काठमाडौं – एयर बाल्टिकको एयर बस ए २२० ले नेपालमा पहिलो पटक डेमो फ्लाइट गरेको छ । चीनबाट विशेष व्यक्ति तथा कम्पनीका पदाधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो चार बजे एयर बस अवतरण गरेको हो।
एयर बाल्टिकले दक्षिण एसियामा आरामदायी तथा सुरक्षित हवाई उडान गर्ने उद्देश्यले नेपालमा पहिलो पटक डेमो फ्लाइट गरेको जानकारी दिएको छ । नयाँ व्यावसायिक एयरक्राफ्टको रुपमा ए २२० लाई अघि सारेको कम्पनीका म्यानेजर नेहा अधिकारीले जानकारी दिइन्।
‘अहिले दक्षिण एसियाका विभिन्न मुलुकमा डेमो फ्लाइट भइरहेको छ । व्यावसायिक उडानका लागि भारतीय कम्पनीले ल्याएको एयर बसको नेपालमा पनि व्यावसायिक सम्भावना छ,’ उनले भनिन्, ‘यसका लागि कम्पनीले प्रक्रिया अघि बढाउने छ । चीनको दुई सहर, नेपाल, थाइल्यान्ड र टर्कीलाई अघि सारेका छौं।’
एक सय ४५ सिटको उक्त एयर बसले सुरुवातमा चीनको जुहाईमा डेमो फ्लाइट गरेको छ । यस्तै चीनकै चेन्डुुमा व्यावसायिक उडानका लागि एयरबस प्रदर्शन गरिएको अधिकारीको भनाइ छ । चीनको दुइटा सहरमा उक्त एयर बसले डेमो फ्लाइट गरेपछि आइतबार नेपालमा उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सोमबार पाँच बजे एयर बस २२० पुनः दिल्ली फर्किएको छ । दिल्लीपछि थाइल्यान्ड उडान गर्ने एयर बाल्टिकले जनाएको छ।
एयर बसले थाइल्यान्डको कोह समुइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने छ । थाइल्यान्डपछि सिधै टर्कीको स्तानबुल अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने कम्पनीका अकाउन्ट म्यानेजर दामिनी विन्ड्राले जानकारी दिइन् । उनले अन्य कम्पनीको एयरबसभन्दा बाल्टिकको नयाँ एयर बसमा नयाँ प्रविधि प्रयोग गरिएको बताइन्।
विमानले स्टेट अफ द आर्ट एरोडायनामिक, एड्भान्स्ड मटेरियल्स अनि प्राट एण्ड वाइट्नीको नयाँ जेनेरेशनको पिडब्लु १५ सय जी भएको इन्जिनका साथ यो विमानले साधाराण विमान भन्दा २० प्रतिशत इन्धनको बचत गर्ने कम्पनीले जनाएको छ । ए २२० विमानले बजारमा एक सय देखि एक सय ५० सिट क्षमताका अन्य जहाजले भन्दा राम्रो बजार गर्ने कम्पनीको दाबी छ।
नेपालमा यसअघि पनि विभिन्न कम्पनीका एयरबसले डेमो फ्लाइट गर्दै आइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । व्यवसायिक उडानको लागि प्रक्रिया भने अघि बढि नसकेको जनाएको छ।
प्रकाशित: २७ कार्तिक २०७५ ०५:२२ मंगलबार