस्पिटलमा उपचाररत अवस्थामा निधन भएको हो।

चालीसको दशकमा गुल्मीको वामी टक्सारबाट नेपाली कांग्रेसको राजनीतिक कलाकार भई संगीतमा प्रवेश गरेका बिजुले पचासको दशकमा उत्तम नेपाली, शशीविक्रम शाह, सुदर्शन राणालगायतका गीतमा संगीत भरेका थिए। उनको संगीतमा पुराना पुस्ताका गायकहरू फत्तेमान राजभण्डारी, योगेश वैद्य, कुमार बस्नेतले गीत रेकर्ड गराइसकेका छन्।

गायक फत्तेमानको गीत ‘झरी परिरह्यो मनमा थामिदैन आँसु’, कर्ण दासको ‘बिस्तारै छायो आँखामा अँध्यारो’, सुगम पोखरेलको ‘तिमी मभन्दा कोसौं टाढा छौ’, रेश्मा सुनुवारको ‘मै ठुली भैछु रे’, आगन्तुक खरेलको ‘कुन रंगको कमी थियो र’, प्रीति कुरको ‘परेवाको जोडी उडेको देख्दा’लगायतका गीतमा बिजुकै संगीत थियो।

गायक सुगम पोखरेल बिजुलाई सरल संगीतकारका रूपमा चित्रण गर्छन्। ‘उहाँ सरल र लोक फ्लेभरको संगीत रचना गर्न रुचाउनुहुन्थ्यो। म आफै रक पृष्ठभूमिबाट आएको गायक भएकाले पनि अलिक फरक संगीतको गीत गाउन चाहन्थें’, सुगमले सम्झिए, ‘त्यही बेला उहाँले ‘तिमी म भन्दा कोशौ टाढा छौं’को संगीत तयार गर्नुभयो। जुन मेरो लागि फरक किसिमको संगीत थियो। उहाँले संगीत भर्नुभएको ‘विस्तारै छायौ आँखामा’, ‘मै ठुली भइछु रे’ गीतको संगीत पनि लोक संगीतबाटै प्रभावित छ।’ सुगमका अनुसार बिजुसँग उनले भण्डै ७ वटा गीतमा सहकार्य गरे पनि ‘तिमी म भन्दा’गीतले चर्चा पायो।

सुगमले पछिल्लोपटक बिजुसँग फिल्म ‘यात्रा’को गीत रेकर्ड गर्दाताका भेटेका रहेछन्। उनका छोरा कोविदले संगीत गरिरहँदा स्टुडियोमा बिजु र श्रीमति कोपिलासँग भेट भएको रहेछ। ‘त्यो भेटमा उहाँसँग सामान्य गफगाफ मात्र भएको थियो । त्यसपछि भेट भएको थिएन’, सुगमले भने।

संगीतकार लक्ष्मण शेषका अनुसार संगीतकार बज्रलाई आइतबार बिहान ६ बजे हृदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो। ‘हृदयघात पछि अस्पताल भर्ना गरिए पनि उहाँलाई बचाउन सकिएन’, उनले भने, ‘हामीले उहाँको शवलाई साँझ ५ः३० मा फ्रिजमा राखेका छौं।’ शेषले सोमबार बिहान पशुपतिस्थित विद्युत शवदाह गृहमा अन्तिम श्रद्धाञ्जली दिई दाहसंस्कार गरिने बताए।

२०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका बिजुकी श्रीमति कोपिला पनि कुनै समय पार्टीकै गायिका थिइन्। उनका जेठा छोरा कोविद बज्र पनि संगीतमै छन्। बिजुको एक श्रीमति, दुई छोरा कोविद र बिक्कु तथा एक छोरी रेविका छन्। उनको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

प्रकाशित: १६ वैशाख २०७६ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App