७ वैशाख २०८१ शुक्रबार
अर्थ

टानमा मजदुरको नामबाट व्यवसायीको तालाबन्दी

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) ले सोमबार पदयात्राको क्रममा मृत्यु भएका पर्यटन मजदुरका परिवारलाई रकम हस्तान्तरण गर्दै गर्दा टानमा ताला लागेको छ। पर्यटन बोर्डमा १२ जना मृतकका परिवारलाई पाँच लाखका दरले रकम हस्तान्तरण गर्दै गर्दा उता मजदुरको नाममा पर्यटन व्यवसायीले नै टानमा ताला लगाएका हुन्।

विभिन्न राजनीतिक दलका पर्यटन मदजुरहरुको संस्थाले राखेको माग पूरा नभएपछि  युनिट्राभको नेतृत्वमा टानमा ताला लगाइएको हो। टानका अध्यक्ष नवराज दाहालले पर्यटन बोर्डमा कार्यक्रम भइरहँदा मजदुरको भेषमा आएका व्यवसायीले टानमा ताल लगाएको बताए। व्यक्तिगत बार्गेनिङका लागि ताला लगाइएको उनको भनाइ छ। उनीहरुको माग मजदुरको हितमा भन्दा आफ्नै स्वार्थका लागि रहेको दाहालको दाबी छ।

‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) बाट संकलित रकमबाट मजदुर कल्याणकारी कोषमा १० प्रतिशत जम्मा हुन्छ। यो पैसा नेपाल पर्यटन बोर्डसँग हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘उनीहरुको माग मजदुरको सेवा सुविधा र हक हितमा हो भने पर्यटन बोर्डमा ताला लगाउने हिम्मत हुनुपर्यो। टानमा लगाएर के फाइदा ?’ टानले गरेको अभियानले नै ३३ मृतक मजदुरका परिवारले राहत पाएको पनि उनले बताए। ‘अब किन टानमा ताल लगाउने ?’ अध्यक्ष दाहालले प्रश्न गरे।  

मजदुर युनियनका प्रतिनिधिलाई पर्यटन बोर्डको कार्यक्रममा बोलाउँदा टानमा ताला लगाएको दाहालको भनाइ छ। युनियनहरुले श्रम विभाग, पर्यटन विभाग र पर्यटन बोर्ड लगाउनुपर्ने ताला टानमा लगाएर  मजदुरको हित नहुने दाहालको भनाइ छ। ‘मजदुर भएर एनएमएका सचिवालय सदस्य समेत रहेका कपिल पाण्डेले टानमा ताल लगाउनु कस्तो स्वार्थ हो। दसैं, तिहार बाली उठाए जस्तो बार्गेनिङ भइरहेको छ,’ उनले नागरिकसँग भने, ‘टान आफैं पर्यटन बोर्डसँग मजदुरको सेवा, सुविधा र टिम्सको रकम प्राप्तिको लागि लडिरहेको छ। समन्वय गरौं, सहकार्य गरौं भन्दा टानमा ताला लगाउने कस्तो विकल्प हो।’

उनका अनुसार सोमबार नै टानले आन्दोलनरत पक्षसँग ताला खुलाउने विषयमा छलफल गर्न पत्र काटेको छ। ताला नखोले मंगलबार आफैं खोल्ने दाहालको भनाइ छ। टानमा ताला लगाउनेमा नेपाल पर्यटन श्रमिक संघ र अखिल नेपाल पर्यटन मजदुर संघ पनि छन्। गत साउनमा तलब, भत्ता, बिमा, चाडपर्व भत्ता लगायत विषयमा पर्यटन मजदुरले टानसमक्ष सात सूत्रीय मागपत्र बुझाएका थिए। तीन महिना बितिसक्दासमेत समस्याको समाधान नभएपछि टानमा ताला लगाएको उनीहरुको भनाइ छ।

पथप्रदर्शकको ज्याला वृद्धि, सामाजिक सुरक्षा ऐन, श्रम ऐन, श्रमिक दुर्घटना बिमा, औषधि उपचार बिमा र श्रमिकको हकहितको नाममा टिम्सबाट उठाएको रकम सार्वजनिक गर्नुपर्ने, कल्याणकारी कोषको स्थापना गर्नुपर्ने, चाडपर्व खर्चको साथै विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग मजदुरको छ। यिनै माग पूरा गराउन तालाबन्दी गर्नुपरेको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले बताए।

मृतक मजदुरका परिवारलाई जनही पाँच लाख
टिम्सबाट संकल भएको मजदुर कल्याणकारी कोषबाट १२ जना मृतक पर्यटन मजदुरका परिवारलाई जनही पाँच लाख रुपैयाँका दरले हस्तान्तरण गरिएको छ। नेपाल पर्यटन बोर्ड र टानले सोमबार नेपाल पर्यटन बोर्डमा उक्त रकम हस्तान्तरण गरेको टानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पर्वतीय क्षेत्रमा ज्यान गुमाउने भिमबहादुर गुरुङ, नेत्रबहादुर छन्त्याल, डाकबहादुर आलेमगर, फुर्पु भोटे, जीवन लिम्बु, खेमबहादुर श्रेष्ठ, छिरिङ भोटे, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बाकुइस्याङ शेर्पा, डेनाआङ्जुक भोटे र पेमदोर्जे शेर्पाको परिवारलाई जनही पाँच लाखको दरले रकम हस्तान्तरण गरिएको हो।

टानले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन गरेबापत संकलन हुने रकमको १० प्रतिशत हिस्सा मजदुर कल्याणकारी कोषमा जम्मा हुन्छ। सोही रकमबाट राहत दिइएको हो।

टानले पहिलो चरणमा गत असार १ गते ३३ जना पर्वतीय पर्यटन मजदुरहरुको आश्रित परिवारलाई रकम हस्तान्तरण गरेको थियो। सोमबार दोस्रो चरणमा १२ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको हो।

प्रकाशित: ११ मंसिर २०७५ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App